अर्थ

नेपालकै ठूलो औद्योगिक पार्कको शिलान्यास हुँदै

झापाको दमकबाट आठ किलोमिटर दक्षिणमा निर्माण हुने नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को यही फागुन १६ गते शिलान्यास हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको पार्कका अध्यक्ष गोविन्द थापाले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए। दमक नगरपालिका–१०, कमल गाउँपालिका–७ र गौरादह नगरपालिका–५ को सङ्गमस्थलमा एक हजार ३०० बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर नेपाल सरकारले पार्क बनाउन लागेको हो।

पार्कमा रु ६५ अर्ब चिनियाँ लगानी भित्र्याउन सरकारले स्वीकृति प्रदान गरिसकेको र शिलान्यास भएको दुई वर्षभित्र संरचना बनिसक्ने अध्यक्ष थापाले बताए। सरकारले जग्गा अधिग्रहण गरेबापत स्थानीयवासीलाई रु एक अर्ब ३६ करोड मुआब्जा दिनुपर्नेमा हालसम्ममा रु ९५ करोड उपलब्ध गराइसकेको छ। सो जग्गा ४० वर्षका लागि सरकारले पार्कलाई भाडामा दिएको हो। पैँतालिस ४५ हजार नेपालीले प्रत्यक्ष रोजगारी पाउने सो पार्कमा पहिलो चरणमा २६ वटा कृषि, टेक्सटाइल, मोबाइल, विद्युतीयलगायतका कारखाना स्थापना हुने र त्यहाँबाट उत्पादित वस्तु विदेश निर्यात हुने थापाले दाबी गरे।

रोजगारी, लगानी र क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र भएकाले सो पार्क मुलुकको नमूना बन्ने उनको भनाइ छ। पार्कमा चीनको मात्र लगानी रहने र नेपालले यसका लागि चीन सरकारसँग कुनै ऋणसमेत नलिएको उनले स्पष्ट पारे। रासस

प्रकाशित: १३ फाल्गुन २०७७ ०१:३३ बिहीबार