अर्थ

एकै दिन तीन नयाँ व्यवसाय सुरु

कोरोना रोक्न लकडाउन भएपछि उद्योग, व्यवसाय चौपट भएर व्यवसायी निराश थिए। लकडाउन खुलेसँगै व्यापार व्यवसाय पुरानै लयमा फर्किएको छ भने युवाहरूले लगानी पनि गर्न थालेका छन्। मंगलबार एकै दिन धरानमा तीनवटा नयाँ व्यवसाय सुरु भएको छ। तीनैवटा व्यवसाय धरानका युवाले लगानी गरेका हुन्। 

धरान–९ आचार्यलाइनमा तीनजना युवाले सत्यम डेरी उद्योग खोलेका छन्। १२ लाख लगानीको उक्त डेरीमा सञ्चारकर्मी योगेशबाबु काफ्ले, चतराका ऋषिराज निरौला र तोयानाथ दाहालको लगानी छ। उद्योगको कारखाना चतरामा छ। त्यहाँ किसानबाट संकलित दूधबाट दही, मोही, घिउ, पनिरलगयात उत्पादन हुनेछ। 

बिक्री केन्द्र धरानमा खोलिएको हो। त्यसैगरी, ब्युटिसियन बन्न चाहनेलाई प्रशिक्षण दिन र पार्लरको सेवा दिन ब्युटी क्लिनिक खुलेको छ। धरान–१०, पुतली लाइनस्थित सिंहबाहिनी भगवती मन्दिरको व्यावसायिक भवनमा आर्या ब्युटी आर्ट एन्ड एकेडेमी सुरु भएको हो। ३२ लाख लगानीमा खुलेको एकेडेमीको मंगलबार धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले उद्घाटन गरिन्। उनले राम्रो तालिम र सेवा लिन धरानबाहिर जानुपर्ने बाध्यता हट्ने बताइन्।

एकेडेमीकी सिइओ सीता मिश्रका अनुसार ब्युटिसियन बन्न चाहनेलाई दक्ष एवं स्वरोजगार बनाउने उद्देश्यले एकेडेमी खुलेको हो।  एकेडेमीकी निर्देशक अनिशा दाहालले राम्रो तालिम र सेवा दिन दक्ष प्रशिक्षक, दक्ष ब्युटिसियनको टिम रहेको दाबी गरिन्। लकडाउन भएको बेला धरानका केही युवाले सुरु गरेको हरियो तरकारी र फलफूलको होम डेलिभरी व्यापारले अन्ततः ठूलो व्यवसायको स्वरूप लिएको छ।

लकडाउनले गर्दा तरकारी किन्न पनि नपाउने स्थिति बनेपछि धरानका १३ युवाले फेसबुक, इन्टाग्रामबाट प्रत्यक्ष अर्डर लिएर होम डेलिभरी सेवा सुरु गरेका थिए। गत असार १ बाट सुरु भएको सप अर्डर अहिले प्रालि बनेको छ। सप अर्डर प्रालिको पनि मंगलबार औपचारिक उद्घाटन भएको छ। धरानका प्रमुख तिलक राईले धरान १५ भानुमार्गस्थित कार्यालयको रिबन काटेर उद्घाटन गरे।  

उनले एउटा राजनीतिक पुस्तकको अर्डर पनि लिए। प्रालिका अध्यक्ष सुमन लिम्बुका अनुसार कम्पनीमा हाल ३५ जना सेयर होल्डर छन्। उनीहरू सबै ३५ वर्षमुनिका छन्। स्वदेशमै केही गरौं भन्ने भावनाले कम्पनी खडा गरेको उनले बताए। सप अर्डरले हरियो सागसब्जी, फलफूल र किराना आइटममा निःशुल्क सेवा दिइरहेको छ। मंगलबारदेखि विभिन्न रेस्टुरेन्टका खाना, विद्युतीय सामान, फैन्सी वेयर, खेलकुदका सामग्री र पुस्तकको पनि होम डेलिभरी सुरु गरेको छ।

प्रकाशित: ६ फाल्गुन २०७७ ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App