अर्थ

बैशाखमा कर्णाली लगानी सम्मेलन हुने

कर्णाली प्रदेश योजना आयोगले बैशाखमा लगानी सम्मेलनको आयोजना गर्ने भएको छ। आयोगको ७८ औं बैठकले नयाँ वर्षको सुरुवातमा ‘कर्णाली प्रदेश लगानी सम्मेलन’को आयोजना गर्ने निर्णय गरेको उपाध्यक्ष डा. सर्वराज खड्काले जानकारी दिए। कर्णालीमा बाह्य लगानी भित्र्याउन, विकास साझेदार संस्थाहरुलाई कर्णालीका बारेमा जानकारी दिनका लागि प्रदेश स्तरीय लगानी सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ छ।

आयोगले अहिले परियोजना बैंकमा समावेश गर्ने योजनाहरु छनोट गरिरहेको छ। परियोजना बैंकमा समावेश गर्ने योजनाहरुको अध्ययन गर्नका लागि आयोगका सदस्य डा. दीपेन्द्र रोकाय र योगेन्द्रबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ। २०७६ सालमा संघीय सरकारले आयोजना गरेको पूर्वाधार विकास सम्मेलनमा कर्णालीका ६७ वटा आयोजनाहरु समावेश थिए।  

चैतमा प्रदेश विकास परिषद्

कर्णाली प्रदेश विकास परिषदको बैठक चैत्रमा आयोजना गरिने भएको छ। बैठकमा आयोगले तयार पारेको पञ्चवर्षीय योजनाको बारेमा जानकारी गराइने छ। यस्तै स्थानीय तहका आवाधिक योजना निर्माणको लागि सहजीकरण, प्रदेश महत्वको आयोजनाहरुको अद्यावधिकका विषयमा छलफल हुनेछ।

प्रकाशित: २४ पुस २०७७ ०७:१४ शुक्रबार

कर्णाली लगानी सम्मेलन