अर्थ

एक वर्षपछि पोखरा–जोमसोम उडान सुरु

फाइल तस्बिर: नागरिक

कोरोना संक्रमण रोक्न देशव्यापी लकडाउन भएसँगै रोकिएको हिमालपारिको जिल्ला मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान झण्डै एक वर्षपछि सुरु भएको छ। लकडाउनको कारण लामो समय उडान रोकिएको र त्यसपछि यात्रु अभाव भएको भन्दै हवाई सेवा सुरु हुन सकेको थिएन।

तर पछिल्लो समय आन्तरिक यात्रु बढ्न थालेको र केही भारतीय तीर्थयात्री पनि आउन थालेकोले उडान सुरु गरेको वायुसेवा कम्पनीहरूले बताएका छन्। शनिबार समिट एयरले पोखरा–जोमसोम रुटमा दुईवटा उडान गरेको पोखरास्थित स्टेसन म्यानेजर पोषणमणि त्रिपाठीले बताए। उनका अनुसार लकडाउनपछि पहिलोपटक शनिबार उडान भएको हो।

‘लकडाउन सुरु भएपछि केही महिना हवाई उडान पूरै ठप्प भयो। महिनौंपछि हवाई उडान खुले पनि पोखरा–जोमसोम रुटमा यात्रु थिएनन्,’ त्रिपाठीले भने, ‘अब यात्रु पाउने अपेक्षा छ। पहिलो दिनमै दुईवटा उडान हुँदा पूर्ण क्षमतामा यात्रु आउजाउ गरेका छन्।’ उनका अनुसार समिटिले यो सिजनमा दैनिक पाँचवटासम्म उडान गर्ने योजना बनाएको छ। अघिल्लो वर्ष दैनिक ८–९ वटासम्म उडान गरेको उनले बताए।

‘बोर्डर खुल्ने र भारतीय पाहुना आउन पाउने हो भने पोखरा–जोमसोम रुटमा यात्रु अभाव हुँदैन। तर बोर्डर नखुलिसकेकोले पर्याप्त भारतीय आउने अवस्था छैन,’ उनले भने, ‘यो बेला पर्याप्त भारतीय तीर्थयात्री आउने गरेका थिए। ती सबै मुक्तिनाथ दर्शन गर्न जाने गरी आउँछन्।’

मुक्तिनाथ दर्शन गर्न जाने भारतीय तीर्थयात्रीकै कारण पोखरा–जोमसोम रुटको उडान निकै नै चल्तीको मध्येमा पथ्र्यो।समिटले पोखरा–जोमसोम उडानका लागि १८ सिट क्षमताको एउटा जहाज पोखरामै राखिरहने जनाएको छ। ‘पहिलो दिन दुई उडान भए। तीन उडानको तयारी भए पनि मौसम अनुकूल नहँुदा हुन पाएन,’ उनले भने।  

आइतबार अर्को निजी हवाई कम्पनी तारा एयरले पनि यो रुटमा उडान सुरु गरेको छ। तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले ताराले पनि पोखरामै जहाज राखेर नियमित उडान सुरु गरेको बताए। ‘सुरुमा एउटा उडान हुन्छ। यात्रु बढ्दै गएमा उडान थप्न हामीलाई अप्ठेरो छैन,’ उनले भने।

ताराले पनि १८ सिट क्षमताको जहाजबाट यो रुटमा उडान भरेको छ। गर्मी छल्न र मुक्तिनाथ दर्शन गर्न यो बेला भारतीयको पोखरामा भीड लाग्ने गथ्र्या। यसपालि कोरोनाका कारण भारतीयलाई सहजै नेपाल प्रवेश दिने गरी नाका खुलेको छैन। नाका खुलेर पाहुना आउन सहज भए दिनमा पाँचसम्म उडान गर्ने तयारी ताराको छ।

प्रकाशित: २४ फाल्गुन २०७७ ०२:०९ सोमबार

पोखरा–जोमसोम उडान सुरु मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान एक वर्षपछि सुरु