प्रधानमन्त्री केपी शर्मा ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गरेका छन्। उनले सोही आयोजना अन्तर्गत कुश्मा नगरपालिका–२ खुर्कोटस्थित २२०/१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित २२०/१३२/३३ केभी सबस्टेसनको पनि उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले प्रसारण लाइन र दुई सबस्टेसनको बिहीबार काठमाडौंबाट भर्चुअल उद्घाटन गरेका हुन्।
कुश्मा भएको उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उपकार्यकारी निर्देशकहरू रामजी भण्डारी, दीर्घायुकुमार श्रेष्ठ, मनोज सिलवाल लगायत सहभागी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। उद्घाटन कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकबाट लोडसेडिङ अन्त्य भई नेपाल विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताए। विद्युत् उत्पादन र प्रसारणतर्फका निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि नेपाल छिमेकी देशलाई बिजुली बिक्री गरी आय आर्जन गर्न सक्षम हुने उनले बताए।
मन्त्री रायमाझीले प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेकाले अब दोस्रो खण्ड निर्माणमा केन्द्रित हुन प्राधिकरणलाई निर्देशन दिए।
कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियत ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो। करिडोरको दोस्रो खण्ड अन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ। कामु कार्यकारी निर्देशक शाक्यले कालीगण्डकी नदी बेसिनमा निर्माणाधीन र आगामी दिनमा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली प्रवाहका लागि प्रसारण लाइनको पूर्वाधार तयार भएको बताए। उनले दोस्रो खण्डको निर्माणलाई पनि तीव्रता दिन हरसम्भव प्रयास भइरहेको जानकारी दिए।
३९.६ किलोमिटर लम्बाइ भएको पहिलो खण्डको प्रसारण लाइनमा ११० वटा टावर छन्। प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको ४० मेगावाटको रघुगंगा जलविद्युत् आयोजनाले निर्माण गर्ने चारवटासहित यस खण्डमा ११४ वटा टावर रहने छन्।
दाना सबस्टेसनमा ३३.३३ एमभिएका तीनवटा र एउटा २५ एमभिएको एउटा पावर ट्रान्सफर्मरहरू जडान भएका छन्। खुर्कोट सबस्टेसनमा ३३.३३ एमभिएका तीनवटा गरी १००÷१०० एमभिएका ट्रान्सफर्मर जडान भएका छन्। यी सबस्टेसनमार्फत त्यस क्षेत्रमा पनि विद्युत् वितरण गरिने छ। प्रधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत अघि बढाइएको आयोजनाको पहिलो खण्ड र सबस्टेसन निर्माणका लागि टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक कम्पनीको संयुक्त उपक्रम (जेभी)सँग दुई अर्ब ७४ करोड रूपैयाँमा २४ अप्रिल २०१६ मा ठेक्का सम्झौता भएको थियो। कम्पनीले ३० मे २०१६ बाट निर्माण सुरु गरेको थियो। आयोजनाको परामर्शदाता पावर ग्रिड कर्पोरेसन अफ इन्डिया रहेको छ।
प्रकाशित: २३ माघ २०७७ ०३:४३ शुक्रबार