अर्थ

तस्करीले फर्नेस आयल उद्योग संकटमा

रूपन्देहीको देवदह–४ केरबानीस्थित स्पिड इनर्जी इन्डस्ट्रिज प्रालिमा थोत्रा टायर पेलेर फर्मेस आयल निकाल्ने प्लान्ट। तस्बिर: रेखा/नागरिक

नेपालमा उद्योग, कलकारखाना फष्टाउँदै जाँदा फर्नेस आयलको माग बढ्दै गएको छ। भन्सारको तथ्यांक अनुसार भारत तथा अन्य मुलुकबाट वार्षिक दुई अर्बभन्दा बढीको फर्नेस आयल आयात भइरहेको छ। काम नलाग्ने थोत्रा टायर पेलेर निकालिने यो आयल ठूला उद्योग सञ्चालनमा प्रयोग हुने अति प्रज्ज्वलनशील इन्धन हो।  

मुलुकमा यसको माग बर्सेनि बढिरहेको छ। तर त्यही फर्नेस आयल उत्पादन गर्ने पहिलो स्वदेशी उद्योग भने कच्चा पदार्थ अभावमा बन्द हुने अवस्थामा छ। फर्नेस आयल उत्पादन गर्ने रूपन्देहीको देवदह–४ मा रहेको स्पिड इनर्जी इन्डस्ट्रिज प्रालि संकटमा परेको हो। दैनिक १० हजार लिटर आयल उत्पादन क्षमताको उद्योगले अहिले मुस्किलले दैनिक चार हजार लिटर मात्रै उत्पादन गरिरहेको सञ्चालक अजयमान श्रेष्ठले बताए। यो नेपालकै पहिलो फर्नेस आयल उद्योग हो।

कच्चा पदार्थकै अभावमा उद्योगको एउटा प्लान्ट विगत एक वर्षदेखि बन्द गरिएको छ। उद्योगमा दुईवटा प्लान्ट छन। ती दुईवटै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुँदा प्रतिदिन १० हजार लिटर आयल उत्पादन हुन्छ। त्यसका लागि दैनिक २० टन थोत्रा टायर, ट्युब आवश्यक पर्छ। तर अहिले मुस्किलले आठ टन कच्चा पदार्थ आपूर्ति भइरहेको उद्योगका प्रबन्ध सञ्चालक श्रेष्ठले बताए।  

यो उद्योग १० करोडको लगानीमा २०७२ सालमा स्थापना भएको हो। उद्योगले काम नलाग्ने टायर, ट्युब तथा रबरलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी पायरोलाइसिस प्रक्रियाद्वारा फर्नेस आयल उत्पादन गर्छ, जुन विभिन्न उद्योगले इन्धनको रूपमा प्रयोग गर्छन्। कार्बनको धुलो र स्टिल वायर यो उद्योगका सहायक उत्पादन हुन्। कार्बन कोइलाको विकल्पको रूपमा ब्रिकेट एवं इँटा उद्योगमा प्रयोग हुन्छ। वायर छड तथा स्टिल उद्योगमा कच्चा पदार्थको रूपमा प्रयोग हुन्छ।  

नेपालबाट थोत्रा टायर, ट्युब तथा रबरजन्य कच्चा पदार्थ रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, नवलपरासीको महेशपुर, वीरगन्ज, विराटनगर, नेपालगन्ज लगायत नाकाबाट खुलेआम भारत तस्करी भइरहेको छ। नेपालमा भन्दा भारतमा कवाडीको मूल्य केही बढी भएकाले यसको तस्करी भइरहेको सम्बन्धित व्यवसायी बताउँछन्।

स्पिड इनर्जीका सञ्चालक श्रेष्ठले भने आयातित फर्नेस आयलको मूल्य प्रतिलिटर ९२ रूपैयाँ हुँदा आफूहरूले ५२ रूपैयाँ प्रतिलिटरमा बेच्नुपरेकाले सोही अनुरूप कच्चा पदार्थ किन्नुपर्ने बाध्यता रहेको बताए। गैरकानुनी रूपमा भइरहेको कवाडी सामानको तस्करी रोक्ने हो भने सस्तो मूल्यमा स्वदेशमै फर्नेस आयल उत्पादन गरी आत्मनिर्भर हुन सकिने दाबी उद्योगी श्रेष्ठको छ।

यो उद्योग प्रशोधनजन्य भए पनि त्यसबापत राज्यबाट पाउनुपर्ने अनुदान सहुलियतबाट समेत वञ्चित रहेको श्रेष्ठको गुनासो छ। थोत्रा टायर प्रशोधन गर्दा प्रदूषण शून्य हुने र अन्य उत्पादन पनि पुनः कच्चा पदार्थको रूपमा प्रयोग गर्न सकिने भएकाले यसलाई वातावरणमैत्री उद्योगको सूचिमा राखेर अनुदान सहुलियत दिइनुपर्ने माग उद्योगीको छ।

त्यसका अलावा आयातित फर्नेस आयलसँग अस्वस्थ प्रतिश्पर्धा गर्नुपर्ने अर्को समस्या उद्योगीले झेल्दै आएका छन्। कच्चा पदार्थ तस्करी रोकिए ती उद्योगको उत्पादन क्षमता बढ्ने र स्वदेशी उत्पादनले माग धान्न सक्ने दाबी उद्योगीको छ। त्यसका लागि थोत्रा टायर ट्युबको तस्करी रोक्नेतर्फ प्रशासनको ध्यान जानुपर्ने उनीहरूको माग छ।

थोत्रा टायर ट्युब, रबरजन्य कच्चा पदार्थ विदेशबाट आयात गर्दा भन्सार महसुल लगाउन नहुने उद्योगीको माग छ। स्वदेशी उद्योगको प्रवद्र्धनका लागि स्वदेशी फर्नेस आयलको प्रयोग अनिवार्य गर्ने नीतिगत व्यवस्था गर्न सके इन्धन आयातमा कमी आउने श्रेष्ठले दाबी गरे।  

स्वदेशमा उत्पादन हुने फर्नेस आयलको खपतलाई मध्यनजर गर्दै नपुग इन्धन मात्र आयातको अनुमति दिनुपर्नेमा उनले जोड दिए। ‘यसले विदेशी मुद्रा बाहिरिने क्रममा समेत कमी ल्याई व्यापार घाटा कम गर्न सहयोग पुग्छ,’ श्रेष्ठले भने। हाल वार्षिक पाँच करोड लिटर इन्धन आयात हुँदा ३० अर्ब रकम बाहिरिरहेको भन्दै उनले त्यसलाई कम गर्न आन्तरिक उत्पादन, माग र खपत सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

भारतमा फर्नेस आयल उद्योग पाँच सय हाराहारीमा छन। नेपालमा हालसम्म चारवटा उद्योग खुलेका छन्। तीमध्ये रूपन्देहीमा दुईवटा, धनगढी र विराटनगरमा एक–एक वटा छन्। नेपालमा खपत हुने फर्नेस आयलमा स्वदेशी उद्योगको हिस्सा तीन प्रतिशत मात्र छ। यसलाई बढाएर इन्धनमा आत्मनिर्भरतातर्फ जान यस्ता उद्योगको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने उद्योगीको माग छ।

प्रकाशित: २६ फाल्गुन २०७७ ०४:४८ बुधबार

नेपालमा उद्योग कलकारखाना भन्सारको तथ्यांक अनुसार फर्नेस आयल आयात