अर्थ

मादीको सट्टा हाइड्रोपावर गाउँ

हिमालकै फेदमा छ कपुचे ताल। त्यही ताल मादीको मुहान हो। तालबाट निस्किएको पानी तल झर्दै गएपछि बाहव बढ्दै नदीको रूप लिएको छ। उक्त मादी नदीकै नामबाट कास्कीको उत्तरपूर्वमा रहेको मादी गाउँपालिकाको नामाकरण हुन पुगेको थियो। अहिले भने मादी गाउँपालिकाको परिचय फेरिएको छ। अहिले मादीलाई ‘हाइड्रोपावर गाउँ’ भन्न थालिएको छ।

पर्यटकीय गाउँ सिक्लेस हुँदै लमजुङको सीमानासम्म मादीले छुन्छ। नदीले पनि त्यहीँ बाटो बनाउँदै बगेको छ । मादी नदिमा दर्जन हाइड्रोपावर रहेका छन्। केही निर्माणाधिन छन् भने केही सञ्चालनमा आइसकेका छन्। उत्पादिन बिजुली राष्ट्रिय प्रशारण लाइनमा समेत जोडिएका छन्।

मादी हाइड्रोपावरको गाउँका रूपमा विकास र परिचित हुँदै गएको छ। ‘गाउँ नै अहिले हाइड्रोपावर गाउँको रूपमा परिचित बन्दै गएको छ ।’ मादी गाउँपालिकाको अध्यक्ष बेदबहादुर गुरुङले भने। गाउँमा मादी नदिबाट अपर मादी (२५ मेगावाट), नामार्जुङ मादी (१३ मेगावाट), मोड्क्यु हाइड्रो (१३ मेगावाट), रुबी खोला ए र बी (१५ मेगावाट) निर्माण भएर बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिसकेका छन्।

निजी क्षेत्रबाट निर्माण गरिएको प्रदेशकै ठूलो जलविद्युत आयोजना सुपर मादी (४४ मेगावाट) बन्ने क्रममा छ । बर्ज मादी (२४ मेगावाट), माद्मे खोला (२४ मेगावाट), इदी खोला (१ मेगावाट) निर्माणको चरणमा रहेका छन्। केही बनिसकेका र केही बन्ने क्रममा रहेको अध्यक्ष गुरुङको भनाइ छ। सिक्लेसदेखि लमजुङको सीमानासम्म अझै दर्जनौं हाइड्रोपावर दर्ता छन्।

मादीमै हाइड्रोपावर सञ्चालन गर्न दर्ताको संख्या यकिन नभएको अध्यक्ष गुरुङले बताए। हाइड्रोपावरबाटै गाउँको समृद्धि खोज्न थालिएको छ। गतवर्ष मात्रै जलविद्युतबाट ६० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्याे। प्राप्त रोयल्टीलाई विकास निर्माणमा खर्च गरिँदै आएको छ। स्थानीयको अत्यावश्यक पूर्वाधारमा लगानी गरिएको छ।

‘गतवर्ष ६० लाख बिजुलीको रोयल्टी गाउँपालिकाले पायो। अन्य जलविद्युत परियोजना सञ्चालनमा आए रोयल्टी थपिने छ,’ गाँउपालिका अध्यक्ष गुरुङले भने, ‘बिजुलीको रोयल्टी पनि पूर्वाधारमा खर्च गरिएको छ।’ कास्कीको सबैभन्दा बढी मादीमै जलविद्युत परियोजना रहेका छन्। गण्डकी प्रदेशकै निजी क्षेत्रको ठूलो ४४ मेगावाटको विद्युत् योजना पनि उत्पादनको अन्तिम तयारीमा पुगेको छ।

बिजुली उत्पादन मात्रै नभई गाउँलेले पनि आफ्नो अपनत्व लिएका छन्। गाउँपालिकामा ४ हजार ५ सय घरधुरी रहेका छन्। अधिकांश वडामा केन्द्रीय प्रशारण लाइनको बिजुली जडान गरिएको छ। उज्यालो बनाउने अभियानमा गाउँलेले पनि अपनत्व लिएका छन्। सुपर मादी र मोड्क्यु हाइड्रोपावरले सर्वसाधारणलाई शेयर दिँदै अपनत्व बनाइदिइको छ। गाउँलेलाई ७ प्रतिशत शेयर उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ। अपनत्व मात्रै नभई जलविद्युत परियोजनाले लाभान्वित क्षेत्रमा सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको छ।  

अबको दुई वर्षभित्रमा कास्कीमा आधा दर्जन हाइड्रोपावरले विद्युत् उत्पादन सुरु गर्ने छन्। निजी क्षेत्रबाट गण्डकी प्रदेशकै ठूलो जलविद्युत परियोजना ‘सुपर मादी’ अर्को आर्थिक वर्षभित्रमा उत्पादन सुरु हुने छ। सुपरमादी हाइड्रोपावर कम्पनी लिमिटेडको ४४ मेगावाट क्षमताको बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ। ‘२०७८ साल असार मसान्तसम्म विद्युत् उत्पादन गरेर प्रशारण लाइनमा जोड्ने छाैं,’ सुपरमादी हाइड्रोपावर कम्पनीका निर्देशक धनराज आचार्यले भने, ‘अहिलेसम्म ७५ प्रतिशत काम सकिएको छ।’  

नार्माजुङ मादी हाइड्रोपावरले पनि उत्पादन सुरु गरिसकेको छ । उत्पादन राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। ‘बिजुली उत्पादन भई प्रशारण लाइनमा जोडिसकिएको छ,’ हिमालयन हाइड्रोपावर प्रालिका प्रोमोटर यदु अधिकारीले भने, ‘अब सर्वसाधारणको लागि शेयर वितरण गर्ने तयारीमा छौं।’ उनका अनुसार कास्कीवासीको लागि १० प्रतिशत शेयर (९ लाख कित्ता) उपलब्ध गराउने तयारीमा रहेको छ।

सिक्लेस र ताङतिङ एवं याङजाकोट ग्रामीण पर्यटनका पर्यटकीय गन्तव्य हुन्। गुरुङ साँस्कृतिको मौलिकता अध्ययन गर्न सिक्लेस पुग्नुपर्छ । ताङतिङ र सिक्लेस वारिपारि छन्। मादी नदीले छुट्टाएको छ। दुई गाउँलाई जोड्ने मोटरबल पुल निर्माणले यातायात सहज बनेको छ। एकपछि अर्को हाइड्रोपावर निर्माण र निर्माणाधिन अवस्थाले मादीको मुहार पनि फेरिँदै गएको छ।

जलविद्युतको प्रशारण लाइन विस्तार गर्न आवश्यक सडक सञ्जाल निर्माण गरिएको छ। मध्यपहाडी लोकमार्गले समेत मादीलाई छोएको छ। लोकमार्ग निर्माणको अभियानले पनि प्राथमिकता पाएको छ। त्यतिमात्रै नभई खोला र नदीमा पुल निर्माणले पनि सहज यातायातको पहुँज पुगेको छ।  

विकासले फड्को मारेको छ । गाउँमा सडक सञ्जाल निर्माण र पुल निर्माणले यातायात सहज बनेको छ । यातायात सहज हुँदा मादी सहरोन्मुख हुंदै गएको छ। गण्डकी प्रदेश र केन्द्रीय सरकारको बजेटबाट कनेक्टिभिटी सडक निर्माण गरिएको छ। ‘गाउँमा पुल नै थिएन्। यातायातको पहुँच थिएन्। तर हामी आइसकेपछि ९ वटा मोटरेबल पुल निर्माण गरेका छौं।’ गाउँपालिका अध्यक्ष गुरुङले भने।

मादी करिडोरको मध्यपहाडी लोकमार्ग अन्तर्गत छ। याङजाकोट–भैंसे ११ किलोमिटर सडक बनेको छ। ताङतिङ–सिक्लेसको मादी करिडोर मध्यपहाडी राजमार्ग अन्तर्गत छ । जुन १६ किलोमिटर सडक निर्माणको क्रममा रहेको छ।  मध्यपहाडी लोकमार्ग अन्तर्गतको सडकलाई ठेकेदारलाई जिम्मेवारी दिइसकिएको छ।

१ अर्ब ३ करोड रुपैयाँको लागतमा टेण्डर भएर पनि निर्माण सुरु हुँदै छ। विद्युत् आयोजनासँगै सडक सञ्जाल निर्माणको तिव्रताले पर्यटकीय सिक्लेस गाउँ आन्तरिक तथा बाह्य पर्यटकको लागि गन्तव्य बन्ने विश्वास छ। साना सडकलाई स्तरोन्नति गरिएको छ। ३ मिटरको बाटोलाई फराकिलो बनाउँदै ८ मिटरको बनाइएको छ । सडक विस्तारसँगै गाउँपालिकाको ध्यान अब सिचाई क्षेत्रमा छ। कृषिजन्य उत्पादनमा विशेष ध्यान दिइने अध्यक्ष गुरुङको भनाइ छ। 

प्रकाशित: २६ फाल्गुन २०७७ ०५:४३ बुधबार

मादीलाई ‘हाइड्रोपावर गाउँ’ मादी गाउँपालिकाको नामाकरण राष्ट्रिय प्रशारण लाइन