अर्थ

लेखनाथ–खास्टेताल महोत्सवको तयारी

लेखनाथ खास्टेताल महोत्सवबारे जानकारी गराउँदै आयोजक । तस्बिर ः सन्देश÷नागरिक

पोखरामा आयोजना हुन लागेको लेखनाथ–खास्टेताल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–२६ स्थित खास्टेतालको संरक्षण गर्ने उद्देश्यले चैत १२ देखि २२ गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिले जानकारी दिएको हो ।

राष्ट्रिय संगीतकर्मी संघको ब्यवस्थापनमा हुने महोत्सव खास्टे र न्यूरेनी ताल किनारमा हुने आयोजकले जनाएको छ । कोरोना भाइरस संक्रमणको त्रासले सरकारले सभा, सम्मेलन, जमघट, मेला, महोत्सव नगर्न अपिल गरेपनि आफुहरुले सरकारले तोकेको मापदण्ड पूरा गरेर महोत्सव गर्न लागेको मेला संयोजक हरिप्रसाद अधिकारील बताए ।  

उनका अनुसार महोत्सवमा भौतिक दुरी २ मिटर कायम गर्न प्रयास गर्ने, मास्क अनिवार्य लगाउने तथा साबुन पानीले हात धुने र आवश्यक्ता अनुसार सेनिटाइजर प्रयोग गरिनेछ । ‘खास्टे जाँउ माछा खाँउ’ भन्ने मूल नारासहित हुने महोत्सवको मूख्य उद्देश्य खास्टे र न्यूरेनी तालको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने रहेको खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिका अध्यक्ष अधिकारीले बताए । त्यस्तै महोत्सव मार्फत आन्तरिक पर्यटन चलायमान गराउनेसमेत आफूहरुको उद्देश्य रहेको उनको भनाई छ ।

तालको संरक्षण, विकास, सिमसार र जैविक विविधताको रेखदेख गरि पर्यटन आवागमनमा बृद्धि गर्ने, राष्ट्रिय कला, संस्कृति संरक्षण, मत्स्य उत्पादन, चराचुरुङ्गीहरुको बासस्थान संरक्षण र बृद्धि गर्नेपनि आफूहरुको उद्देश्य रहेको उनले बताए । यसैगरी खास्टे तथा न्यूरेनी ताललाई राष्ट्रिय स्तरमा चिनाउँदै यसलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा चिनाउनुपनि महोत्सवको उद्देश्य रहेको उनले प्रष्ट्याए ।

महोत्सवमा ११० स्टल रहने जनाइएको छ । जसमा स्थानिय जातका माछाका स्टलहरुदेखि स्थानिय कृषि उत्पादनहरु, खाद्य पदार्थ, लत्ता कपडा, फेन्सी, जुत्ता, चप्पल लगायतका स्टलहरु रहने संयोजक अधिकारीले बताए । स्थानिय माछा र कृषि उत्पादन बिक्रीका लागि आवश्यक स्टलहरु निःशुल्क उपलब्ध गराइने उनले बताए ।

महोत्सव आयोजना गर्न ९७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सवबाट ९८ लाख ५० हजार आम्दानी गरि १ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको संयोजक अधिकारीले बताए । बचत रकम तालको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि खर्च गरिने उनले बताए ।

पोखरामै रहेको र सुन्दर ताल रहेरपनि फेवाताल, बेगनास ताल र रुपा तालको ओझेलमा परेको खास्टे ताल मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा समेत पर्दै आएको छ । तर यसको संरक्षणका लागि पहल भने नभएको होइन । ३ सय रोपनी क्षेत्रफल रहेको खास्टे तालको संरक्षणको लागि तत्कालिन लेखनाथ नगरपालिकाले माटोको ड्याम निर्माण गरेको थियो ।  

तालको सिमांकन गरी ड्याम निर्माणपश्चात संरक्षणको पहल गरेसँगै स्थानीयले सहकारी मार्फत खास्टेमा व्यवसायिक माछापालन गर्दै आएका छन् । जसका कारण तालको संरक्षण हुनुका साथै मुहारसमेत फेरिन थालेको संयोजक अधिकारीले बताए । खास्टे कृषि तथा मत्स्य सहकारी संस्था दर्ता गरि व्यावसायिक माछापालन भइरहेको तालमा ग्रासकार्प, कमन, रघु, नैनी, तिलपिया लगायतका माछा छन् ।

प्रकाशित: ९ चैत्र २०७७ १०:५८ सोमबार

लेखनाथ–खास्टेताल