अर्थ

'मेक इन नेपाल अभियान' सरकारको हो : ओली

विश्वका केही मुलुकले जस्तै नेपाली निजी क्षेत्रले पनि ‘मेक इन नेपाल’ ब्रान्डमा सामान उत्पादन गर्ने अभियान सुरु गरेको छ।

मुलुकका उद्योगीहरूको संगठन नेपाल उद्योग परिसंघले सोमबार एक कार्यक्रमको आयोजना गरी ‘मेक इन नेपाल’ अभियान सुरु गरेको हो। दक्षिणी छिमेकी भारत, बंगलादेश, अस्ट्रेलियालगायत केही मुलुकहरूले लामो समयदेखि आफ्नै नाममा सामान उत्पादन र बिक्री गर्दै आएका छन्।

केही वर्षयता उच्च आयातले अर्थतन्त्रमा समस्या पारिरहेका बेला निजी क्षेत्रले अगाडि सारेको यो अभियान राष्ट्रिय महत्वका रूपमा देखिएको छ। त्यसै पनि निजी क्षेत्रले लामो समयदेखि स्वदेशी उत्पादन खरिद गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्दै आएको थियो। सरकारले केही वर्षका बजेटमार्फत १५ प्रतिशतसम्म मूल्य बढी भए पनि स्वदेशी सामान खरिद गर्न सक्ने व्यवस्था गरेको थियो। तर व्यवहारमा सरकारी निकायहरूले स्वदेशीभन्दा विदेशी सामान नै खरिद गर्दै आएका छन्। सर्वसाधारण उपभोक्ताको मोह पनि विदेशी सामानमै बढी देखिँदै आएको छ। मुलुकको यस्तो वातावरणमा निजी क्षेत्रको एउटा संस्थाले ‘मेक इन नेपाल’को अवधारणा ल्याएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रले ल्याएको यो अभियान सरकारकै भएको बताए। ‘यो अभियान तपाईंहरूको भन्दा पनि सरकारको हो,’ अभियानको सुरुआत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने गरी आएको यो अभियानलाई सरकारले आफ्नै ठानेको छ।’

प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायीलाई सकेसम्म आयात प्रतिस्थापन गर्ने गरी यो अभियान अन्तर्गत काम गर्न आग्रह गरे। आयात गर्नैपर्ने अवस्था आए आवश्यक वस्तु र कच्चा पदार्थ मात्र आयात गर्न ओलीले आग्रह गरे। ‘अनाश्यक वस्तुको आयातले समस्या खडा गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘इनर्जी ड्रिंक्सको नाममा धमिलो पानी किन आयात गरेर विदेशी मुद्रा खर्च गर्नुहुन्छ। यस्ता अनावश्यक वस्तु र स्वदेशमै उत्पादन गर्न सकिन्छ।’

उनले मुलुकका धेरै स्थानमा उद्योग, व्यवसाय खोल्न मिल्ने गरी पूर्वाधार निर्माण भएको जानकारी दिँदै यो अभियान त्यस्ता स्थानमा जानुपर्नेमा जोड दिए। ‘हामीले भर्खरै नौ सयदेखि दुई हजार एक सय बिघा क्षेत्रफल भएका औद्योगिक क्षेत्र तोकेका छौं,’ ओलीले भने, ‘व्यवसायीलाई कहाँ उद्योग स्थापना गर्ने भन्ने समस्या छैन। विभिन्न स्थानमा सुरु भएको सेज निर्माणको काम पनि रोकिएको छैन। मुलुक छिट्टै औद्योगिकीकरणतर्फ उन्मुख छ।’

प्रधानमन्त्री ओलीले पूर्वाधार बनिसकेका कारण अबको खाँचो उत्पादन र रोजगारीको भएको बताए। उनले उत्पादित वस्तुको बजारको खाँचो पनि नभएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको यो अभियान नयाँ अठोटको सुरुवात भएको बताए। यो अभियान सानो देखिए पनि मुलुकका लागि महत्वपूर्ण र विशेष अर्थ राख्ने किसिमको भएको ओलीको धारणा छ। ‘भारतमा महात्मा गान्धीले चर्खा चलाउनु देख्दा सानो अभियान भए पनि यसको ठूलो अर्थ थियो,’ ओलीले भने। उद्योगमन्त्री लेखराज भट्टले निजी क्षेत्रले ल्याएको यो अभियान मुलुकका लागि राम्रो भएको भन्दै गुणस्तर कायम गरेर उत्पादन गरे मात्र यसले सार्थकता पाउने बताए।

परिसंघका अध्यक्ष सतीषकुमार मोरले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अभियान अगाडि सारेको जानकारी दिए। स्वदेशमा उद्योगहरू स्थापना गरी उत्पादन र रोजगारी बढाउने र अहिलेको चर्को आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य अभियानले राखेको अध्यक्ष मोरले जानकारी दिए। ‘यो अभियान निजी क्षेत्रको मात्र होइन, सरकारको पनि राष्ट्रिय रणनीति बन्नु पर्छ,’ अध्यक्ष मोरले भने, ‘त्यसका लागि म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्छु।’

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले यो अभियानको लक्ष्य नेपाली उत्पादनलाई बजारसम्म पुर्‍याउने मात्र नभएर उपभोक्तामा अपनत्व पनि बढाउने भएको बताए।

अर्थशास्त्री विश्व पौडेलले स्वदेशमा उत्पादन र रोजगारी बढाउन सरकार र निजी क्षेत्रले के कस्ता रणनीति अपनाउनुपर्छ भन्ने जानकारी दिएका थिए।

प्रकाशित: २५ फाल्गुन २०७७ ०१:०९ मंगलबार

'मेक इन नेपाल अभियान'