अर्थ

रसुवागढी नाकाबाट एक वर्षमा ५ सय ३२ पर्यटक भित्रिए

रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ पर्यटक आफ्नो सामग्री जाँच गराउँदै । तस्बिरः हिमनाथ/नागरिक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सन् २०२० मा निकै कम पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल भित्रने पर्यटकको संख्यामा कमी आएको हो ।  

नाकाबाट प्रतिवर्ष १० हजारदेखि ३१ हजारसम्म पर्यटक आउने गरेकोमा सन् २०२० मा ५ सय ३२ पर्यटक नेपाल आएका छन् । यो नाका सञ्चालन भएयता कै सबैभन्दा कम संख्या हो । पछिल्लो ८ महिनामा नाकाबाट पर्यटक नआएका अध्यागमन कार्यालय रसुवाका प्रमुख एकनारायण भण्डारीले बताए ।  

‘चीनको उहानमा कोरोना भाइरस देखिएपछि चिनियाँ पक्षले लकडाउन गर्‍यो’, उनले भने, ‘त्यसयता नाकाबाट पर्यटक आउने तथा जाने क्रम नै ठप्प बन्यो ।’ अहिले नाकाबाट सीमित चिनियाँ सामग्री भित्रने गरेको भएपनि मान्छेको आवतजावत खुला गरिएको छैन ।  

कार्यालयको तथ्यांक अनुसार नाकाबाट नेपाल भित्रने तथा चीनतर्फ जाने पर्यटकको संख्या अहिलेसम्मकै न्यून छ । २०२० को जनवरी महिनामा ५ सय २६ र फेबु्रअरी महिनामा ६ जना नेपाल आएकोमा २ सय २ जना पर्यटक चीनतर्फ गएका थिए । जनवरी महिनामा १ सय ८० र फेबु्रअरी महिनामा २२ जना पर्यटक चीनतर्फ गएका कार्यालयले जनाएको छ ।  

रसुवागढी नाकाबाट सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको हो । रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेका छन् ।  

केही चिनियाँले आफ्नै सवारी साधन ल्याउने गरेका छन् भने अधिकांस पर्यटकले चाहिँ नेपालकै सवारी साधनको प्रयोग गर्दै आएको देखिन्छ । चीन, सार्क राष्ट्रका अफगानिस्तान बाहेक अन्य देश र १० वर्ष मुनिका बालबालिकाले ग्रेटिस भिसा पाउछन् । यस कारण पनि चिनियाँ पर्यटक बढेका थिए ।

२०१५ मा चिनियाँ पर्यटक मात्र आएका थिए । २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेका कार्यालयले जनाएको छ । सन् २०१५ मा १० हजार ६ सय ४९, सन् २०१६ मा १७ हजार ८२, सन् २०१७ मा १९ हजार ४७८, सन् २०१८ मा २९ हजार १ सय ५४ पर्यटक नेपाल आएका कार्यालयको तथ्याङ्क छ ।  

२०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको थियो । त्यो महिना २ सय ९१ पर्यटक आएका थिए । यो नाका भएर नेपाल भित्रने प्रमुख देशमा चीन, अमेरिका, स्लोभाकिया, बेलायत, नेदरल्याण्ड, जर्मनी, इटाली, फ्रान्स, चेकोस्लोभाकी र अष्ट्रेलिया पर्छ ।  

नेपाल घुम्न आउने धेरै जसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन् । अधिकांस चिनियाँ पर्यटकहरूले ल्हासा, गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन् । करिब १० प्रतिशत पर्यटकले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन् ।  

रसुवागढी अध्यागमन कार्यालयले विश्वका १२ वटा देशलाई अनअराइभल भिसा उपलब्ध गराउँदैन । सरकारी र कुटनीतिक राहदानीबाहक बाहेक नायजेरिया, घाना, जिम्बाबे, स्विजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेष्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले विदेशस्थित नेपाली दुतावास वा कुटनीतिक नियोगबाटै अग्रिम भिसा लिई आउनु पर्छ ।

प्रकाशित: १७ पुस २०७७ ०७:३९ शुक्रबार

रसुवागढी नाका