अर्थ

महासंघले पत्रकार र परिवारको बिमा गरिदिने

पत्रकार पारिवारिक बिमा कार्यक्रमकाे शुभारम्भ गर्दै पाेखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी। तस्बिर: सन्देश/नागरिक

नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक बिमा निःशुल्क रूपमा गर्ने भएको छ। पत्रकार महासंघ कास्कीले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा आफू मातहत रहेका तीन सयभन्दा बढी पत्रकार र तिनका परिवारको पारिवारिक बिमा गरिदिने भएको हो।  

महासंघ कास्कीले पोखरा महानगरपालिकासँगको सहकार्यमा गरिने पारिवारिक बिमाको सोमबार शुभारम्भ गरिएको छ। महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बिमाको कागज पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेर बिमा कार्यक्रमको शुभारम्भ गरे। 

लगत्तै नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा सल्लाहकार बद्रिविनोद खनाल (प्रतीक) र उनकी धर्मपत्नी पत्रकार सावित्री खनालको बिमा गर्दै उनीहरूलाई बिमा कार्ड हस्तान्तरण गरिएको थियो। सो अवसरमा महासंघका अध्यक्ष श्रेष्ठले स्वास्थ्य बिमा बोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेललाई बिमा गर्नुपर्ने पत्रकारको सूची बुझाए।

महासंघले आर्थिक अभावमा पत्रकारको परिवार उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले पारिवारिक बिमा गरेको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए। उनका अनुसार महासंघको सदस्य रहेको पत्रकार र उनको पाँच जनासम्मको परिवारको पारिवारिक बिमा गरिनेछ। एक लाखको पारिवारिक बिमाका लागि तीन हजार पाँच सय रूपैयाँ लाग्ने र सो रकम पोखरा महानगरपालिकाले बेहोर्ने उनले जानकारी दिए।

‘बिमाका लागि बिमक पत्रकारको घरमै आएर बिमा गर्ने जनाइएको छ। बिमकले बुरुमा पत्रकारलाई फोन गर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसपछि आवश्यक कागजपत्र तयार बस्न आग्रह गरिन्छ र घरमै गएर पत्रकार र उनको परिवारको बिमा गरिन्छ।’ कुनै पनि कागज पत्र छोडिएर बिमा गर्नबाट नछुटून् भनेर घरमै गएर बिमा गर्ने व्यवस्था गरिएको उनले स्पष्ट पारे।

बिमा शुभारम्भ कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सधैं अर्काको दुःखका समाचार लेख्ने पत्रकारको स्वास्थ्यमा आइहालेमा सहजै उपचार होस् भन्ने उद्देश्यले महानगरले सहयोग गरेको बताए। स्वास्थ्य बिमा बोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले स्वास्थ्य बिमाप्रति अरूलाईपनि आकर्षित गर्न पत्रकारको पारिवारिक बिमाले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

शुभारम्भ कार्यक्रममा राष्ट्रपतिका पूर्वप्रेस सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस युनियन कास्कीका सभापति नविन सिग्देल, प्रेस संगठन कास्कीका संयोजक सन्देश श्रेष्ठ, प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सिना लगायतले पत्रकारसँगै परिवारको पनि बिमा गरेर पत्रकार महासंघ कास्कीले सराहनीय कार्य गरेको बताएका थिए।

प्रकाशित: ११ चैत्र २०७७ ०४:०६ बुधबार

नेपाल पत्रकार महासंघ कास्की पत्रकारको पारिवारिक बिमा निःशुल्क