अर्थ

सिङ्गटी हाइड्रोपावरमा शेयर हाल्ने समयावधि थप

दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरेको शेयर हाल्ने समयावधि थप गरेको छ ।      

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको सिङ्गटी हाइड्रोमा प्रभावित क्षेत्रका स्थानीयवासीका लागि यही माघ ४ देखि माघ १८ गतेसम्म साधारण शेयर निष्कासन गरेको थियो । पहिलो चरणमा स्थानीयवासीले शेयर भर्नका लागि धेरै छुटेको भन्दै कम्पनीले आइतबारदेखि १५ दिनसम्म म्याद थप गरेको छ ।      

प्रभावित क्षेत्र कालिन्चोक गाउँपालिका र विगु गाउँपालिकाका नागरिकले आगामी फागुन २ गतेसम्म शेयर आवेदन गर्नका लागि समय थप गरेको कम्पनीले जनाएको छ । प्रतिसाधारण शेयर रु १०० अङ्कित दरका १४ लाख ५० हजार कित्ता शेयर कम्पनीले निष्कासन गरेको थियो । स्थानीयवासीले न्यूनतम १० कित्तादेखि दुई लाख कित्तासम्म आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ ।      

यही माघ १८ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था रहेकामा काठमाडौँलगायत विभिन्न क्षेत्रमा रहेकाले शेयर हाल्न छुटेको र कम्पनीले जारी गरेअनुसार आवेदन नपरेको हुँदा फागुन २ गतेसम्म आवेदन गर्न सकिने गरी समय थप गरेको हो । दोलखामा निर्माण भएको २५ मेगावाटको जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधरणका लागि कम्पनीको ३० प्रतिशत शेयर छुट्याएको छ ।      

प्रभावित क्षेत्रका स्थानीयवासीका लागि शेयर बाँडफाँट हुनासाथ सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ । कम्पनीले शेयर निष्कासन तथा बाँडफाँट गर्नका लागि मेघा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । स्थानीयवासीलाई शेयर हाल्नका लागि आयोजनाको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेघा क्यापिटलले जिल्लाको सिङ्गटी, वावरेलगायत आयोजनास्थलमा समेत व्यवस्था मिलाएको छ । प्रभावित क्षेत्रका स्थानीयवासी बैंकको पहुँचबाट टाढा रहेको हुँदा हरेक नागरिकलाई समेट्ने उद्देश्यले ती क्षेत्रमा शेयर आवेदन गर्नका लागि व्यवस्था मिलाइएको कालिन्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताए।      

सिङ्गटीमा निर्माण गरेको २५ मेगावाटको सो आयोजना निर्माण कार्यसम्पन्न भइसकेको छ। निर्माण सम्पन्न गरी परीक्षणसमेत भइसकेको हाइड्रो १३२ केभीको सिङ्गटी लामोसाँगु राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य पूरा नभएका कारण विद्यत् प्रसारण लाइनमा जोडिन सकेको छैन। प्रसारण लाइनको पर्खाइमा रहेको उक्त आयोजना विद्युत् सङ्कटका बेलामा सरकारद्वारा विद्युत् सङ्कट निवारणका लागि छनोटमा परेको आयोजना हो। रासस    

     

 

 

प्रकाशित: १९ माघ २०७७ १३:०९ सोमबार

सेयर