अर्थ

मल नल्याउने दुई कम्पनी कारबाहीमा

समयमा रासायनिक मल नल्याउने दुई कम्पनीलाई सरकारले कारबाही गरेको छ। तोकिएको समय सीमामा मल नल्याएपछि कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गरेको हो।  

मल नल्याएपछि दुवै कम्पनीको धरौटी जफत गरेर कालो सूचीमा राख्ने निर्णय भएको कृषि सामग्री कम्पनीका सूचना अधिकारी विष्णु पोखरलले बताए। पोखरेलका अनुसार ती दुई कम्पनीले डिसेम्बर पहिलो हप्ता मल ल्याउने प्रतिबद्धता जनाएका थिए। ‘समय मै रासायनिक मल आयात गर्न नसकेपछि दुई कम्पनीसँगको सम्झौता तोडेका छौं,’ पोखरेलले भने, ‘धरौटी जफत गरेर कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया बढायौं।’

शैलुङले २५ हजार टन युरिया ल्याउने सम्झौता गरेको थियो। मल नल्याएपछि शैलुङको चार लाख दुई हजार पाँच सय डलर धरौटी जफत गरेको कम्पनीले जनाएको छ। त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनीले २० हजार मेट्रिक टन डिएपी र २५ हजार मेट्रिक टन युरिया मल ल्याउने सम्झौता गरेको थियो। मुक्तिनाथले युरिया ल्याउन राखेको तीन लाख ९९ हजार डलर र डिएपीको तीन लाख ९७ हजार डलर धरौटी जफत गर्ने निर्णय गरेको छ।

सम्झौता तोडेपछि पुनः टेन्डर आह्वान गरेर मल ल्याउने कम्पनीले जनाएको छ। यो वर्ष पहिलोपटक नेपाली कम्पनीले रासायनिक मल ल्याउने टेन्डर पाएका थिए। तर ल्याउन सकेनन्। कृषि सामग्रीले शैलुङको तेस्रो ठेक्का रद्द गरेको हो। यसअघि दुईवटा ठेक्का रद्द गरिसकेको छ। यसअघि मल नल्याएपछि होनिको मल्टिपल कम्पनीलाई पनि कारबाही गरिएको थियो।

प्रकाशित: २१ फाल्गुन २०७७ ०४:४७ शुक्रबार

रासायनिक मल दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनी