अर्थ

बसपार्क टर्मिनल भवनको काम पछि धकेलियो

पहुँच

डेढ वर्षभित्र बनाइसक्ने लक्ष्यका साथ थालिएको सदरमुकामस्थित ‘त्रियुगा बसपार्क’को टर्मिनल भवन कोभिड–१९ का कारण केही महिना पछि धकेलिएको छ । कतिपय विकासे ठूला योजना म्याद नाघिसक्दा पनि काम नभएर अलपत्र परिरहेको अवस्थामा यहाँको टर्मिनल भवन भने म्यादभित्रै सक्नेगरी काम गर्दागर्दै कोभिड आइपरेपछि केही ढिला हुने देखिएका छ ।  

त्रियुगा नगरपालिका ३ र १२ बीचको साबिक बसपार्कमै निर्माणाधीन स्तरोन्नतिसहितको बसपार्कमा भवन बनाउन ०७६ असार अन्तिममा सम्झौता भएको थियो । अत्याधुनिक र सुविधासम्पन्न ३० कोठे अढाइतले दुईवटा ब्लक डेढ वर्षभित्र सक्नेगरी ५० प्रतिशत काम सम्पन्न हुन लाग्दा कोभिड महामारी सुरु भएपछि तोकिएको म्यादभित्र नसकिने सघन सहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीले जनाएको छ ।  

कार्यालयका अनुसार यहीँ पुसभित्र सक्नेगरी दु्रत गतिमा काम भइरहेकामा तीन महिना लामो लकडाउनले काम रोकिन पुगेको हो । कोभिड सहज हुँदै गएपछि काम सुचारु भए पनि केही महिना म्याद थप्नुपर्ने अवस्था आएको सघन सहरी कार्यालय प्रमुख (डिई) सुरेन्द्रकुमार साहले बताए । उनका अनुसार पुसमित्रै सक्नेगरी भइरहेको काम कोभिडले नराम्रो प्रभाव पारेकाले अहिलेसम्म ७५ प्रतिशत मात्र सम्पन्न भएको छ । ‘द्रुत गतिमा काम भईरहेको थियो तर, बीचमा कोभिडले रोकिन पुग्यो,’ डिई साहले भने, ‘कोभिड नआएको भए म्याद थप्नुपर्ने थिएन ।’  

प्रदेशस्तरीय नमूना बसपार्क बनाउने लक्ष्यका साथ बसपार्कको मध्यभागमा बनाउन थालेको आधुनिक टर्मिनल भवनको हाल दोस्रो तल्ला ढलान सकेर तेस्रो तल्लाको पिल्लर उठाउने काम भइरहेको छ । डिई साहका अनुसार रमण/आइएसएमडी जेभीले निर्माण जिम्मा पाएकामा तोकिएको डेढ वर्षभन्दा अगाडि नै सकेर हस्तान्तरण गर्ने जनाएको थियो । तर, कोभिडले अवरोध गरेपछि केही समय म्याद थप्नुपर्ने अवस्था आएको डिई साहले बताए ।  

सम्झौता अनुसार ०७७ पुुस २९ गतेसम्ममा काम नसकिने भएपछि कार्यालयको अधिकार अनुसार १५ प्रतिशत अवधि म्याद थप्ने तयारी भइरहेको छ । डिई साहका अनुसार त्योभन्दा बढी म्याद थप्नुपरे विभाग र मन्त्रालयले गर्ने प्रावधान छ । ‘सम्बन्धित कार्यालयको अधिकार १५ प्रतिशत मात्र थप्न सकिन्छ,’ डिई साहले भने ‘त्योभन्दा बढी थप्नुपरे २५ प्रतिशतसम्म विभाग र ५० प्रतिशतसम्म थप्ने अधिकार मन्त्रालयलाई छ ।’

इन्जिनियर तथा साइट इन्चार्ज ब्रम्हदेव चौधरीले ७५ प्रतिशत हाराहारी काम सकिइसकेकाले बाँकी काम सक्न केही महिना लाग्ने बताए । उनका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १९ करोड २५ लाख लागत इस्टिमेटको भवन ३४ प्रतिशत कम मूल्यमा भ्याटबाहेक १२ करोड ४९ लाखमा बनाउने ठेक्का जेबीले लिएको छ ।  

अलगअलग दुई ब्लकमा ३० कोठे टर्मिनल भवनमा बसपार्कको प्रशासनिक कक्ष, टिकट काउन्टर, नियन्त्रण कक्ष र सुरक्षा पोस्ट राखिनेछ । भवननजिकै यात्रुलाई समय हेर्न १४ मिटर अग्लो घण्टाघर (क्लक टावर) बनाउनने प्राविधिक डिजाइन रहेको डिई यादवले बताए । प्रदेशकै नमूना, अत्याधुनिक र सुविधासम्पन्न बसपार्क यातायात/व्यवसायी तथा यात्रुमैत्री हुने कार्यालयले जनाएको छ । झन्डै पाँच बिघा क्षेत्रफलमा बन्दै गरेको बसपार्कको सबै क्षेत्रमा कालोपत्रेसहितको ‘फलामे सेड’, ‘पार्किङ लट’ र दायाँ–बायाँ हरियालीयुक्त फूलबारी हुने प्राविधिक स्टिमेटमा उल्लेख छ ।  

त्यस्तै, गाडी पर्खन व्यवस्थित र फुलबारीयुक्त यात्रु प्रतिक्षालय (वेटिङ सेड), बिग्रेका गाडी मर्मत गर्न आधुनिक उपकरणयुक्त ग्यारेज (सर्भिस सेन्टर) र खाजा घर (क्यान्टिन) तथा उपभोग्य सामान किनबेच गर्ने ‘सपिङ कबल’ बसपार्कभित्रै बनाइने इन्जिनियर चौधरीले बताए ।

प्रकाशित: २२ पुस २०७७ ०२:३५ बुधबार

सपार्क टर्मिनल भवन कोभिड–१९