अर्थ

एक जोर लुगाको लोभमा पर्दा...

व्यक्तिको जग्गा किर्ते प्रकरण

अर्काको जग्गा किर्ते गरेर आफ्नो नाममा ल्याएका मुख्य अभियुक्त सहवीर कार्कीले एक जोर कपडाको लोभमा पर्दा आफू फसेको बयान दिएका छन्। पुर्पक्षका लागि थुनामा रहेका कार्कीले आफू काम गर्ने बाख्रा फर्मका सञ्चालक गणेशबहादुर बुढा, जग्गा कारोबारी सन्तोष ठाकुर र निर्मल पुरीले जग्गा नाममा ल्याउन सहयोग गरेबापत एक जोर नयाँ कपडा दिने प्रलोभन दिएको बताएका हुन्।

‘साहुले भनेपछि नाइँ भन्न सकिनँ,’ प्रहरीलाई दिएको बयानमा उनले भनेका छन्, ‘वाचा अनुसार नयाँ कपडा पनि किनिदिएनन्।’ कार्कीका अनुसार असार ५ गते तीनैजना वीरेन्द्रनगर–१ स्थित घरमा आएर जग्गा तपाईंको नाममा गरिदिन्छौं, त्यसबापत नयाँ कपडा किनेर दिन्छौं भनेका थिए। ‘असार ८ गते वडा कार्यालय, नापी र मालपोत कार्यालयमा पुर्‍याए,’ उनले बयानमा भनेका छन्, ‘एकै दिन जमिन मेरो नाममा आयो।’

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगर–१२ को करोडौं मूल्यको सौगात रावतको नाममा रहेको ३१११ कित्ता नम्बरको ६ कट्ठा जमिन असार ८ गते एकै दिन वडादेखि मालपोतसम्म फाइल पुर्‍याएर कार्कीको नाममा दर्ता गरिएको थियो। ‘आम सर्वसाधारणलाई जमिन किनबेच गर्न महिनौं समय लाग्छ,’ अनुसन्धान अधिकारीसमेत रहेका प्रहरी निरीक्षक कनकबहादुर शाहीले भने, ‘यो घटनामा भने एकै दिन वडादेखि मालपोतससम्मको काम सकेर जमिन नामसारी गरिएको छ।’  

पीडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले मालपोत कार्यालयका तत्कालीन प्रमुख लक्ष्मी खत्री, नायब सुब्बा विश्वरूप साउँद, खरदार दीपेन्द्र श्रेष्ठ, सुब्बा कमला सापकोटा, कृष्ण थापा, तिर्थ महतारा, कम्प्युटर अपरेटर सुनिल राना, नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापा, अमिन भिमलाल आचार्य, नापीका खरदार दीपेन्द्र पुलामी, जग्गा खरिदकर्ता सहवीर कार्की, कारोबारी सन्तोष ठाकुर, सुनिल राना, गणेशबहादुर बुढा, निर्मल पुरी, लेखनदास अम्मरसिंह कटुवाल, साक्षी चाँदनी वली, नारायणबहादुर बुढाक्षेत्रीसहित १९ जनाविरुद्ध ठगी र किर्तेमा मुद्दा दर्ता गरेको थियो।

तीमध्ये कार्की र कम्प्युटर अपरेटर राना पुर्पक्षका लागि थुनामा छन्। मालपोत कार्यालयका सुब्बा साउँद र खरदार दीपेन्द्र श्रेष्ठ जनही पाँच–पाँच लाख, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का कार्यबाहक अध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारी जनही दुई–दुई लाख र साक्षी बसेका चाँदनी वली र नारायण बुढाक्षेत्री दुई–दुई लाख धरौटीमा छुटेका छन्। अन्य सरकारी कर्मचारी र जग्गा कारोबारी भने फरार छन्।

प्रहरीका अनुसार बुढाको बाख्रा फर्ममा काम गर्ने कार्कीसँग वीरेन्द्रनगरमा एक टुक्रा जमिन किन्ने आर्थिक हैसियत छैन। दैलेखबाट मजदुरी गर्न झरेका उनी बुढाको सम्पर्कमा पुगेका थिए। जग्गा दलालहरूले असार ८ गते कार्कीको नाममा नामसारी गरेको जमिन त्यसको भोलिपल्टै अरूलाई बिक्री गरेका थिए।  

‘असार ९ गते फेरि मालपोत कार्यालय लगेर गए,’ कार्कीले दिएको बयानमा भनिएको छ, ‘माक्स लगाएका मालपोतका कर्मचारीले भनेको ठाउँमा ल्याप्चे लगाएर फर्किएँ।’ उनले मूल जग्गाधनीलाई आफूले नचिनेको बताएका छन्। ‘वडादेखि मालपोतसम्म कहीँ पनि मूल जग्गाधनी आएनन्, सबै काम बुढा, ठाकुर र गिरीले नै गरेका हुन्,’ उनले भनेका छन्, ‘वडा, नापी र मालपोतका कर्मचारीसँग पहिले नै मिलाएका रहेछन्, मैले ल्याप्चे र हस्ताक्षर मात्रै गरेको हुँ।’ प्रहरीका अनुसार आफू काम गर्ने फर्मका सञ्चालकको कुरा काट्न नसकेर कार्की यो अपराधमा संलग्न भएका हुन्।

प्रकाशित: २ फाल्गुन २०७७ ०५:५६ आइतबार

व्यक्तिको जग्गा किर्ते प्रकरण