अर्थ

'परियोजना तयारपछि मात्र लगानी सम्मेलन'

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजना तयार गरेर लगानी सम्मेलन आयोजना गरे बढी फलदायी हुने बताएका छन्।  

गोल्छाले यस्तो तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम गर्दा अपेक्षाकृत सफल हुन नसकेको बताए। ‘अब हामीले रेडिमेड प्रोजेक्ट सहित छिमेकी भारत र चीनबाट वास्तविक लगानीकर्ता ल्याउने गरी काम गर्नुपर्छ,’ अध्यक्ष गोल्छाले भने, ‘देशमा लगानी सम्मेलन भए तर केही ठूला जलविद्युत्मा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छोडेर हेर्ने हो भने अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन, यो यथार्थ हो।’ अध्यक्ष गोल्छाले महासंघले भारत, चीन लगायतका दूतावाससँग लगानीका लागि छलफल अगाडि बढाएको जानकारी दिए।

२०४६ को परिवर्तनपछि मुलुकले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीतिसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भएको छ। तर विविध कारणले लगानी विस्तार हुन भने सकेको छैन। नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले नाफा पनि राम्रो गरेका छन्, तैपनि थप बाह्य लगानी भित्रन सकेको छैन।

‘समस्या कहाँ छ त्यसको निक्र्यौल गर्न सरकार तथा निजी क्षेत्रको एकीकृत प्रयासको खाँचो छ,’ अध्यक्ष गोल्छाले भने, ‘नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि गृहकार्य जरूरी छ।’ बाह्य लगानी आकर्षणमा रहेका बाधा हटाउनुपर्ने र विदेशी लगानीकर्ताले लैजाने मुनाफाका विषयमा पनि थप स्पष्टता जरुरी रहेको महसुस निजी क्षेत्रले गरेको छ।

अध्यक्ष गोल्छाका अनुसार बाह्य लगानी आकर्षणको अर्को महत्वपूर्ण पक्ष भनेको ‘कन्ट्री रेटिङ’ पनि हो, जुन हामी भर्खर अभ्यास गर्दैछौं। अर्को, एकद्वार प्रणालीको प्रभावकारी उपयोगमा सरकारको प्रतिबद्धता आवश्यक देखिन्छ।

कोभिडका कारण यतिखेर विश्वमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी आइरहेको बेला कोभिड पश्चात नेपालमा बाह्य लगानी आकर्षण गर्न अहिलेदेखिनै गृहकार्य गर्न जरुरी छ।

महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने गरी समितिलाई तयारी थाल्न सुझाव दिए। भारत र चीनका यहाँस्थित दूतावाससँग समेत समन्वय गरेर गृहकार्य गर्न उनले सुझाए। महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बाह्य लगानी आकर्षणका लागि लालायित छ भन्ने सन्देश दिन समितिले कार्य गर्ने विश्वास आफूलाई भएको बताए। महासंघ कार्यकारिणी समितिका सदस्य आनन्दकुमार बगाडियाको सभापतित्वमा गठित समिति विस्तार भएको छ।

प्रकाशित: ६ चैत्र २०७७ ०३:४८ शुक्रबार

परियोजना तयार लगानी सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ