अर्थ

डलरको मूल्य १०३.०१ रुपैयाँ पुग्यो

काठमाडौं - अमेरिकी डलरको मूल्य सोमबार एकैदिन एक रुपैयाँ ६० पैसाले बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलरको मूल्य १०३.०१ रुपैयाँ पुगेको छ। दिनभर बैंकहरुले कारोबार गरेको मूल्यका आधारमा राष्ट्र बैंकले मंगलबारका लागि डलरको मूल्य एक रुपैयाँ ६० पैसा बढाएर तोकेको हो।

गत शुक्रबारको तुलनामा मंगलबारको मूल्य कमै हो। शुक्रबार एक डलरको मूल्य १०३ रुपैयाँ ५० पैसा कायम भएको थियो।


गत बर्षको असार ९ गते एक डलरको मूल्य त्यतिखेरसम्मकै महँगो ९१ रुपैयाँ ८८ पैसा पुगेको थियो। त्यसपछि घट्न थालेको डलरको मूल्य चार महिनायता निरन्तर बढिरहेको छ। दुई महिनायता डलरले हरेक साताजस्तो नयाँ कीर्तिमान राख्दै आएको थियो। अघिल्लो सोमबार डलर पहिलो पटक एक सय रुपैयाँ माथि पुगेको हो।

भारतीय मुद्रा कमजोर भएपछि डलरको भाउ बढेको हो। भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो हुन्छ।

प्रकाशित: १० भाद्र २०७० ०५:५८ सोमबार