अर्थ

धनगढी–पोखरा उडानको माग

सुदूरपश्चिमबाट पोखराका लागि भारतीय पर्यटक र पोखराबाट सुदूरपश्चिमका लागि तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी धनगढी–पोखरा हवाई उडान सुरु गर्न यस क्षेत्रका व्यवसायीले माग गरेका छन्।  

सुदूरपश्चिमको पर्यापर्यटन प्रवद्र्धन गर्न यहाँका पर्यटन व्यवसायीले धनगढी–पोखरा सिधा हवाई उडानको माग गरेका हुन्। धनगढी आउने पर्यटकलाई पोखरा र पोखराका पर्यटकलाई सुदूरपश्चिम भित्र्याउन पोखरा र धनगढीका पर्यटन व्यवसायीले सिधा हवाई मार्ग सञ्चालनका लागि सरकारसँग अनुमति माग गरेका छन्।

सीमावर्ती क्षेत्रमा रहेको धनगढीमा भारतीय पर्यटकलाई पोखरा घुम्न प्रेरित गर्ने र पोखरामा आएको तेस्रो मुलुकका पर्यटकलाई सुदूरपश्चिम भ्रमण गराउन सहज होस् भनेर धनगढी–पोखरा सिधा हवाई उडानको माग गरिएको होटल व्यवसायी संघ कैलाली अध्यक्ष कलम बमले बताए।  

उनले भने, ‘हामी यहाँका पर्यटकलाई पोखरा र पोखराका पर्यटकलाई सुदूरपश्चिमका पर्यटकीय क्षेत्रमा घुमाउने योजना बनाएका छौं, त्यसका लागि स्थल मार्ग नभई हवाई मार्गको अनुमति पाउनु जरुरी छ।’  

कोरोना महामारीले पर्यटन व्यवसायी क्षेत्र धराशयी भएको बताउँदै उनले भने, ‘हामी पर्यटन व्यवसायी भन्नेबित्तिकै होटल व्यवसायीलाई मात्रै ठान्छौं, त्यो नभई यो छुट्टै पाटो हो।’ सुदूरपश्चिममा जब पर्यटक चलायमान हुन्छन् तब यहाँको आर्थिक गतिविधि पनि चलायमान हुने उनी तर्क राख्छन्। ‘पर्यटक भित्रिए होटेल मात्रै चल्ने हैनन्,’ उनले भने, ‘यहाँका अटोरिक्सादेखि अन्य व्यावसायिक क्षेत्र पनि चलायमान हुन्छ।’  

पोखरासँग सुदूरपश्चिमको सिधा हवाई मार्ग जोडिने हो भने त्यसले यहाँको पर्यापर्यटनमा सुधार आउने सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाल बताउँछन्। ‘हामीले यहाँको पर्यटन प्रवद्र्धन गर्ने हो भने भारतीय पर्यटक मात्रै नभई तेस्रो मुलुकका पर्यटकलाई भिœयाउन सक्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि पोखरा गन्तव्यलाई हवाई मार्गसँग जोडिएमा उताका पर्यटकलाई सुदूरपश्चिम भित्र्याउन सकिन्छ।’

तेस्रो मुलुकका पर्यटक सुदूरपश्चिममा भित्रिएमा यहाँको अर्थतन्त्र चलायमान हुने र जसले यहाँ रोजगारी सिर्जना हुनुका साथै अन्य विकास निर्माणमा समेत मद्दत पुग्ने उनी बताउँछन्। ‘जाउँ है पोखरा’ अभियान लिएर धनगढी आइपुगेका पश्चिमाञ्चल होटल व्यवसायी संघ पोखराका अध्यक्ष विकल तुलाचनले भने, ‘पर्यटकका लागि सबैभन्दा महत्वपूर्ण र सहज पहुँचको सुविधा भनेकै हवाई यातायात हो, त्यसैले धनगढी–पोखरा हवाई मार्ग सञ्चालनमा ल्याउन सके भारतीय पर्यटकलाई पोखरा र पोखरामा आएको तेस्रो मुलुकका पर्यटकलाई धनगढी ल्याउन सकिन्थ्यो।’  

उनले धनगढी–पोखरा हवाई मार्ग सञ्चालनका लागि प्रदेश सरकार र संघीय सरकारलाई अनुमतिका लागि अनुरोध गरे। ‘हामी यो रुट सञ्चालनका लागि तयार छौं, र यहाँबाट पोखरा आउने पर्यटकलाई स्वागतका लागि आतुर छौं,’ उनले भने, ‘तर, सरकारले हवाई यातायातका लागि अनुमति दिइदिनुपर्छ।’ पर्यटन भित्र्याउने र पठाउने दुवै कार्यका लागि धनगढी र पोखराका पर्यटन व्यवसायी एकजुट भएको उनले बताए। 

प्रकाशित: १ चैत्र २०७७ ०५:११ आइतबार

धनगढी–पोखरा उडान