अर्थ

यसरी गरियो मेलम्ची सुरुङको दोस्रो परीक्षण (फोटोफिचर)

मुहानस्थल अम्बाथानमा रहेको कन्ट्राेल कक्षको स्वीच थिचेर परीक्षणका लागि सुरुङमा पानी प्रवेश गराउँदै खानेपानीमन्त्री मणिचन्द्र थापा। तस्बि : ध्रुव/नागरिक

बहुचर्चित एवम् बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग परीक्षण थालिएको छ। खानेपानीमन्त्री मणिचन्द्र थापाले सोमबार साढे २६ किलोमिटर लामो सुरुङमा मेलम्ची खोला प्रवेश गराएर पथान्तरण (परीक्षण) शुभारम्भ गरे।  

पहिलो पटक असफल भएपछि पुनः दोस्रो पटक सुरुङ परीक्षण थालिएको हो। यसअघि गत असारमा गरिएको सुरुङ परीक्षण प्राविधिक दुर्घटना निम्तिएर असफल भएको थियो। मुहानस्थल अम्बाथानस्थित कन्ट्रोल कक्षको स्वीच थिचेर सुरुङमा पानी प्रवेश गराउँदै मन्त्री थापाले मेलम्ची आयोजना काठमाडौँ उपत्यकावासीको सपना मात्रै नभएर मुलुककै समृद्धिको आधार भएको बताए।

‘मेलम्चीको सफलताले मुलुकको विकास क्षेत्रमा उत्साह भर्ने काम गर्छ,’ चुनावी नारा बनाईंदा आयोजना ढिलाइ भएको उल्लेख गर्दै उनले भने। आयोजना सम्पन्न हुने दिसामा अघि बढेकाले मन्त्रालयले छिट्टै मेलम्ची पानी वितरणको योजना बनाउने उनले जनाए। प्राविधिक त्रुटी सच्याए पुनः परीक्षण थालिएसँगै काकाकुल काठमाडौँ उपत्यकावासीको दुई दशक लामो आयोजना लगभग पूरा हुने चरणमा पुगेको छ।  

आयोजनाका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीले साढे दुई महिनाभित्र सुरुङ परीक्षण पूरा हुने बताए। ‘अबको १५–१६ दिनमा मेलम्ची पानी सुन्दरीजल पुग्छ,’ उनले भने। परीक्षण पूरा गरेर आगामी चैत अन्तिम सातादेखि वैशाखसम्ममा मेलम्ची पानी उपत्यकावासीको घर–घरमा बितरण गर्ने आयोजनाको तयारी रहेको उनले जानकारी दिए।  

खत्रीका अनुसार सुरुङसँगै, सुन्दरीजलमा रहेका प्रशोधन केन्द्र र वितरण पाइप लाइनसमेत परीक्षण गरिने छ। सुरुङ भरिन १५–१६ दिन लाग्ने र भरिएको पानीलाई थप १० दिन भित्रै होल्ड गरेर फेरि दुई साता लगाएर सुरुङ खाली गराउँदै परीक्षण पूरा गर्ने आयोजनाको तयारी छ। ‘प्रशोधन केन्द्रमा पानी संकलन भएपछि एक साथ पाइपलाईन परीक्षण र बितरणको काम सुरु हुन्छ,’ उनले भने।  

मेलम्चीबाट सुन्दरीजल पुग्ने पानी संकलन गर्न त्यहाँ प्रशोधन केन्द्र निर्माण गरिसकिएको छ। त्यहाँ साढे आठ करोड लिटर दर क्षमताका दुईवटा केन्द्र छन्। मेलम्ची सुरुङ दैनिक ५१ करोड लिटर पानी लैजान सकिने गरी बनाइएको छ। पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड लिटर पानी उपत्यका लैजाने तयारी छ। तर परीक्षण प्राविधिक मापदण्डअनुसार अहिले प्रतिसेकेण्ड दुई सय ६० लिटर पानी सुरुङमा हालिएको खत्रीले जनाए। ‘यसले पुर्‍याउन सक्ने असर अध्ययन गर्न थोरै मात्र पानी छिराउनु परेको हो,’ उनले प्रस्टाए।  

यही सुरुङमार्फत सिन्धुपाल्चोककै लार्के र यांग्री खोलासमेत मिसाएर थप १७÷१७ करोड लिटर पानी लैजाने आयोजनाको तयारी छ। यसका लागि मेलम्ची मुहानसम्म थप नौ किलोमिटर सुरुङ खन्नुपर्ने हुन्छ। यसका लागि प्रारम्भिक कामसमेत सुरु भइसकेको आयोजनाले जनाएको छ। सुरुङ परीक्षणको क्रममा यसअघिको जस्तो दुर्घटना नहोस् भनेर विषेश सावधानी अपनाउँदै उद्धार योजना पनि बनाएको आयोजनाले जनाएको छ। मेलम्ची दक्षिण एशियामकै पहिलो सुरुङमार्ग खानेपानी आयोजनासमेत हो।

  

सबै तस्बिरहरुः ध्रुव दङ्गालर/नागरिक

प्रकाशित: १० फाल्गुन २०७७ ११:२१ सोमबार

मेलम्ची सुरुङ मेलम्ची खानेपानी परीक्षण