अर्थ

गोरखामा देशकै पहिलो वातावरणमैत्री इँट्टा उद्योग

गोरखाको च्याङ्लीमा देशकै पहिलो वातावरणमैत्री इँट्टा उद्योग सञ्चालनमा आएको छ। उक्त उद्योगमा सिमेन्ट र माटोको मिश्रणबाट अत्याधुनिक कोरियन प्रविधिमा बिजुलीको माध्यमबाट इँट्टा तयार गरिन्छ। यसरी इँट्टा तयार गर्दा परम्परागत भट्टामा पोलेको जस्तो धुवाँ, धुलो हुँदैन।  

पाँचजना मिलेर तीन करोड लगानीमा २५ रोपनी जग्गा भाडामा लिएर उद्योग सुरु गरेका हुन्। ‘पहिले चिम्नीवाला इँट्टाभट्टा खोल्ने योजना थियो,’ सञ्चालक हरेराम श्रेष्ठले भने, ‘वातावरण प्रदूषण हुने भएपछि वातावरणमैैत्री प्रविधि नेपालमा पनि भित्र्याउने योजना सहित हामीले सुरु गर्‍यौं।’ नेपालमा पहिलोपटक गोरखा इनोटेक प्रालिले गोरखाको पालुङटार नगरपालिका च्याङ्लीमा यो प्रविधिको उद्योग सुरु गरेको हो।  

पाँचजना कामदार अहिले उद्योगमा छन्। दैनिक आठदेखि १२ हजार इँट्टा उद्योगले तयार गर्छ। ‘फुल फेजमा उद्योग चलाउने हो भने प्रतिघन्टा तीन हजारभन्दा बढी तयार गर्न सकिन्छ,’ सञ्चालक विकास श्रेष्ठले भने। परम्परागत भट्टाबाट इँट्टा पोल्ने उद्योगलाई वातावरणमैत्री नभएको, जंगल, बस्तीको छेउमा राख्दा पर्यावरणीय दृष्टिकोणले उपयुक्त नहुने भन्दै घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन अनुमति दिँदैन। ‘हामीले बिजुलीबाट इँट्टा बनाउँदा भट्टामा दाउराले पोलेको भन्दा फरक प्रविधिबाट तयार गर्छौं,’ सञ्चालक श्रेष्ठले भने।  

एउटा इँट्टा दुई हजार ६ सय ग्रामको हुन्छ। सिमेन्ट १० र ९० प्रतिशत माटाको मिश्रणबाट इँट्टा तयार गरिन्छ। मेसिनबाट तयार भएको इँट्टा दुई साता राखेपछि सहजै ढुवानी गर्न मिल्छ। कम फुट्ने, चिल्लो आकारको बलियो इँट्टा तयार हुने सञ्चालक हरेराम श्रेष्ठले बताउँछन्। उद्योगले प्रतिगोटा १४ रूपैयाँमा बिक्री गर्दै आएको छ। ‘सबै इँट्टा एउटै आकार, एउटै गुणस्तरको हुन्छ,’ उनले भने। ब्लक, इन्टरब्लक, इँट्टा उद्योगले तयार गर्दै आएको छ।

२०७६ चैतदेखि उद्योग सञ्चालन गर्ने तयारी गरे पनि कोभिडका कारण गत मंसिरबाट मात्र सुरु भएको सञ्चालक विकास श्रेष्ठले भने। ‘ल्याबमा परीक्षण गराएका छौं, इँट्टाको बलियोपन ३.५ हुनुपर्छ भन्ने मान्यता छ,’ उनले भने, ‘तर हाम्रो प्रविधिबाट तयार गरेको इँट्टाको बलियोपन आठ प्रतिशत छ।’ इँट्टा प्रयोग गरेको ठाउँमा आकार राम्रो देखिने, थोरै इँट्टा लाग्ने, लेउ नलाग्ने हुँदा मेसिनबाट तयार भएको इँट्टा प्रयोग गर्न पनि सजिलो रहेको सञ्चालकहरूको बताउँछन्।  

‘यो प्रविधिबाट इँट्टा तयार हुँदा वातावरणमा खासै प्रभाव पर्दैन,’ घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश पौडेलले भने, ‘सबै उद्योगहरू वातावरणमैत्री हुनुपर्छ। विस्तारै प्रविधिमा जानुको विकल्प छैन।’ विद्युत्बाट चल्ने उद्योगलाई बत्ती नहुँदा भने समस्या हुन्छ। घरेलु तथा साना उद्योग कार्यालयले दाउराबाट इँट्टा पोल्ने उद्योगलाई अहिले सञ्चालन अनुमति रोकेको छ।

जिल्लामा चलेका काठ दाउराबाट पोल्ने भट्टाका इँट्टा उद्योगले जस्तो वातावरण प्रदूषण नगर्ने भएकाले उक्त उद्योग पर्यावरणीय दृष्टिकोणले पनि उपयुक्त रहेको डिभिजन वन कार्यालयका अधिकृत महेश पौडेल बताउँछन्। ‘वातावरण संरक्षणमा उद्योग कलकारखानाको चुनौती थपिँदो छ,’ उनले भने, ‘वनजंगल विनाश हुनबाट रोक्न पनि यो प्रविधि उपयुक्त हुन्छ।’ धुवाँ धुलो नहुँदा वातावरण स्वच्छ र सुरक्षित हुने भएकाले प्रविधिको विकाससँगै व्यवस्थित प्रयोगमा जोड दिनुपर्ने उनी बताउँछन्।

प्रकाशित: २९ पुस २०७७ ०३:२८ बुधबार