अर्थ

मनाङ मर्स्याङदीमा पिपिए

वैदेशिक लगानीमा निर्माण हुन लागेको १३५ मेगावाटको मनाङ मर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) नेपाली रूपैयाँमा गरिएको छ। यसअघि वैदेशिक लगानीमा निर्माण हुने आयोजनाको पिपिए सम्झौता डलरमा गर्ने गरिन्थ्यो। मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको पिपिए सम्झौता नेपाली रूपैयाँमै गरिएको हो। बुटबल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यबीच सोमबार आयोजनाबाट उत्पादन हुने बिजुलीको पिपिए सम्झौता गरिएको हो।

विद्युत् नियमन आयोगले सिफारिस गरेको दररेटमै आयोजनाबाट उत्पादन हुने बिजुलीको खरिदबिक्री सम्झौता भएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आयोजनाबाट उत्पादन भएको बिजुली प्राधिकरणले हिउँदको समयमा प्रतियुनिट ८.४० रूपैयाँ र बर्खायाममा भने प्रतियुनिट ४.८० रूपैयाँको दररेटमा खरिद गर्ने सम्झौता भएको बताए। ‘पिपिए सम्झौता भएसँगै आयोजना निर्माणको बाटो खुलेको छ,’ उनले भने, ‘आयोजना एक वर्षभित्रै वित्तीय व्यवस्थापन गरेर आयोजना निर्माणमा जानेछ।’ 

आयोजनाबाट उत्पादन भएको बिजुली टेक अर पे प्रणालीमा पिपिए सम्झौता गरिएको हो। आयोजनाले आव २०८४/८५ भित्र आयोजना तोकिएको समयमै निर्माण सम्पन्न हुनुपर्ने व्यवस्था राखेको छ। यो आयोजना अर्धजलाशययुक्त आयोजना हो। यो आयोजनाले विद्युत् विकास विभागबाट २०७५ माघ १८ गते अर्धजलाशययुक्त आयोजनाको रूपमा विकास गर्न अनुमति पाएको थियो। यो आयोजनाको पिकिङ अवधि प्रतिदिन १.६६ घण्टा रहेको छ।  

आयोजनाबाट ७५ करोड किलोवाट प्रतिघण्टा बिजुली उत्पादन हुनेछ। यो आयोजनाबाट वर्षायाममा ५२ करोड किलोवाट प्रतिघण्टा बिजुली उत्पादन हुनेछ। यो आयोजना निर्माणका लागि ३२ करोड २९ लाख ४५ हजार १ सय अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ। यो आयोजनाबाट ८.२७ प्रतिशत प्रतिफल आउनेछ। कम्पनीले यो आयोजना ४६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। यो आयोजनाको पिकिङ अवधि दैनिक १.६६ घण्टा रहेको छ। आयोजनाबाट उत्पादन भएको बिजुली २२० केभीको पाँच किलोमिटरको प्रसारणलाइन निर्माण गरेर मनाङको धारापानी सबस्टेसनमा जडान गरिनेछ।  

आयोजनाको ड्यामको लम्बाइ ८९.५ मिटर र उचाइ २४ मिटर हुनेछ। यसअघि प्राधिकरणले वैदेशिक लगानीमा निर्माण भएका खिम्ती र भोटेकोसी जलविद्युत् आयोजना डलरमा पिपिए गर्दा मुलुकले धेरै नोक्सान बेहोर्नुपरेको थियो। यो आयोजनामा बुटवल पावर कम्पनीको २० प्रतिशत र ८० प्रतिशत चिनियाँ लगानी भित्र्याएर आयोजना निर्माण गर्न लागिएको हो। चीनको सिचुवान प्रोभिन्सियल इन्भेस्टमेन्ट ग्रुप लिमिटेडलाई साझेदारको रूपमा भित्र्याएर आयोजना निर्माण गर्न लागेको हो।

प्रकाशित: ११ चैत्र २०७७ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App