अर्थ

एकै दिन पौने पाँच अर्ब तरलता घट्यो

बुधबार एकै दिन पौने पाँच अर्ब रूपैयाँले बैंकिङ प्रणालीमा रहेको तरलता (लगानीयोग्य रकम) घटेको छ। मंगलबार बैंकहरूमा ५८ अर्ब ५९ करोड रूपैयाँ तरलता रहेकामा बुधबार चार अर्ब ७३ करोड रूपैयाँले घटेर बुधबार ५३ अर्ब ८६ करोड रूपैयाँ कायम भएको हो।  

एकै दिन करिब पाँच अर्ब रूपैयाँले तरलता घटेपछि बैंकिङ क्षेत्रमा एक किसिमको तरंग नै सिर्जना भयो। केही समयअघिसम्म पूरै साताभरिमा पौने पाँच अर्ब लगानी गर्न हम्मेहम्मे पर्ने बैंकहरूले एकै दिन सहजै उक्त रकम लगानी गर्न थालेपछि बैंकिङ च्यालनमा तरलता अभावको संकेत गरेको अनुमान गर्न थालिएको छ।  

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल पछिल्लो समयमा दैनिकजसो नै बैैंकहरूले लगानी वृद्धि गरिरहेको बताउँछन्। ‘बुधबार मात्र नभई केही दिनदेखि नै बैंकहरूले कर्जा लगानी वृद्धि गरिरहेका छन्,’ उनले भने, ‘अहिले वृद्धि भइरहेको लगानीको स्थिरताका लागि भने अझै एक–दुई साता हेर्नुपर्ने हुन्छ।’ उनले कोरोना भाइरसले पुनः महामारीको रूप लिएबाहेक नत्र अहिलेको कर्जा लगानीलाई हेर्दा वृद्धि हुने सम्भावना रहेको बताए।  

केही महिनाअघिसम्म बैंकिङ च्यालनमा दुई सय अर्ब रूपैयाँसम्म तरलता थुप्रिएको थियो। तरलताको व्यवस्थापन हुन नसक्दा बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई दिने निक्षेपको ब्याजदर निकै घटाएका छन्। त्यति मात्र नभई घर, सवारी जस्ता कर्जा लिने ग्राहकले पनि एकल अंकमा ब्याज तिरेर कर्जा पाइरहेका छन्।  

कर्जाको ब्याज सस्तो भइरहेको बेला पुनः तरलता घट्न थालेपछि कतिपय बैंकले निक्षेपमा दिने ब्याज बढाएका छन्। जसले गर्दा तरलता अभाव हुने हो कि भन्ने संकेत देखिएको अनुमान गरिएको हो। केही दिनअघि निक्षेपको ब्याजदर बढाएको नबिल बैंकका डिजिएम मनोज ज्ञवाली भने अहिले नै तरलता अभाव हुने कुनै सम्भावना नरहेको बताउँछन्। ‘बजारमा अझै तरलता फालाफाल छ,’ उनले भने, ‘त्यसैले अझै केही समयसम्म तरलता अभाव हुँदैन।’  

उनले नबिलले निक्षेपको ब्याज वृद्धि गर्नुको कारण बेस रेटसँग मिलाउनुपर्ने बाध्यता रहेको बताउँछन्।’ नबिलले तीन महिनाभन्दा बढीको मुद्दती निक्षेपको ब्याजदर ७.५१ प्रतिशत दिन थालेको छ। नबिलले गत महिनासम्म यस्तो निक्षेपमा ६.५० प्रतिशत ब्याज दिँदै आएको थियो। एनआइसी एसिया, ग्लोबल आइएमई, मेगा, सिभिल, सिटिजन्स बैंक लगायतले पनि मुद्दतीमा ब्याजदर बढाएका छन्।  

नेपाल बैंकर्स संघका अनुसार पछिल्लो समयमा निक्षेप संकलनको तुलनामा लगानी ह्वात्तै बढेको छ। पछिल्लो एक सातामा २७ वाणिज्य बैंकहरूले २३ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्। जबकि सोही अवधिका सबै वाणिज्य बैंकहरू १४ अर्ब रूपैयाँ मात्र निक्षेप संकलन गर्न सके। संघका अनुसार फागुन २८ देखि चैत ६ सम्म १४ अर्ब रूपैयाँ थपिँदा निक्षेप ३८ खर्ब ४० अर्ब रूपैयाँ पुगेको छ। 

त्यस्तै पछिल्लो एक सातामा २३ अर्ब रूपैयाँले कर्जा प्रवाह थपिएपछि बैंकहरूको लगानी ३४ खर्ब ३५ अर्ब रूपैयाँ पुगेको छ। माघ २ देखि चैत ६ गतेसम्म २७ वाणिज्य बैंकहरूमा ६१ अर्ब रूपैयाँ निक्षेप थपिएको छ। सोही अवधिमा एक खर्ब ९९ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको छ। यतिखेर वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने ब्याजदर मुद्दति र बचतमा एकदेखि साढे आठ प्रतिशतसम्म छ।  कतिपय विज्ञ चालु आर्थिक वर्षमा सरकारको पुँजीगत खर्च निकै कम रहेकाले आउँदो वैशाखदेखि नै तरलता अभाव हुन सक्ने तर्क गर्छन्। 

नबिलका डिजिएम ज्ञवाली भने यतिखेर सिसिडी अनुपात जम्मा ७७ प्रतिशत पुगेकाले तरलता अभाव हुने सम्भावना नभएको दावी गर्छन्। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सिसिडी अनुपात ८० बाट वृद्धि गरी ८५ प्रतिशत पुर्‍याएको छ। वैशाखसम्म तरलता नभए चालु आर्थिक वर्षमा तरलता अभाव नहुने बैंकरहरूको भनाइ छ। नेपालमा आर्थिक वर्षको अन्त्यतिर अर्थात जेठ–असारमा पुँजीगत खर्च हुने चलन छ।

विगतका वर्षमा भने मंसिरपछि नै तरलता अभाव हुने गथ्र्यो। अधिक तरलता अभाव भएपछि बैंकहरूले मुद्दतिमा १२–१३ प्रतिशत ब्याजदर दिएर निक्षेप खोसाखोस गर्थे। २०७५ मंसिरमा त बैंकहरूले व्यक्तिगत मुद्दतीको ब्याजदर १३ प्रतिशतसम्म पुर्‍याएका थिए।

प्रकाशित: १२ चैत्र २०७७ ०३:४६ बिहीबार

बैंकिङ प्रणालीमा एकै दिन पौने पाँच अर्ब तरलता घट्यो