अर्थ

पर्यटन व्यवसायी भन्छनः भारतीय पाहुनाका लागि नाका खोलिदिउँ

आन्तरिक पाहुनाको भरमा मात्र व्यवसाय धान्न सकिएन

भारतीय पाहुनालाई भिœयाउनका लागि नेपाल–भारतबीचका सिमाना खोल्ने पहल गरिदिन आग्रह गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष मागपत्र प्रस्तुत गर्दै पश्चिमाञ्चल होटल संघका अध्यक्ष । तस्बिरःनागरिक

कोरोना कहरमा परेको पोखराको पर्यटन क्षेत्रले यो बेला प्रयाप्त आन्तरिक पाहुना नपाएपछि भारतीय पाहुना भिœयाउने पहल थालेको छ । आन्तरिक पाहुनाको भरमा मात्र पर्यटन क्षेत्र धानिन नसकेकोले विकल्पमा भारतीय पाहुना भिœयाउनु आवश्यक परेको व्यवसायीले बताए ।

कोरोना संक्रमण बढेसँगै नेपाल–भारत सिमाबाट आउजाउ बन्द हुँदा भारतीय पर्यटक नेपाल आउन नपाएको पोखरेली व्यवसायीको गुनासो छ । आन्तरिक पाहुना पनि प्रयाप्त नपाएको र भारतीय पनि भिœयाउन नपाउँदा व्यवसाय उकासिन नसकेको उनीहरुको भनाई छ । त्यसैले भारतीय पाहुना नेपाल घुम्न आउन पाउनेगरि नाका खुलाइदिनुपर्ने माग यहाँका व्यवसायीको छ । स्वास्थ्य निर्देशिका बनाएर भारतीय पाहुनालाई नेपाल घुम्न आउने माहोल मिलाइदिनुपर्ने यहाँका व्यवसायीको माग छ ।  

व्यवसायीले नेपाल–भारतबीचका मुख्य नाका खुलाएर पर्यटक आउजाउ गर्न पाउने गरि व्यवस्थापनको पहल गरिदिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मंगलबार स्मरणपत्र पनि बुझाएका छन् । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले आन्तरिक पाहुनाको भरमा मात्र व्यवसाय चलायमान हुन नसकेकोले अब भारतीय पाहुनालाई भित्रिन दिनुपर्ने बताए । ‘सोचे झैं आन्तरिक पाहुना आएनन् । सिमित पाहुनाको भरमा व्यवसाय धानिन सकेन,’ तुलाचनले भने, ‘त्यही भएर भारतीय पाहुनालाई पनि नेपाल घुम्न आउन पाउने गरि नाका खोलिदिनुपर्छ । भारतीय पाहुनालाई यो बेला भित्रिन दिने हो भने व्यवसाय केही आकारमा चलायमान बन्छ । नत्र आन्तरिकको भरमा मात्र थेग्न सकस भयो ।’

अध्यक्ष तुलाचनका अनुसार नेपाल र भारतबीचका मुख्य सिमा नाका बन्द हँुदा पर्यटक खुलमखुला रुपमा आउन पाएका छैनन् । अघोषित रुपमा भारतीय पाहुना नेपाल भित्रिएका पनि छ्न । तर, खुलमखुला रुपमा आउन नपाउँदा अप्ठेरो परेको तुलाचनले बताए । ‘भारतीय पाहुना भिœयाउन सके व्यवसायमा केही राहत मिल्ने अनुमान छ । सरकारले कार्यविधी बनाएर पाहुनालाई घुम्न आउन दिनुपर्छ, अब पनि नाका बन्द गरेर हुँदैन,’ उनले भने, ‘पर्यटन व्यवसाय चौपट भयो । आन्तरिक पाहुनाको भरमा मात्र व्यवसाय थेग्न सकिएन ।’ उनका अनुसार यो बेला भारतीय पाहुना नेपाल घुम्न आउन इच्छुक पनि छन् । तर, उनीहरुलाई घुम्न आउने अनुमति दिइएको छैन । कतिपय पाहुना गुपचुप रुपमा आउजाउ गरेपनि सहज रुपमा भित्रिने अवस्था नरहेको उनले बताए ।  

नेपालमा भारतीय पाहुना भित्रिने मुख्य नाका सुनौली, वीरगञ्ज, काकडभिट्टा, पशुपतिनगर हुन् । ती मध्ये पनि सुनौली र वीरगञ्जबाट पोखरामा बढी भारतीय पाहुना आउँछन् । कोरोनाको असर सुरु हुनुअघि पोखरा आउने भारतीय पाहुनाको संख्या वार्षिक करिब दुईलाख हुने अनुमान थियो । तर, कोरोनाका कारणले योपटक भारतीय आउन पाहुना छैनन् ।

 ‘भारतीय पाहुना समुहमा आउँछन् । धार्मिक गन्तव्यका लागि उनीहरुको आगमन बढी हुन्छ,’ उनले भने, ‘संख्यात्मक रुपमा ठुलो आकारमा आउने ती पर्यटकबाट हामीलाई निकै नै लाभ पुगेको थियो ।’  नेपाल आउने धार्मिक भारतीय पाहुना मुक्तिनाथ, पशुपतिनाथ, मनकामना लगायतका गन्तव्यमा आउजाउ गर्दा हत्तपत्ति पोखरा घुम्न छुटाउँदैनथे । त्यसबाहेक गर्मी र जाडो छल्न पनि भारतीय पाहुना नेपाल आउने गरेका थिए । ‘कोरोनाका कारण गत चैतदेखि बन्द रहेका नेपाल–भारतबीचका सिमाना कहिले खुल्छन् भनेर भारतीय पाहुनाले प्रतिक्षा गरेका छन्,’ तुलाचनले भने, ‘जहाजबाट आउन पाउने अवस्था त छ । तर, अब स्थलमार्गबाट आउजाउ खुलाउनुपर्छ भन्ने पाहुनाको चाहना छ । हामी व्यवसायी पनि त्यही चाहना राख्छौ ।’  

भारतीय पाहुना आउजाउ गर्न नपाउँदा नेपाल भारत सिमा क्षेत्रका पर्यटन व्यवसायी पनि अत्तालिएको उनले बताए । ‘भारतीयहरु निजी गाडीमा बढि आउँछन् । पारिवारिक भ्रमणमा निस्कने भारतीय पाहुना अहिले नाका बन्द हुँदा घरभित्रै थुनिएर बसेका छन,’ उनले भने, ‘नाका खुल्ने हो भने नेपाल आउन पाउनेछन् । त्यसको लाभ पर्यटन व्यवसायीलाई पनि हुनेछ ।’ नेपालमा बढी पाहुना भित्रिने मुलुकमध्ये भारत पहिलो नम्बरमा पर्छ । खुला नाका र स्थलमार्गबाट पनि आउजाउ गर्न पाउने भएकोले भारतीयलाई नेपाल आउन सहज छ ।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराईका अनुसार नेपालमा घुम्न आउनका लागि भारतीय पाहुना इच्छुक छन् । ती पाहुनालाई अब खुलेरै आउन पाउने गरि सिमा खुलाउनुपर्ने भट्टराईले बताए । ‘यो बेला धेरै भारतीय धार्मिक पर्यटक नेपाल आउन चाहेका छन् । नेपालका धार्मिक गन्तव्य खुलेकोले धार्मिक पर्यटक भित्रिन चाहेका पनि हुन,’ भट्टराइले भने, ‘तर ती पर्यटकलाई अझै सहज रुपमा नेपाल भित्रिन दिइएको छैन । अब भारतीय पर्यटकलाई खुलमखुला रुपमा आउन दिनुपर्छ । भारतीय पाहुना भित्रिँदा व्यवसायीलाई पनि राहत मिल्छ ।’ धार्मिक गन्तव्यमा आउन चाहेका भारतीय पाहुनाको यो बेला अधिक सोधपुछ रहेको उनले सुनाए । ‘नाका खुलाउने हो भने व्यवसायीले पनि खुलेरै बुकिङ गर्दथे,’ उनले भने ।  

उनका अनुसार अंग्रेजी नयाँवर्षम पोखरामा आयोजित सडक महोत्सवमा पनि भारतीय पाहुना घुम्नका लागि आएका थिए । अहिलेसम्म भित्रिएका पाहुना लुकिछिपी आएकोले अब खुलेरै आउन दिनुपर्ने उनले बताए । ‘पर्यटनलाई उकास्ने हो भने अब भारतीय पाहुनालाई सहजै नेपाल भित्रिन दिनुपर्छ,’ उनले भने, ‘सिमानाका खुला छ भनेर भन्ने हो भने पर्यटक आफै सुरक्षित मापदण्ड अपनाएर आउँछन् । नत्रद सधैं लुकिछिपी आउने अवस्था राख्नु हँुदैन । पर्यटन व्यवसाय उकास्ने हो भने छिमेकी मुलुकसम्म सहज आउजाउ हुनुपर्छ ।’ 

प्रकाशित: २८ पुस २०७७ ११:३५ मंगलबार

भारतीय पर्यटक