अर्थ

चन्द्रागिरि हिल्सको सेयर भर्नेलाई केबलकारमा छुट

चन्द्रागिरि हिल्स लिमिटेडको ११औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारणसभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो।  

यही साधारणसभाको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सम्पूर्ण आवेदकलाई केबलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ। कम्पनीको साधारण सेयरप्रति सर्वसाधारणले ठूलो विश्वास देखाएको तर सबैलाई सेयर पर्ने सम्भावना न्यून रहेको हुँदा सम्पूर्ण आवेदकको सम्मान गर्दै यो योजना सार्वजनिक गरिएको कम्पनी अध्यक्ष ढकालले जानकारी दिए। 

स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि खुला गरिएको सेयरमा आवेदन दिने १२ लाख ५६ हजार सात सय ४६ आवेदकले सेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्ने कम्पनीले जनाएको छ। यो योजना आगामी माघ ५ देखि १ वर्षसम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ। 

प्रकाशित: २ माघ २०७७ ०२:४१ शुक्रबार