अर्थ

सात महिनामा अनुदान सात अर्ब, ऋण २५ अर्ब

सरकारले चालु आर्थिक वर्षको सात महिनामा अनुदान र ऋणसहित ३२ अर्ब ८५ करोड रूपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ। सरकारले चालु आर्थिक वर्षको माघ मसान्तसम्म सात अर्ब ४६ करोड रूपैयाँ अनुदान र २५ अर्ब ३९ करोड ऋण गरी कुल ३२ अर्ब ८५ करोड रूपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ।

अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा आर्थिक वर्ष २०७७/७८ को माघसम्म वैदेशिक सहायता प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको एक खर्ब नौ अर्ब २८ करोडको तुलनामा ७१.५ प्रतिशतले बढेर एक खर्ब ८७ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ।

सो प्रतिबद्धतामध्ये अनुदानतर्फ ९.७ प्रतिशत र ऋणतर्फ ९०.३ प्रतिशत छ। अर्थ मन्त्रालयका अनुसार शिक्षामा चार सय ४६ करोड, ऊर्जामा ४६ अर्ब १४ करोड रूपैयाँ प्रतिबद्धता आएको छ। त्यसैगरी, भूकम्पपछिको पुनर्निर्माणको लागि ६० करोड, सडक तथा सुशासनको लागि ५४ सय करोड रूपैयाँ वैदेशिक सहायता आउने प्रतिबद्धता प्राप्त भएको छ।

प्रकाशित: ६ चैत्र २०७७ ०३:५१ शुक्रबार

सात महिना अनुदान रकम ऋण