अर्थ

स्वदेशी पाहुनामार्फत पर्यटन ब्युँताउने प्रयास

कोरोना संक्रमण सुरु भएसँगै थलिएको पर्यटन क्षेत्रले वर्ष दिनदेखि विदेशी पाहुनाको मुख देख्न पाएको छैन। स्वदेशी पाहुनाले गर्दा पर्यटन क्षेत्रलाई थोरै भए पनि राहत मिलेको छ। तर व्यवसायीले कमाउन पाएका छैनन्। स्वदेशीको भरमा ढोका मात्र खुला राख्न सकेको पर्यटन क्षेत्रमा थप पाहुना भित्र्याउन सके व्यवसाय सहजै टिकाउन सकिने व्यवसायीको अनुमान छ।

अझै डेढ–दुई वर्ष तेस्रो मुलुकका पाहुना आउने सम्भावना नभएको र त्यो बेलासम्म आन्तरिककै भरमा व्यवसाय धान्नुपर्ने बाध्यता रहेको भन्दै व्यवसायीले थप आन्तरिक पाहुनालाई पोखरा बोलाउने अभियान थालेका छन्। पश्चिमाञ्चल होटल संघले ‘जाउँ है पोखरा अभियान’ मार्फत आन्तरिक पाहुनालाई पोखरा बोलाउन विभिन्न सहरमा प्रवद्र्धनात्मक अभियान चलाएको छ।

त्यसका लागि संघले यसपटक पश्चिम नेपालका विभिन्न सहरमा प्रवद्र्धन अभियान थालेको छ। स्थानीय व्यवसायीसँग सहकार्य गर्दै आन्तरिक पर्यटकलाई पोखरा बोलाउने योजना व्यवसायीको छ। संघका अध्यक्ष विकल तुलाचनले भने, ‘तत्काल विदेशी आउने सम्भावना नरहेकोले हामी स्वदेशीमा बढी निर्भर हुनुपरेको हो।’ 

व्यवसायीले विगतको द्वन्द्वकालमा विदेशी नआएपछि आन्तरिकमार्फत पर्यटनलाई चलायमान बनाउने गरी ‘जाँउ है पोखरा’ अभियान सुरु गरेका थिए। त्यही अभियानलाई बर्सेनि विभिन्न सहरमा पुगेर प्रवद्र्धन गर्दै व्यवसायीले स्वदेशी पाहुना पोखरा बोलाउने गरेकोमा कोरोनाको अप्ठरोमा पनि आन्तरिककै साथ खोजेको उनले बताए।

तुलाचनका अनुसार यसपटकको अभियान पश्चिम नेपालको नेपालगञ्ज, बर्दिया, धनगढी र महेन्द्रनगर सहरमा गरिनेछ। प्रवर्धनमार्फत आन्तरिक मात्र नभई क्रस बोर्डर पर्यटनमार्फत पनि लाभ लिन सकिने उनले बताए। ‘यो प्रवर्धनले आन्तरिक पाहुनालाई पोखरा बोलाउन त सहज हुनेछ नै, त्यसबाहेक क्रस बोर्डर पयर्टनबाट पनि लाभ लिन सकिन्छ,’ उनले भने, ‘अभियानले अझ बढी स्वदेशी पर्यटकलाई पोखरा भित्र्याउन सफल हुनेमा हामी विश्वस्त छौं।’

गत मंसिरको अन्तिममा पूर्वी सहरमा यस्तै अभियान चलाएका थिए। त्यो अभियानले पूर्वका पाहुना पोखरा आउन थालेका थिए। अब पश्चिमका पर्यटक बेलाउन सके त्यसबाट दुवै सहरका व्यवसायीले लाभ पाउने उनले बताए।‘यो बेला आन्तरिकलाई पनि केही अप्ठेरो त छ। त्यसबाहेक भारतीयलाई पनि भित्र्याउन सकेका छैनौं। भारतीय पाहुना मात्र भित्र्याउन सके पनि लाभ हुन्छ,’ तुलाचनले भने, ‘तर नाका नखुल्दा भारतीय आउन पाएनन्।

भारतीयका लागि भए पनि नाका खोल्नुपर्ने पोखरेली सहित पश्चिम क्षेत्रका व्यवसायीको माग रहेको उनले बताए। उनका अनुसार अचेल पोखरामा स्वदेशी पर्यटक आगमन दर बढीमा १० प्रतिशत छ। अब क्रस बोर्डर पर्यटनलाई प्रवर्धन गर्दै आन्तरिक र केही भारतीय पाहुनालाई पोखरा भित्र्याउँदा अकुपेन्सी दर बढेर २५ प्रतिशत पुग्ने अपेक्षा रहेको उनले बताए।

प्रकाशित: २४ फाल्गुन २०७७ ०१:४३ सोमबार

नेपालको पर्यटन क्षेत्र स्वदेशी पाहुना आन्तरिक पाहुनालाई पोखरा बोलाउने अभियान ‘जाउँ है पोखरा अभियान’