अर्थ

गाउँपालिकाको सेटिङमा व्यवसायीलाई ठेक्का

कमिसनको लोभमा निर्णय लत्याउँदै टेण्डर

शहिदलखन गाउँपालिकाको कार्यालय ।

१० लाख रुपैयाँको विकास निर्माणका कामको यसअघि अनलाईन मार्फत टेण्डर आह्वान ‘ईलेक्ट्रोनिक विडिङ सिस्टम’ (इविडिङ) गरेको शहीदलखन गाउँपालिकाले ४३ लाख रुपैयाँ सम्मको ठेक्का अहिले बिना ‘इविडिङ’ व्यवसायीलाई दिने अन्तिम तयारी गरेको छ ।

गाउँपालिका र निर्माण व्यवसायीको मिलेमतोमा २० लाख मुनीका पाँच र २० देखि ४३ लाख रुपैयाँसम्मका चारवटा ठेक्का बिना प्रतिश्पर्धा टेण्डर दाखिला भएको हो । गोरखाका अन्य स्थानीय तह भन्दा अगाडी आर्थिक वर्ष २०७४÷७५ मा पहिलो पटक ‘इविडिङ’ मार्फत टेण्डर आह्वान गर्न थालेको शहीदलखन गाउँपालिकाले अहिले कमिसनको लोभमा ‘इविडिङ’ नगरेको विषय व्यवासायीबीच बिवादित बनेको छ ।  

‘ईविडिङ’ भएर अनलाईन मार्फत ठेक्का दाखिला गर्न, फर्म खरिद गर्न पाएको भए व्यवसायीले जहाँबाट पनि टेण्डर दाखिला गर्न मिल्थ्यो । उक्त प्रावधान हटाएर गाउँपालिकाको कार्यालयमै पुगेर टेण्डर फर्म खरिद गर्नुपर्ने र दाखिला गर्न पनि गाउँपालिकामै पुग्नुपर्ने प्रावधानमा टेण्डर खुल्ला गरेको छ । जसका कारण व्यवसायीको सिन्डिकेट र मिलेमतोलाई गाउँपालिकाको निर्णयले प्रश्रय गरेको देखिन्छ ।  ‘यसवर्ष १० लाख माथिका योजना टेण्डर गर्ने निर्णय गाउँपालिकाले गरेको हो’ प्रमुख प्रशासकिय अधिकृत जिबनबहादुर आलेमगरले भने ‘यस अघि हामीले ‘ईविडिङ’ गरेका थियौ, तर यो पटक गरेनौं ।’  

‘इविडिङ’ किन गर्नुभएन ? भन्ने प्रश्नमा उनले स–साना व्यवसायीलाई उक्त प्रक्रियामा जाँदा समस्या हुने, कतिपय बेला ठेक्का नलाग्ने भएकाले अनलाईन प्रणाली मार्फत टेण्डर नगरेको आलेमगरले प्रतिक्रिया दिए । तर यो गाउँ सभाले गरेको निर्णय बिपरित भएको भन्दै आलोचना भएको छ । कमिसनको लोभमा कर्मचारीले गाउँ सभाको निर्णय लत्याउँदै टेण्डर मिलाउन खोजेपछि चौतर्फी आलोचना भएको छ ।  

पुस ९ गते ठेक्का आह्वान गरेको गाउँपालिकाको ठेक्का नम्बर ९ देखि १३ सम्मको पाँचवटा प्याकेज करिब १३–१३ लाख रुपैयाँको छ । नौ नम्बर प्याकेजको १९ वटा, १० को २० वटा, ११ को १९, १२ को २० र १३ नम्बर प्याकेजको १९ वटा टेण्डर फर्म बिक्री भएको शहीदलखन गाउँपालिका योजना शाखाका नायब शुब्बा सानुकाजी बस्नेतले बताए । ‘यी सबै प्याकेजमा तीन–तीनवटा फर्म मात्रै दाखिला भएको छ,’ उनले भने । टेण्डर फर्म खरिद गरेका व्यवसायी बीच नै लेनदेन भएपछि प्रक्रिया पुरा गर्न तीनवटा फर्म दाखिला गरिएको छ ।  

२१ लाख ५५ हजारको ठेक्का नम्बर १४ को प्याकेजको १७ वटा टेण्डर फर्म बिक्री भएको छ । २५ लाख ८५ हजारको १५ नम्बर प्याकेजको १७ वटा बिक्री भएको नायब सुब्बा बस्नेतले बताए । ठेक्का नम्बर १६ को ४३ लाख १० हजारको प्याकेजको १६ र ठेक्का नम्बर १७ को २१ लाख ८८ हजार प्याकेजको १५ वटा फर्म बिक्री भएको गाउँपालिकाले जनाएको छ । यी चारवटा प्याकेजमा एक–एक जना व्यवसायीले मात्रै अन्तिम ठेक्का दाखिला गरेका छन् । गोरखकाली ब्रर्दस कन्ट्रक्सन, बस्चुल निर्माण सेवा, कल्याण निर्माण सेवा एण्ड सप्लायर्स र कृतिका निर्माण सेवाले १४ देखि १७ नम्बरको प्याकेजमा एकलौटी फर्म दाखिला गरेका छन् । ‘हामी दाखिला भएको फर्मको मूल्यांकन गर्दैछौं’ प्रमुख प्रशासकिय अधिकृत आले मगरले भने ।  

बिक्री भएका फर्म मध्ये एक–एक वटा मात्रै दाखिला भएपछि ती फर्मले काम पाउने पक्का देखिन्छ ।  काम पाउने पक्का भएका फर्मले टेण्डर दाखिला गर्ने दिन यसअघि फर्म खरिद गरेको व्यवसायीलाई गाउँपालिका नजिकै बसेर २५ हजार देखि एकलाख सम्म बाँडेको एक स्थानीयले बताए । फर्म खरिद गरेकालाई एकै ठाउँमा जम्मा गर्ने, आर्थिक लेनदेनमा मिल्ने मिलाउने कामको नेतृत्वमा निर्माण व्यवसायीले गर्ने गर्छन ।  

‘टेण्डर प्रतिश्पर्धामा जाँदा ५० प्रतिशतसम्म कम दररेटमा राख्छन्,’ एक व्यवसायीले भने ‘मिलेमतो भएपछि १० प्रतिशत रकम बितरण गर्ने, पाँच देखि १० प्रतिशत गाउँपालिकालाई पनि हुने भएपछि यो मिलेमतो भएको हो ।’ यती धेरै फर्म बिक्री हुने र एउटा मात्रै दाखिला भएको विषयमा गाउँपालिकाका कर्मचारी अनभिज्ञता प्रकट गर्छन् । 

प्रकाशित: २२ माघ २०७७ ०६:५४ बिहीबार

शहीदलखन गाउँपालिका