अर्थ

वैदेशिक रोजगारीमा ठगीः पीडित उजुरी गर्छन् सम्पर्कमा आउँदैनन्

कुवेत पठाउने भन्दै चार महिलालाई भारतको नयाँ दिल्लीको होटलमा १५ दिन राखेर शारीरिक, आर्थिक र मानसिक शोषण गरेको आरोप लागेका मोरङ, कटहरी–९ का राजेशकुमार चौधरी पक्राउ परेको एक महिनाभन्दा बढी भइसक्यो।  

रोजगारीका लागि कुवेत पठाउने आश्वासन दिए पनि चौधरीको उद्देश्य दिल्लीमै ती महिलालाई बेचबिखन गर्ने रहेको खुलेपछि सहयोगी संस्थाको पहलमा उनीहरूको उद्धार गरिएको थियो। उद्धार गरेर काठमाडौं ल्याइएपछि ती महिलाले चौधरीविरुद्ध २०७२ माघ २९ मा प्रहरीमा निवेदन दिएका थिए।  

सोही निवेदनको आधारमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले चौधरीलाई काठमाडौंबाट पक्राउ गरेको हो। ‘निकै मेहनतका साथ अभियुक्त पक्रन सफल भए पनि जाहेरवालालाई सम्पर्कमा ल्याउन सकेका छैनौं,’ ब्युरोका प्रहरी निरीक्षक सुवास केसीले भने, ‘दरखास्तमा उल्लेख गरिएका मोबाइलमा सम्पर्क हुन सक्दैन। घर ठेगानामा खोजी गर्न लगाउँदा भेटिँदैनन्।’

उजुरीकर्ता सम्पर्कमा नआएपछि प्रहरीलाई अभियुक्तविरुद्ध मुद्दा अघि बढाउन अन्योल भएको छ। अभियुक्तविरुद्ध मुद्दाको प्रक्रिया अघि बढाउँदा पीडितले सनाखत गर्नुपर्ने कानुनी व्यवस्था छ। प्रहरी अधिकृतका अनुसार पीडितको बयान नलिई अघि बढाइएको मुद्दालाई अदालतले राम्रोसँग हेर्दैन। ‘पीडित सम्पर्कमा नआउँदा वर्षौंको मेहनतपछि फेला परेका आरोपीले उन्मुक्ति पाउने खतराले चिन्तित छौं,’ ती अधिकृतले भने।  

दाङ, ढिकरपोखरी–५ का ४५ वर्षीय सविन साहविरुद्ध रोजगारीका लागि कुवेत र दुबई लैजाने बहानामा दिल्ली पुर्‍याएर महिलालाई शारीरिक, आर्थिक र मानसिक शोषण गरेको आरोपमा १० जाहेरी परेका छन्।  

२०७३ जेठ २८ देखि साउन २२ सम्म गुल्मी, झापा, खोटाङ र सुनसरी घर भएका ती महिलालाई शोषण गरेको आरोप साहमाथि छ। उद्धारपछि फर्केका ती महिलाले दिएको जाहेरीको आधारमा केही दिनअघि ब्युरोले साहलाई पक्राउ गरेको हो। अहिले साहविरुद्ध उजुरी दिने महिला सम्पर्कमा छैनन्।  

पीडित भनिएका महिलाले प्रहरीमा दिएको उजुरीमा साहले दिल्लीमा १८ दिन राखेर शारीरिक र मानसिक शोषण गरी १० महिलासँग प्रतिव्यक्ति दुई लाख रूपैयाँका दरले असुल समेत गरेको आरोप छ।  

स्वदेशमा रोजगारीको अवसर नपाएपछि विदेश जान खोजेका महिला दलालको फन्दामा पर्ने क्रम जारी रहे पनि उजुरीकर्ता सम्पर्कमा नआउँदा अभियुक्तलाई कानुनी दायरामा ल्याउन कठिन भइरहेको प्रहरी अधिकारीहरूको गुनासो छ।

‘उजुरी दिने तर सम्पर्कमा नआउने कारण अभियुक्तलाई थप अपराध गर्न प्रोत्साहन मिलेको छ भन्ने उदाहरण १० वटा अभियोग लागेका सविन साह हुन्,’ केसीले भने, ‘किनकि उनीविरुद्ध मानव बेचबिखनको आरोपमा १० वटा उजुरी परिसकेको छ। उजुरी परेकै बेला कारबाही गर्न सकेको भए एकातिर अपराध कार्यमा संलग्न व्यक्ति कानुनी दायरामा आउन सक्ने र अर्कोतर्फ मानव बेचबेखिनजस्ता जघन्य अपराधका घटनामा कमी आउने आउन सक्थ्यो।’

विज्ञहरू मानव बेचबिखनजस्ता गम्भीर अपराध गरेका व्यक्तिविरुद्ध सुरुमा उजुरी पर्ने तर पछि सम्पर्कमा नआउनुको मुख्य कारणमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन र वैदेशिक रोजगार ऐनबीच तारतम्य नमिल्नुलाई लिन्छन्।  

श्रमविज्ञ तथा अधिवक्ता सोम लुइँटेल मानव बेचबिखन र वैदेशिक रोजगार ऐनबीचको अन्तरलाई समाधान गर्न सकियो भने अहिलेको समस्या अन्त्य हुने बताउँछन्। मानव बेचबिखन ऐनमा दोषीलाई २० वर्षसम्म सजाय हुने प्रावधान छ। तर वैदेशिक रोजगार ऐनमा पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था छ। मानव बेचबिखन ऐन आकर्षित हुँदा पीडितले क्षतिपूर्ति नपाउने र वैदेशिक रोजगार ऐन आकर्षित हुँदा पीडकलाई कम सजाय हुने अहिलेको कानुनी व्यवस्थाले वैदेशिक रोजगारीको नाममा हुने ठगीलाई सम्बोधन गर्न नसेको सम्बद्ध अधिकारीको भनाइ छ। ‘पछिल्लो समयमा वैदेशिक रोजगारीको नाममा हुने ठगीको रूपमा पनि परिवर्तन भएकाले विद्यमान यी दुई ऐन (मानव बेचबिखन र वैदेशिक रोजगार) बीच तारतम्य मिलाउन जरूरी छ,’ लुइँटेलले भने।  

छुट्टाछुट्टै रूपमा हेर्दा विद्यमान दुई ऐन पीडितमैत्री देखिन्छन्। तर वैदेशिक रोजगारीको नाममा ठगीका रूप बदलिएकोले यी दुवै ऐनलाई मिलाएर अर्को बनाउनुपर्ने आवश्यकता देखिएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनमा अभियोग ठहरे पीडकलाई २० वर्षसम्म सजाय हुने व्यवस्था छ। वैदेशिक रोजगारीको नाममा ठगी प्रमाणित भए बिगोको डेढ गुनासम्म क्षतिपूर्ति दिनुपर्ने प्रवधान वैदेशिक रोजगार ऐनमा छ।  

ब्युरोका अनुसार हालसम्म मानव बेचबिखन आरोपमा एक सय ३८ उजुरी दर्ता भएकोमा १९ उजुरीकर्ता भेटिएका छैनन्। ती उजुरीकर्ता नभेटिए पनि आरोपीलाई भने पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित: २ माघ २०७७ ०२:१६ शुक्रबार

वैदेशिक रोजगारीमा ठगी पीडित