अर्थ

चिनी उद्योगले उखु पाउनै छोडे

सरकारको उदासिनता र चिनी उद्योगीको दादागिरीको असर

नवलपरासीको सुस्ता स्थित भेली उद्योगमा क्रसिङकालागि राखीएका उखु र उखुको रस पकाएर भेली बनाइदै । तस्विर÷रेखा

एक दशक अघिसम्म पश्चिम नवलपरासीका किसानले ३२ लाख क्वीन्टलसम्म उखु उत्पादन गर्थे। जिल्लाका तीन वटा चिनी उद्योगले तीन महिना लगातार उखु क्रसिङ गर्थे अनी करिब २ लाख ८८ हजार क्वीन्टल चिनी उत्पादन हुन्थ्यो । तर चिनी उद्योगीको लगातारको दादागिरी र सरकारी उदासिनताले अहिले उखु किसानलाई मात्रै हैन चिनी उद्योगलाई पनि धरासायी बनाएको छ । 

उद्योगीको दादागिरीबाट आजित भएका किसानले उखु खेती मासेका छन । भएकाले पनि उद्योगलाई उखु दिनै छाडेका छन् । जसका कारण यहाँका तीन वटा चिनी मिल संचालन हुन सकिरहेका छैनन । सुस्तामा रहेको बाग्मती सुगर मिलले मंसिर दोश्रो साता देखि क्रसिङ सुरु गरेको थियो । तर प्रयाप्त उखु नपाएपछि एकसाता नहुँदै मिल बन्द गरीयो । क्रसिङको सूचना किसानका घरघरै पुर्‍याउँदा पनि अधिकांस किसानले भेली उद्योगलाई उखु बेचिदिए  । उखु नै नपाएपछि  उद्योग नियमित रुपमा चलाउन नपाएको बाग्मती सुगर मिलका महाप्रबन्धक टंकनाथ काफ्लेले बताए । दैनिक १५  हजार क्विन्टल उखु  क्रसिङ क्षमताको उद्योगले तीन महिनामा जम्मा २ लाख ४५ हजार क्विन्टल क्रसिङ गरेको छ । पोहोर यो उद्योगले ७ लाख ७० हजार  क्वीन्टल क्रसिङ गरेको थियो । ‘यसपाली उखु प्रयाप्त नपाएपछि  उद्योग बन्द गर्दै चलाउँदै गरेका छौं’ महाप्रबन्धक काफ्लेले भने । उनका अनुसार फुल फेजमा उद्योग चलाउन नपाउँदा उत्पादन लागत बढ्छ ।

नवलपरासीको सुनवलमा लुम्बिनी चिनी कारखाना र प्रतापपुरमा इन्दिरा सुगर मिल छ । यी दुइ उद्योग पोहोर चलेनन । यी उद्योगले दुइ बर्ष अघिकै उखुको भुक्तानी अझै पुरा दिएका छैनन । तीन बर्ष अघिकै भुक्तानी नदिएर सताएपछि किसानले पनि भएको उखु भेली  उद्योगलाई उखु बेचिदिए । इन्दिराले वर्षौदेखि किसानलाई प्रताडित गर्दै आएकाले प्रतापुर क्षेत्रका किसान रुष्ट भएको उखु किसान विश्वबन्धु यादवले बताए । ‘इन्दिराले किसानलाई साह्रै रुवायो । कहिल्यै समयमा पैसा दिएन । आफ्नै पैसा माग्दा हामीलाई नै धम्की दिइयो,धेरै सहयौं अब सहदैनौ’ यादवले भने ।

सुनवलको लुम्बिनी चिनी मिलको उधारो कारोबारले पनि किसान बर्षौदेखि पीडित छन । सरकारले तोकेको मूल्यसमेत नदिएर सताएपछि मिल गेट एरियाका किसानले उखु मासेर अन्य बाली लगाएका छन । सुनवलका किसान ज्ञानचन्द्र यादवले वर्षौसम्म भुक्तानी नपाएपछि सुनवलका किसानले उखु मासेर अन्य बाली लगाएको बताए । ‘धेरैले उखु मासीसके भएकाले पनि लुम्बिनीलाई उखु नदिने भनेर भेली उद्योगलाई बेचिदिए’ यादवले भने । २०७५ सालमा २ लाख क्वीन्टल बढी उखु क्रसिङ गरेको लुम्बिनीले यो वर्ष क्रसिङ गर्छु भन्दा पनि उखु पाएको छैन । मिल गेट एरियाको उखु मासिएपछि नवलपरासीकै प्रतापुर क्षेत्र र कपिलबस्तुबाट उखु ल्याउने तयारी छ । आफ्नो क्षेत्रमा उखु नपाएपछि उसले प्रतिक्वीन्टल ५२५ रुपँया नगदमा खरिद गर्ने भनेको छ । तर किसान भने अझैपनि उसलाइ उखु दिन राजी छैनन । लुम्बिनी चिनी उद्योगका महाप्रबन्धक केशव आर्चायले टाढाबाट ल्याउँदाको ढुवानी खर्च सहित प्रतिक्वीन्टल ५२५ रुपैँया नगदमा उखु खरिदको तयारी भइरहेको बताए ।

महाप्रबन्धक आर्चायले  उद्योगको स्वामित्व र व्यवस्थापन परिवर्तन भएकाले अव नयाँ योजनाका साथ गती लिने दावी गरे । ‘गुमेको विश्वासलाइ फर्काएर उखु खेती बिस्तारकालागि किसानसंग सहकार्य गर्दैछौं’ आर्चायले भने । मिल गेट एरीयाका किसानलाइ पुनः उखु खेतीमा फर्काउन सिड लोन अर्थात उन्नत बिउ कार्यक्रम सुरु गरेको जानकारी दिए । उद्योगले प्रदान गरेको बिउले उत्पादन दिन थालेपछि बिउ बराबरको परिमाण किसानले उद्योगलाई दिएपछि सिड लोन चुक्ता हुनेछ ।  

सरकार र चिनी उद्योग दुवैबाट ठगिएपछि किसानले धमाधम उखु खेती मासेका छन । पोहोर साढे ७ हजार हेक्टरमा लगाइएको उखु यो बर्ष घटेर जम्मा ५ हजार हेक्टरमा सिमित भएको छ । उखु लगाएकाहरुले पनि भेली बनाउने उद्योगलाइ उखु बेचेका छन । भेली उद्योगले प्रतिक्वीन्टल ५२० रुपैँया नगदमा उखु खरिद गरीदिए पछि किसानहरु त्यतातिर आकर्षित भएका हुन ।

उखु उत्पादन घट्दै जाँदा त्यसको असर चिनी उत्पादनमा पर्ने निश्चित छ । यस्तै अवस्था रहीरहे ३÷४ बर्षमा चिनी उद्योगहरु धरासायी हुने निश्चित छ । जसले २०७२ सालमै आत्मनिर्भर भएको भनिएको चिनी उत्पादनलाइ फेरि परनिर्भता तर्फ धकेल्ने छ ।

प्रकाशित: २९ माघ २०७७ ११:२० बिहीबार

उखु किसान