अर्थ

इनर्जी ड्रिंक्सः आयातमा प्रतिबन्ध बजारमा छ्याप्छ्याप्ती

इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्।

सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्रिंक्सको आयात रोकेको थियो। विभिन्न व्यावसायिक संघ–संस्थाको आग्रहमा एलसी खोलेर मगाइसकेको सामान भने ल्याउन अनुमति दिइयो। सरकारले प्रतिबन्ध लगाएको १९ महिना भएको छ। प्रतिबन्धपछिको आर्थिक वर्ष ०७६/७७ मा अघिल्लो वर्षको तुलनामा एक चौथाइमात्र आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। उक्त तथ्यांक प्रतिबन्ध लाग्नुअघि एलसी खोलिसकेको इनर्जी ड्रिंक्सको हो। भारतबाहेक तेस्रो मुलुकबाट चलान भएको सामान नेपाल भित्रिन ३० देखि ४५ दिन लाग्छ। अर्थात् करिब १५ महिनायता विदेशमा उत्पादित इनर्जी ड्रिंक्स एक थोपा पनि आधिकारिक च्यानलबाट आएको छैन।

विभागका अनुसार आव २०७५/०७६ मा दुई अर्ब ३९ करोडको इनर्जी ड्रिंक्स आयात भएकोमा गत आवमा ५३ करोडको मात्र भित्रिएको छ। यो वर्षको पहिलो ६ महिनामा आयात देखिँदैन। आयातमा प्रतिबन्ध भए पनि अहिले बजारमा विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै किन्न पाइन्छ। १९ महिनाअघि आयातमा प्रतिबन्ध लागिसकेको इनर्जी ड्रिंक्स बजारमा भेटिएको आन्तरिक बजार नियमन गर्ने अख्तियारी पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी पनि स्विकार्छन्। ‘अहिलेसम्म विदेशी इनर्जी ड्रिंक्स बजारमा भेटिइरहेको रिपोर्ट हामीकहाँ आएको छ,’ महानिर्देशक सुवेदीले नागरिकसँग भने, ‘यस विषयमा सचिवस्तरमै कुरा उठेको छ।’

धेरैअघि आयातमा प्रतिबन्ध लागेको वस्तु बजारमा नभेटिनुपर्ने उनी बताउँछन्। ‘अहिलेसम्म स्टक नरहनुपर्ने हो,’ उनले भने। विगतमा यसको आयातमा संलग्न ठूला व्यवसायीहरू आफ्नो स्टक उहिल्यै सकिएको बताउँछन्। बिहीबार खुद्रा पसलमा रेडबुल ब्रान्डको इनर्जी ड्रिंक्स खरिद गर्दा उत्पादन मिति २०१९ सेप्टेम्बर २१ उल्लेख थियो। यो नेपालले आयातमा प्रतिबन्ध लगाउनुभन्दा तीन महिनापछि उत्पादित सामान हो। रेडबुल आयात गर्ने कम्पनीका अधिकारीले आफ्नो मौज्दात पहिल्यै सकिएको बताए। रेडबुल एउटा उदाहरण मात्र हो। अरू इनर्जी ड्रिंक्सको अवस्था पनि यस्तै हो।

महानिर्देशक सुवेदी प्रतिबन्धित इनर्जी ड्रिंक्स अर्कै वस्तुको आवरणमा भन्सारबाटै भित्रिएको आशंका गर्छन्। तर आयातकर्ता व्यवसायी प्रतिबन्धित वस्तु वैधानिक बाटोबाट भित्रिने सम्भावना नहुने बताउँछन्। ‘भन्सारकै बाटो भित्र्याउने भनेको झुक्याएर हो। अर्कै वस्तु भनेर ल्याउँदा मात्र त्यो सम्भव हुन्छ। तर एलसीलगायत थुप्रै प्रक्रिया पूरा गरेर ल्याउँदा त्यस्तो सम्भावना देखिँदैन,’ आयात निर्यातकर्ता व्यापारीहरूको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव मदन मित्तलले भने, ‘थोरै परिमाणमा भए झुक्याउन सम्भव होला, कन्टेनरमा ल्याउने सामानमा त्यस्तो सम्भावना म देख्दिनँ। आधिकारिक रूपमा सामान ल्याउँदा धेरै प्रक्रिया पूरा गर्नुपर्छ।’

उनले बजारमा भेटिएको प्रतिबन्धित इनर्जी ड्रिंक्स अवैध बाटोबाट आएको हुन सक्ने आशंका गरे। ‘खुला सीमा छ, तस्करीमार्फत भित्रिएको हुन सक्छ,’ उनले भने, ‘छिमेकी भारतमा इनर्जी ड्रिंक्समा प्रतिबन्ध छैन।’

महानिर्देशक सुवेदीले अवैध कारोबार रोक्ने जिम्मेवारी वाणिज्य विभागको नभए पनि अनुगमनका क्रममा ठूलो परिमाणमा विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स भेटिएकाले निगरानी गर्न निर्देशन दिएको बताए। ‘अवैध आयात रोक्ने काम हाम्रो जिम्मेवारीमा पर्दैन, ठूलो परिमाणमा भेटियो भने हेर्नु भन्ने गरेका छौं,’ महानिर्देशक सुवेदीले भने।

सरकारले प्रतिबन्ध लगाए पनि बजारमा पर्याप्त आइरहने वस्तु इनर्जी ड्रिंक्स मात्र होइनन्। अहिले मुलुकमा दैनिक १० किलो सुनमात्र बैंकमार्फत आयात हुन्छ। बजारमा दैनिक ३० देखि ४० किलो सुन खपत हुने गरेको नेपाल सुनचाँदी व्यवसायी बताउँछन्। तर बजारमा सुनको अभाव छैन। खुद्रा बजारमा चाहिएजति सुन सजिलै किन्न पाइन्छ।

छोकडा अर्को उदाहरण हो। सन् २०१९ को अगस्टताका पाकिस्तानले भारतमा छोकडा निर्यात रोक्यो। त्यसलगत्तै नेपालमा छोकडाको आयात ह्वात्तै बढेको तथ्यांक छ। भन्सार विभागका अनुसार आव २०७५/०७६ मा ताजा तथा सुकेको छोकडा २८ लाख ६६ हजार ५ सय ८१ केजी आयात भएको थियो। गत आवमा यसको आयात बढेर तीन करोड १७ लाख सात हजार केजी नाघ्यो। अघिल्लो वर्ष २८ लाख केजी खपत भएको बजारमा लगत्तै पछिल्लो वर्ष तीन करोड केजी खपत भयो भन्न सकिने आधार छैन। त्यो छोकडा अनधिकृत बाटो हुँदै भारत गएको आशंका छ। अस्वाभाविक आयात बढेपछि सरकारले छोकडा आयातमै प्रतिबन्ध लगाएको छ।

सुपारी, केराउ, कालो मरिचजस्ता वस्तु पनि मुलुकमा खपत हुनेभन्दा कैयौं गुणा बढी भित्रिएसँगै सरकारले आयातमा प्रतिबन्ध लगाइसकेको छ। गत चैतमा लकडाउनसँगै विदेशी मदिरा आयातमा पनि प्रतिबन्ध लागेको थियो। नेपालमा प्रतिबन्ध लागेपछि चोरबाटोबाट विदशी मदिरा भित्रिएको निष्कर्षसँगै अहिले प्रतिबन्ध फुकुवा छ।

बजारको मागअनुसार स्वदेशमै उद्योग खोल्न प्रोत्साहन गर्न सरकारले इनर्जी ड्रिंक्स आयातमा प्रतिबन्ध लगाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीले बताए। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पनि स्वदेशी उद्योगलाई आधारभूत संरक्षण दिने उद्देश्यले इनर्जी ड्रिंक्स आयातमा प्रतिबन्ध लगाएको बताएका थिए।

पूर्वसचिव अधिकारीले भनेजस्तै अहिले स्वदेशमै इनर्जी ड्रिंक्स उत्पादन हुन थालिसकेको छ। विश्वचर्चित विदेशी ब्रान्ड भने अनधिकृत रूपमा आइरहेका छन्। इनर्जी ड्रिंक्सको अनधिकृत आयातले राजस्व पनि गुमिरहेको छ। इनर्जी ड्रिंक्सको आयात उत्कर्षमा पुगेको आव २०७५/०७६ मा एक अर्ब ६७ करोड ६६ लाख रूपैयाँ राजस्व असुली भएको थियो।

निकासी पैठारी संघका महासचिव मित्तल जनस्वास्थ्यमा प्रतिकूल असर नगर्ने वस्तुको आयातमा लागेको प्रतिबन्ध हटाउनुपर्ने सुझाउँछन्। ‘खुला सीमा रहुन्जेल प्रतिबन्धले काम गर्दैन। उल्टो सरकारले पाउने राजस्व गुम्छ, अवैध व्यापारले प्रोत्साहन पाउँछ, गुणस्तरहीन सामग्री भित्रिन्छ,’ उनले भने, ‘नेपाली बजारमा इनर्जी ड्रिंक्स नपाउँदा विदेशी पर्यटकमाझ नराम्रो सन्देश जान सक्छ।’ पर्वतारोहण, पदयात्रा, खेलकुदजस्ता उद्देश्यले नेपाल आउने विदेशीलाई इनर्जी ड्रिंक्स नभई नहुने र उनीहरूले ब्रान्डेड सामान नै खोज्ने हुँदा यसको आयातमा लगाइएको प्रतिबन्धले अन्तर्राष्ट्रिय जगत्मा नकारात्मक सन्देश जान सक्ने आशंका मित्तलको छ।

प्रकाशित: १६ माघ २०७७ ००:३८ शुक्रबार

विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स आयातमा प्रतिबन्ध