अर्थ

बैंकबाट ऋण लिँदै सेयरमा लगाउँदै

अघिल्लो दिन ६५ बिन्दुले बढेको पुँजी बजार परिसूचक मापक नेप्से बुधबार २४६६.९२ बिन्दुमा कायम भयो। नेप्से सोही दिन २५०० बिन्दु पार गरेर पुनः २४६६.९२ बिन्दुमा झरेको हो।  

नेपाली सेयर बजारको इतिहासमा नेप्से अहिलेसम्म २५०० बिन्दुमा पुग्न सकेको छैन। त्यस्तै, यस दिन नौ अर्ब ५३ करोड रूपैयाँको सेयर कारोबार भयो। केही समयअघि करोडमा कारोबार हुने गरेको सेयर बजारमा यतिखेर २–४ अर्ब रूपैयाँको कारोबार सामान्य लाग्न थालेको छ।  

यति मात्र नभई अहिले सेयर बजारमा प्रवेश गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने क्रम पनि त्यत्तिकै बढेको छ। सेयरमा आकर्षित हुने क्रम बढ्दै जाँदा यतिखेर २६ लाखभन्दा बढीले डिम्याट खाता खोलिसकेका छन्। अझै डिम्याट खाता खोल्ने क्रम जारी छ।  

त्यस्तै, दोस्रो बजारले हरेक दिनजसो नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। यो रेकर्ड कहिलेसम्म कायम रहन्छ भन्नेबारे अन्योल छ। लगानीकर्ता अझै सेयर बजारमा हरियाली छाइरहने दाबी गर्छन्।  

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार सेयर बजारको वृद्धि केही समय कामयै रहने बताउँछन्। उनले चार वर्षअघिको तुलनामा बैंकिङ समूह अझै वृिद्ध हुन नसकेको बताए। ‘बैंकले सस्तो ब्याजमा कर्जा दिइरहेकाले दोस्रो बजार निरन्तर बढिरहेको हो,’ उनी भन्छन्, ‘यतिखेर बैंक तथा वित्तीय संस्थाले लगानीका अन्य क्षेत्र फेला नपार्दा सेयर बजारले वृद्धि हुने मौका पाइरहेको छ।’  

भारतलगायत विदेशमा पनि सेयर बजार बढिरहेकाले लगानीकर्ताको मनोबल बढेको उनको भनाइ छ। कतिपय लगानीकर्ता भने सेयर बजार सधैं नबढ्ने भएकाले लगानी गर्दा ध्यान दिन आग्रह गर्छन्। ‘राम्रा कम्पनीको मूल्य बढेको बेला नराम्रा कम्पनीको पनि मूल्य बढेको हुन्छ,’ रौनियारले भने, ‘त्यसैले कुन कम्पनी राम्रो हो वा होइन विशेष रूपमा ध्यान दिनुपर्छ।’  

सेयर कारोबार बढ्दै गर्दा बैंक तथा वित्तीय कम्पनीले सेयर कर्जा पनि वृद्धि गर्दै लिएको पाइएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म बैंकहरूले १८ अर्ब रूपैयाँ सेयरमा लगानी गरेका छन्। पुसमा अझै सेयर लगानी बढेको अनुमान गरिएको छ।  

कोरोना महामारीका कारण बैंक तथा वित्तीय संस्थाले लगानीका क्षेत्र फेला नपर्दा सेयर कर्जालाई सजिलो बनाएको छ। साढे आठ प्रतिशत ब्याजमा बैंकहरूले सेयर कर्जा दिन थालेपछि नयाँ नयाँ लगानीकर्ता बैंकबाट कर्जा लिएर लगानी गर्न थालेको लगानीकर्ता बताउँछन्।  

असोज महिनादेखि सेयर कारोबार गर्न थालेको बताउने रश्मिला श्रेष्ठले बैंकले तीन दिनमै कर्जा दिन थाल्दा सेयर कारोबार गर्न सहज भएको बताउँछिन्। बैंकरहरू उत्पादनमूलक र पूर्वाधार क्षेत्रबाट कर्जा लगानीका लागि त्यति माग बढ्न नसकेको बेला सेयर कर्जाको माग बढ्नुलाई सकारात्मक भएको बताउँछन्।  

‘सेयरमा दिइएको कर्जा सधैंलाई होइन,’ एक बैंकरले नागरिकसँग भने, ‘छोटो समयलाई भए पनि यस्तो कर्जाले अर्थतन्त्रलाई गतिशील नै बनाउँछ।’ धेरैजसो बैंकहरूको चाहना भन्दा पनि अहिलेको परिस्थितिले गर्दा सेयर कर्जा वृद्धि भइरहेको उनको भनाइ छ।  

राष्ट्र बैंकका प्रवक्ता भट्ट नेपालको सेयर बजार परिपक्व हुन वास्तविक क्षेत्रको सहभागिता बढाउन आवश्यक रहेको बताउँछन्। कतिपय पुराना लगानीकर्ता बैंकबाट जथाभावी कर्जा लिएर सेयरमा लगानी गर्दा जोखिम पनि उत्तिकै छ भन्ने कुरा बुझ्न आवश्यक रहेको बताउँछन्।  

‘सेयरमा लगानी गर्ने जतिले कमाउँदैनन्, गुमाउने पनि थुपै्रै छन्,’ उनले भने, ‘त्यसैले लहलहैमा नलागौं।’ छिमेकी मुलुक भारत, चीनको जनसंख्या र ती मुलुकका लगानीकर्ता तथा नेपालको जनसंख्या र लगानीकर्ताबीच तुलना गर्दा नेपालमा सेयर कारोबार गर्नेको संख्या बढी रहेको उनको भनाइ छ।

प्रकाशित: २२ माघ २०७७ ०६:३६ बिहीबार

बैंक ऋण सेयर