अर्थ

सिजीको कल्चरल भिलेज

चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउन्डेसनले नवलपुरको हर्कपुरमा ‘सिजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ। स्वदेशी कला, संस्कृति, साहित्य, वेशभुषा, आर्टट, क्राफ्ट, नाटक, संगीत प्रवर्धनका लागि कल्चरल भिलेज स्थापना गरिएको हो। 

यही भिजेलमा फागुन २८ देखि उन्नतिसँगको सहकार्यमा दुईदिने ‘फाइनप्रिन्ट फिभर’ महोत्सव आयोजना हुँदैछ। सोही दिन कल्चरल भिलेजको उद्घाटनलगत्तै यो महोत्सव सुरू हुनेछ। ग्रुपले कल्चरल भिलेज प्राकृतिक हिसाबले सुन्दर स्थानमा बनाएको छ। भिलेजमा थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठा छन्। 

चित्रमा थारू जातिका विभिन्न मेला महोत्सव र पर्वबारे जानकारी दिइएका छन्। थारू जातिका दैनिकी झल्किने वस्तु छन्। यो कल्चरल भिलेजमा थारु समुदायको सिंगो तस्बिर कुँदिएको छ। चौधरी ग्रुपका अनुसार चितवनको नारायणगढ बजारबाट करिब १२ किलोमिटर दुरीमा भिलेज बनाइएको छ। करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ।

यस्तै, भिलेजमा स्थानीय हस्तकलाका विभिन्न साधन उत्पादन पनि हुनेछन्। त्यसका लागि यहीँ दक्ष जनशक्ति उत्पादन गर्ने र उत्पादनलाई बजारसम्म पहुँच पुर्‍याउने योजना छ। नेपाली शिल्प एवं कलाबारे रुचि जगाउन ‘हिस्ट्री म्युजियम’ पनि बनाइएको छ, जहाँ नेपाली शिल्पीका प्राचीन, मध्यकालीन र आधुनिक शिल्पहरू हुनेछन्।

ग्रुपले भिलेजको अवधारणाले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने र स्वरोजगारीलाई पनि समानान्तर रूपमा बढाउने अपेक्षा गरेको छ। स्वरोजगारका बृहत्तर योजनामा भिलेजले काम गरिरहेको छ। स्थानीयलाई नै सहभागी गराइने भएकाले हस्तकलाका सामग्री उत्पादनदेखि अतिथि सत्कारसम्म उनीहरू नै अग्रपंक्तिमा रहनेछन्।

प्रकाशित: २७ फाल्गुन २०७७ ०३:५९ बिहीबार

चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउन्डेसन ‘सिजी उन्नति कल्चरल भिलेज’ कल्चरल भिलेज