अर्थ

विद्युतको गुणस्तर सुधार्न माग

विद्युत्को गुणस्तर सुधार गर्न विराटनगरका उद्योगी, व्यवसायीले माग गरेका छन्। छिनछिनमा बिजुली कटौती हुन थालेपछि विराटनगरका उद्योगी, व्यवसायीले गुणस्तर सुधार गर्न प्राधिकरणका प्रदेश कार्यालय प्रमुखलाई आग्रह गरेका हुन्।  

बुधबार उद्योग संगठन मोरङले सरुवा भई प्रदेश १ का विभिन्न कार्यालयमा आएका कार्यालय प्रमुखहरूलाई स्वागत गर्दै प्रदेश १ मा बिनासूचना विद्युत् कटौती हुने समस्या रहेको गुनासो गरे। उद्योगीहरूले भोल्टेज तल–माथि भइरहने र ट्रिपिङको समस्याले हैरान बनाएको बताए। मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवनकुमार सारडाले हाई भोल्टेज, लो भोल्टेज र ट्रिपिङको समस्याले उद्योगी व्यवसायीलाई ठूलो क्षति पुगिरहेकाले यस्तो समस्या तत्काल समाधान गर्न आग्रह गरे। विगतमा लोडसेडिङले हैरान उद्योगी, व्यवसायीलाई अझै पनि विद्युत्को गुणस्तर सुधार नहुँदा समस्या भइरहेको सारडाको भनाई छ। ‘विद्युत्को गुणस्तर सुधार नहुँदा अझै पनि उद्योगहरूले नोक्सानी बेहोर्नु परिरहेको छ,’ सारडाले भने। 

उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदिप मुरारकाले छिनछिनमा लाइन गइरहने समस्याले विशेष गरी आइरन एन्ड स्टिल, पोलिमर लगायतका उद्योगहरूमा क्षति पुगिरहेको बताए। उनले विद्युत् वितरणमा देखिएको खराबी हटाएर गुणस्तरीय सेवा दिन प्राधिकरणलाई आग्रह गरे। उद्योगी सुवोध कोइरालाले ट्रान्सफर र युनिट मिटर परीक्षण गर्न अझै पनि हेटौंडा र काठमाडौं पुग्नुपर्ने बाध्यताले झन्झट र खर्च बढाइरहेको गुनासो गरे। उनले युनिट मिटर र ट्रान्सफर्मर परीक्षणको व्यवस्था प्रदेश स्तरमै गर्न आग्रह गरे। उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले गुणस्तरीय विद्युत् वितरण गर्न माग गरे। उनले विद्युत्को गुणस्तर कमजोर हुँदा औद्योगिक उत्पादकत्वमा ह्रास आउने बताए।  

विद्युत् प्राधिकरण प्रदेश कार्यालय विराटनगरका प्रमुख टेकनाथ तिवारीले प्रदेश १ मा पुरानै संरचनाबाट विद्युत् वितरण भइरहका कारण गुणस्तर सुधार्न समस्या भएको बताए। सडकहरू विस्तार हुने र विद्युत्का नयाँ संरचना तयार हुने क्रममा रहेकाले क्रमिक रूपमा गुणस्तर सुधार हुँदै जाने तिवारीले बताए। ‘पुरानो संरचनाले गुणस्तरीय विद्युत् वितरणमा समस्या भएको हो,’ उनले भने, ‘विभिन्न स्थानमा विद्युत्का नयाँ संरचना निर्माणको काम भइरहेका कारण क्रमिक रूपमा गुणस्तर सुधार हुँदै जानेछ।’ उनले ट्रान्सफर्मर र युनिट मिटर परीक्षणको काम प्रदेश स्तरमै गर्ने तयारी भइरहेको बताए।

प्रकाशित: २३ माघ २०७७ ०४:१४ शुक्रबार

विद्युतको गुणस्तर