अर्थ

त्रिपक्षीय लगानीमा विमानस्थल

उडान

ठूला साना सबै राजनैतिक दलले मुलुकका विभिन्न भागमा अव्यवस्थित रूपमा रहेका विमानस्थलको स्तरोन्नति गर्ने र पहाडी क्षेत्रमा नयाँ नयाँ विमानस्थल बनाउने घोषणा गरेको धेरै समय भयो। साना दललाई छोडौं, नेपाली कांग्रेस र पुराना एमाले र माओवादी जस्ता ठूला राजनैतिक दलहरूले आफ्ना चुनावी घोषणा पत्रहरूमा पनि यस्ता नारालाई लिपीबद्ध गरेकै हुन्। तर, काम भने लामो समयसम्म हुन सकिरहेको छैन।  

दुर्गम पहाडी क्षेत्रहरूमा नयाँ विमानस्थल बनाउने नीति नारामै सिमित भए पनि पछिल्लो समय केही सहरी क्षेत्रका विमानस्थलहरूको स्तरोन्नति गर्ने काम भने सुरु गरिएको छ। पछिल्ला सरकारहरूले पोखरा, भैरहवाजस्ता महत्वपूर्ण सहरका विमानस्थललाई अर्बौ रूपैयाँ खर्च गरेर स्तरोन्नती गर्न सुरु गरेका छन्। मुलुकका अन्य सहरमा जस्तै विराटनगरस्थित विमानस्थलमा पनि स्तरोन्नतिको काम सुरु भएको छ। 

विराटनगर विमानस्थल विस्तारका लागि मुआब्जा र भौतिक पूर्वाधार निर्माण गर्न १३ अर्ब रूपैयाँ भन्दा बढी बजेट आवश्यक पर्ने नागरिक उड्ययन प्राधिकरणको अनुमान छ।  

सरकारले यो वर्ष विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण प्रकृया सुरू गरिसकेको छ। विराटनगर विमानस्थललाई विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा स्तरोन्नती गर्न आवश्यक जग्गा अधिकरणको प्रारम्भिक प्रकृया सुरू गरिएको हो। विमानस्थल विस्तार गर्न आबश्यक जग्गा अधिग्रहणका लागि प्रारम्भिक सर्भे थालिएको विराटनगर विमानस्थलले जनाएको छ।

विमानस्थल प्रमुख उत्सवराज खरेलका अनुसार विमानस्थल विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि पुस ७ देखि सर्भे टोलि खटाइएको छ। विमानस्थलका लागि आबश्यक १ सय २६.४६ विघा जग्गा अधिग्रहण गर्न जग्गामा प्राविधिकको टोलिले मार्क गरिरहेको छ। हाल आबश्यक जग्गामा प्वाइन्ट निर्धारणको काम भइरहेको खरेलले जानकारी दिए।  

‘जग्गा अधिग्रहणका लागि प्रारम्भिक सर्भे थालिएको छ’ खरेलले भने‘हाल आबश्यक पर्ने जग्गाको प्वाइन्ट निर्धारणको काम भइरहेको छ।’ विराटनगर विमानस्थल बिस्तार गरी ३ हजार मिटरको रन वे बनाउने योजना छ। हाल विमानस्थलको रन वे १ हजार ५ सय मिटरको मात्रै छ। विमानस्थल बिस्तार गरी ३ हजार मिटरको रन वे बनाउन विराटनगरको मात्रै नभई सुनसरीको पनि जग्गा अधिग्रहण गर्नु पर्ने हुन्छ। विराटनगरमा रहेको विमानस्थल बिस्तार गर्दा सुनसरी तर्फको पनि केहि जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ। हाल मोरङ र सुनसरी दुबै तर्फको जग्गामा चिनो लगाउने काम भइरहेको र जग्गा अधिग्रहण गर्दा सुनसरीतर्फको पनि जग्गा अधिग्रहण गरिने विमानस्थल प्रमुख खरेलले बताए। दुबै तर्फको गरी ३ हजार मिटरको रन वे निर्माण गर्न पुग्ने जग्गा अधिग्रहण गरिने भए पनि तत्कालका लागि २ हजार ५ सय मिटर मात्रै रन वे निर्माण गरिने छ।  

मोरङ र सुनसरीको सीमानामा पर्ने केशलिया खोला विमानस्थल बिस्तारमा बाधक बनेको छ। विमानस्थल बिस्तार गरेर ३ हजार मिटर बनाउने योजनामा बिस्तार गरिने रन वे मै खोला परेपछि तत्कालका लागि ३ हजार मिटर बिस्तार नगरी २ हजार ५ सय मिटर मात्रै बिस्तार गर्ने योजना नागरिक उड्यन प्राधिकरणले बनाएको छ। विमानस्थल प्रमुख खरेलका अनुसार बिस्तार गरिने रन वे मै खोला परेकाले तत्कालका लागि २ हजार ५ सय मिटरमात्रै रन वे बनाउन लागिएको हो। उनले भने‘रन वे बिस्तारमा खोला बाधक बनेपछि तत्कालका लागि २ हजार ५ सय मिटरको मात्रै रन वे निर्माण गरिने छ।’ नागरिक उड्ययन प्राधिकरणले विराटनगर विमानस्थल विस्तारका लागि गुरु योजना तयार पारी सकेको छ। विराटनगर विमानस्थल बिस्तारका लागि मुआब्जा बितरण र भौतिक पूर्वाधार निर्माण गर्न १३ अर्ब रूपैयाँ भन्दा बढी बजेट आबश्यक पर्ने नागरिक उड्ययन प्राधिकरणको अनुमान छ।  

गत असोजमा नागरिक उड्ययन प्राधिकरण, प्रदेश १ को सरकार र विराटनगर महानगरपालिकावीच विराटनगर विमानस्थल बिस्तार गर्नेबारे त्रिपक्षिय समझदारी भएको थियो। समझदारी अनुसार विमानस्थल विस्तार गर्दा लाग्ने लागतको ५० प्रतिशत नागरिक उड्ययन प्राधिकरणले वोहोर्ने छ। बाँकी ५० प्रतिशत मध्ये ४० प्रतिशत लागत प्रदेश १ को सरकारले र १० प्रतिशत लागत विराटनगर महानगरपालिकाले व्यहोेर्ने छ। विमानस्थल बिस्तार गरेर ३ हजार मिटर रन वे बनाउने जसका लागि मोरङ र सुनसरीको भुभाग अधिग्रहण गर्ने सहमतिसमेत भएको थियो। विराटनगर विमानस्थल बिस्तार गर्न तीन तहका सरकारवीच भएको त्रिपक्षिय सम्झौताले विराटनगर र प्रदेश १ कै आर्थिक र पर्यटन क्षेत्रको विकासका लागि कोषेढुंगा सामवित हुने भन्दै निजी क्षेत्रले उक्त सम्झौताको खुलेर स्वागत गरेको थियो।  

विराटनगरका उद्योगी, व्यवसायी र नागरिक समाजले बषौंदेखि विराटनगर विमानस्थल बिस्तारको माग गर्दै आएका थिए। उनिहरूले विराटनगरबाटै भारतका विभिन्न शहर सार्क राष्ट्रभित्र पनि उडानको माग गर्दै आएका छन्। मोरङ व्यापार संघ, उद्योग संगठन मोरङलगायतका उद्योगी व्यवसायीका संस्थाहरूले एक दशक भन्दा बढी समय देखि सरकारलाई विमानस्थल बिस्तारका लागि दबाब दिंदै आएका थिए। विराटनगरका पर्यटन व्यवसायीहरूले भारतका विभिन्न शहरहरूमा विराटनरबाट सिधा हवाइ सेवा सुरू गर्न सरकारसँग माग गर्दै आएका छन्। 

पर्यटन पुनउत्थान समिति प्रदेश १ का संयोजक भविश श्रेष्ठले विराटनगर विमानस्थल बिस्तार भएर विराटनगरबाटै अन्तराष्ट्रिय उडान सुरू भए प्रदेश १ को पर्यटन उद्योगलाई ठूलो टेवा पुग्ने बताए। उनका अनुसार विराटनगरबाट भारतका विभिन्न शहरहरूमा सिधा उडान भए त्यहाँका पर्यटकहरू ठूलो संख्यामा नेपाल आउने दाबी गरे। यतिमात्रै हैन पूर्व क्षेत्रबाट भारत जानु परे हाल भारतको बागडुरा विमानस्थल प्रयोग गर्नु पर्ने बाध्यता छ। पूर्वी सिमानाकाबाट सबै भन्दा नजिकको भातीय विमानस्थल नै बागडुरा विमानस्थल भएका कारण यहाँबाट भारतका विभिन्न शहरमा जानेहरू बागडुरा विमान स्थल नै प्रयोग गर्दै आएका छन्। विराटनगरबाट भारतका शहरहरूमा सिधा हवाई उडान सुरू भए नेपालका मात्रै नभई सीमावर्ती भारतका मानिसहरू पनि विराटनगर विमानस्थलबाटै भारतीय शहरहरूमा जाने भएकाले विमान सञ्चालकहरूलाई पनि यात्रु अभाव नहुने श्रेष्ठले बताए। उनले भने‘नेपालका मात्रै नभई सीमावर्ती भारतीय शहरबाट पनि विमान चढ्न विराटनगर आउने भएकाले भारत जाने विमानहरूमा यात्रुको कुनै कमी हुने छैन।’ 

विराटनगरबाट भारततर्फको उडान भर्न अहिलेकै विमानस्थल पनि काफी छ। हाल रहेको संरचनाबाटै भारततर्फको उडान सञ्चालन गर्न संभव भए पनि सरकारले त्यसतर्फ खासै चासो दिएको छैन। जसका कारण विराटनगरका यात्रुहरू भारतको वागडुरा विमानस्थलको प्रयोग गरेर भारतका विभिन्न शहरको यात्रा गर्दै आएका छन्। विराटनगर विमानस्थलबाट भारतका विभिन्न विमानस्थलसम्म हवाइ सेवा सञ्चालनमा आए सीमावर्ती भारतीय शहरका यात्रुसमेत विराटनगर विमानस्थलमा आकर्षित हुने भएकाले यो विमानस्थल निकै संभावना युक्त विमानस्थलका रूपमा हेरिंदै आएको छ। अन्तराष्ट्रिय हवाईसेवा सञ्चालन गर्नु अघि विराटनगर विमानस्थलमा भन्सार कार्यालय लगायतका केहि पूर्वाधारहरू भने सरकारले व्यवस्था गर्नुपर्ने छ।  

के होला चक्रपथ ?  

विराटनगर विमानस्थल विस्तारको तयारी भईरहँदा विमानस्थलको रन वे क्षेत्रमा पर्ने चक्रपथ के होला भन्ने अन्यौल कायमै छ। दुई दशक अगाडि निर्माण सुरू भएको चक्रपथ विमानस्थलकै कारण अधुरै रहने हो कि भन्ने चिन्ता यतिवेला विराटनगरबासीलाई हुन थालेको छ। रन वे क्षेत्रमा पर्ने केशलिया खोला छल्न ३ हजार मिटरको रन वे घटाएर २ हजार ५ सय मिटरमा खुम्च्याए पनि निर्माणाधिन विराटनगर चक्रपथबारे अझै ठोस निर्णय भएको छैन। विमानस्थल बिस्तार गर्दा चक्रपथ मास्नै पर्ने देखिन्छ।  

हालको चक्रपथ मासेपछि चक्रपथ अधुरै छाड्ने की कुनै बैकल्पीक उपाय निकाल्ने भन्ने अन्यौल उत्पन्न भएको छ। विराटनगर विमानस्थल विस्तारमा लगानीको साझेदार बनेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले चक्रपथलाई नमास्ने बताउँदै आएका छन्।  

विमानस्थल बिस्तार गरेपछि चक्रपथलाई अण्डरग्राउण्ड गर्नुपर्ने पराजुलीको धारणा छ। ‘चक्रपथ मास्न हुँदैन’ उनले भने ‘चक्रपथलाई अण्डरग्राउड गर्नुपर्छ।’ प्रदेश १ का प्रतिपक्षी दलका प्रुमख सचेतक तथा विमानस्थल बिस्तार हुने क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य केदार कार्कीले पनि विमानस्थल विस्तार गर्दा चक्रपथलाई मास्न नहुने बताएका छन्। उनले चक्रपथको विकल्प चक्रपथ नै भएकाले अण्डरग्राउड गर्नु उचित हुने बताए।‘प्रबिधिको प्रयोग गरेर विमानस्थल र चक्रपथ दुबै निर्माण गर्नुपर्छ ’कार्कीले भने।

प्रकाशित: २९ पुस २०७७ ०१:३५ बुधबार

त्रिपक्षीय लगानीमा विमानस्थल दुर्गम पहाडी क्षेत्र