अर्थ

फलेवासका विपन्न मजदुरलाई पेन्सन

पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका विपन्न मजदुरको पाँच सय रूपैयाँ योगदान तथा नगरपालिकाद्वारा पाँच सय रूपैयाँ थप गरी मासिक एक हजार रूपैयाँको दरले प्रतिमहिना रकम जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता भएको छ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका प्रमुख पदमपाणि शर्माले हस्ताक्षर गरेका छन्। उक्त योजनामा सहभागी करिब सात सय असंगठित क्षेत्रका बिपन्न मजदुरले ६० वर्ष पुगेपछि मासिक रूपमा पेन्सन पाउने वा साँवाब्याज तथा प्रतिफलसहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागिता गराइएको नागरिक लगानी कोषको विज्ञप्तिमा उल्लेख छ।

यस पेन्सन योजनाको बैंकिङ साझेदार एनआइसी एसिया बैंक बनेको छ। नगरपालिकाको यस कार्यक्रमलाई एनआइसी एसियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। 

प्रकाशित: ११ फाल्गुन २०७७ ०५:२३ मंगलबार

पेन्सन विपन्न मजदुर पर्वतको फलेवास नगरपालिका