अर्थ

मूल्य बढाएर सेयर बेच्न चलखेल

काठमाडौं — बिमा समितिले जीवन बिमा कम्पनीलाई सम्पत्ति बढाउनुपर्ने निर्देशन दिएपछि नगद लाभांश नपाइने भन्दै ठूला लगानीकर्ताले सेयर बेच्न थालेका छन्। पछिल्लो एक सातायता प्रत्येक दिन जीवन बिमा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढाएर किनबेच भइरहेको छ । यसमा मूल्य बढाउन ठूला लगानीकर्ताले चलखेल गरेका छन्।समितिले साउन १ बाट कार्यान्वयनमा ल्याइसकेको व्यवस्थालाई सार्वजनिक गरिसकेको छैन । अन्य निर्देशन तथा परिपत्र आफ्नो वेबसाइटमा राख्दै आएको समितिले यो निर्देशन राखेको छैन । यसैको फाइदा पहुँचवाला लगानीकर्ताले उठाएका हुन् ।

समितिले जीवन बिमा कम्पनीलाई कूल दायित्वको १.५ गुणा सम्पत्ति हुनुपर्ने निर्देशन दिएको छ । समितिको निर्देशनपछि जीवन बिमा कम्पनीले नाफाको ठूलो हिस्सा सम्पत्ति वृद्धिका लागि जगेडा कोषमा राख्नुपर्छ । जसले गर्दा गत आर्थिक वर्ष उच्च नाफा कमाएका बिमा कम्पनीले लगानीकर्तालाई मुस्किलले लाभांश बाँड्न सक्छन् ।

'दायित्व पूर्ति गर्न कम्पनीहरु सक्षम हुनुपर्छ भन्ने मान्यताअनुसार निर्देशन दिएका हौं,' समिति अध्यक्ष फत्तबहादुर केसीले आइतबार नागरिकसँग भने, 'निर्देशनपछि बिमा कम्पनीले आफ्नो सम्पत्ति वृद्धि गर्न जगेडा कोष बलियो बनाउनु पर्नेछ ।'

उनले जगेडा कोष बलियो बनाउन नाफाको प्रयोग अधिक हुने भएकाले कम्पनीहरुले नगद लाभांश बाँड्ने सम्भावना कम भएको जानकारी दिए । 'बोनस सेयरबाट वृद्धि हुने पुँजीले पनि दायित्व सिर्जना हुने भएकाले त्यो वितरण गर्न पनि निकै विचार पु¥याउनुपर्छ,' केसीले भने, 'बोनस सेयर वितरण गर्छु भनेर कम्पनी आए भने पनि समितिले विस्तृत रुपमा नहेरी स्वीकृति दिँदैन ।'

सम्बन्धित बिमा कम्पनीको टेबलमा निर्देशन गएकाले पहुँचवालाले यसको फाइदा उठाउँदै धमाधम सेयर बेच्न थालेका हुन् । गत वर्ष गरेको नाफाबाट प्रतिफल नपाउने भएपछि बिमा कम्पनीका सञ्चालक, प्रवद्र्धक, पहुँचवाला सेयरधनीले मूल्य बढाएर धमाधम सेयर बिक्री गरिरहेका छन् । सेयर बजारमा भने समितिले पुँजी वृद्धि योजना ल्याउन लागेकाले मूल्य बढेको हल्ला फिँजाइएको छ ।

'बिमा कम्पनीको सेयर किनबेच साबिकभन्दा बढी भइरहेको छ,' सेयर ब्रोकर कम्पनी कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका प्रबन्ध सञ्चालक भरत रानाभाटले आइतबार नागरिकसँग भने, 'अहिले हाम्रो बढीजसो कामै बिमा कम्पनीको किनबेचमा हुने गरेको छ ।' उनले एक महिनायता बिमा कम्पनीको सेयरमा आकर्षण देखिएको भन्दै एक सातायता प्रत्येक दिन मूल्य १० प्रतिशतभन्दा धेरैले बढेर किनबेच भइरहेको जानकारी दिए ।

जीवन बिमा कम्पनीको मूल्य बढ्न थालेपछि निर्जीवन बिमा कम्पनीको सेयरमा पनि आकर्षण देखिएको छ । 'सेयर बिक्री गर्नेमा अहिले ठूला लगानीकर्ता बढी छन्,' रानाभाटले भने, 'सानो सानो कित्ता कारोबार गरेर १० प्रतिशत मूल्य बढाइन्छ, अनि एकैचोटि ठूलो कित्ता सेयर बजारमा फ्याँकेर बढेको मूल्यमा किनबेच भइरहेको छ ।' उनले पहिले खासै कारोबार नहुने सेयरको मूल्य पनि अहिले बढ्न थालेको जानकारी दिए ।

'सेयर बजारमा समितिले पुँजी वृद्धि गर्दैछ भन्ने हल्ला छ, किन के कारणले बढेको भन्ने थाहा छैन,' रानाभाटले भने, 'नियामक निकाय बलियो बन्दै गएकाले पनि लगानीकर्ताको विश्वास बढेर कारोबार भएको हुन सक्छ ।' आइतबार मात्र बिमा कम्पनीको उपसूचक ५५.२७ अंक अर्थात ४.७ प्रतिशतले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २२ बिमा कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमा पनि बढी कारोबार जीवन बिमा कम्पनीको भइरहेको छ । गत सातामात्र बिमा कम्पनीको सेयर सूचक ४५.४३ अंकले बढेको थियो । गत साताभरि बढी कारोबार गर्ने पाँच कम्पनीमध्ये दुई बिमा कम्पनी छन् ।

प्रकाशित: २ भाद्र २०७० २३:०० आइतबार