नेपालका भौतिक पूर्वाधार निर्माणका आयोजनामध्ये पछिल्लो समय धेरै चर्चा हुने मध्ये एउटा हो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । पश्चिम नेपालको विकास र समृद्धिको ढोका खोल्न कोषेढुंगा सावित हुने विश्वास लिइएको यो विमानस्थलको भौतिक निर्माण सकिएको छ । भौतिक बाहेकका पनि ९३ प्रतिशत काम सकिएका छन् । प्राविधिक जनशक्ति उपलब्ध भए अबको तीन महिनामा सम्पूर्ण काम सक्ने आयोजनाको लक्ष्य छ ।
सुरुमा मूल्य अभिवृद्धि कर (भ्याट) सहित ६ अर्ब २२ करोड ५१ लाख लागतमा निर्माण सम्पन्न हुने भनिएको आयोजनाको लागत बढेर अहिले ७ अर्ब २५ करोड पुगेको छ।
विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले भौतिक निर्माणको काम सकिए र संरचनाहरूमा उपकरण जडानको काम बाँकी रहेको बताए । अहिले इन्टेरियर तथा फिनिसिङको काम चलिरहेको उनले जनाए । आयोजनामा काम गर्ने विदेशी प्राविधिक जनशक्ति कोरोनाका कारण नेपाल फर्कन ढिला गर्दा लक्ष्य अनुसार काम गर्न नसकिएको आयोजना प्रमुख अधिकारीले बताए । उनका अनुसार विमानस्थलमा अहिले केही भारतीय र चिनियाँसहित २ सय कामदारले काम गरिरहेका छन् । सिभिल वर्क सहित मुख्य उपकरण जडान पूर्वका तयारीका काम चलिरहेको छ ।
विमानस्थलमा ८ तले कन्ट्रोल टावरको निर्माण सकिएको छ । अन्तर्राष्ट्रिय ट्रमिनल भवन, प्रशानिक भवन, फायर बिल्डिङ, विद्युत् सवस्टेशन, सुरक्षाकर्मी आवास गृह जस्ता भौतिक संरचना निर्माण भइसकेका छन् । उक्त संरचनामा इन्टरनेटको तथा फिनिसिङसँगै चेकिङ काउण्टर, कार्यालयको काम चलिरहेको छ ।
तीन हजार मिटर लामो धावनमार्ग तयार भएको छ । ५ वटा विमान पार्किङ क्षमताको एप्रोन तयार छ । १ हजार ९ सय मिटरको ट्याक्सी वे बनेको छ । धावन मार्ग वरपर १० किलोमिटरको पेरिमिटर सडक, खानेपानी ट्यांकी, बगैंचाको काम भइरहेको छ । दीर्घकालीन योजना अन्तर्गत राडारका लागि पनि जग्गा अधिग्रहण गरिएको छ । आयल निगमले डिपो बनाउने तयारी गरेको छ ।
२८७ बिघामा सञ्चालित विमानस्थल अहिले ८१० बिघा क्षत्रेफलमा विस्तार भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको ‘फोर ई’ स्तरको यो विमानस्थलबाट एयर वस ३३०, बोइङ ७७७–२०० सिरिज, लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरू सुरक्षित उडान तथा अवतरण गर्न सक्छन् । प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिन सक्ने यसको क्षमता रहेको छ । अत्याधुनिक उपकरण जडान गरिएको विमानस्थलको रनवे र ट्याक्सी वे को संरचना त्रिभुवन विमानस्थलकोभन्दा उत्कृष्ट रहेको आयोजना प्रमुख अधिकारीले बताए ।
कार्गो भवन बन्दै
विमानस्थलको उत्तर पश्चिममा १५ हजार वर्गमिटरमा पार्किङ्गसहितको कार्गो (गोदाम) भवन बन्दै छ । आयात, निर्यातको प्रोभिजनसँगै प्रशासनिक भवनसहितको कार्गो भवन बन्ने छ । ९० करोड ३६ लाखको लागतमा २०७७ को कात्तिकमा निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता भएको थियो । कोभिड–१९ लगायत कारण देखाउँदै २०७८ को वैशाखसम्म म्याद थप भएको छ । सो अवधिमा पनि निर्माण सम्पन्न हुने सम्भावना कम छ । हवाइ मार्ग भएर जाने कृषिजन्य तथा अन्य उत्पादनहरूको व्यापार प्रवद्र्धनमा यो कार्गोले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।
उपकरण जडानको काम रोकियो
विमानस्थलको स्ट्रक्चरल कम्पोनेन्टका काम करिब सकिए पनि उपकरण जडान हुन सकेको छैन। सिभिल वर्क तर्फ आइसिवी–वान कै उपकरण जडानको काम रोकीएको छ । यसअघि एप्रोनमा प्रयोग हुने लाइट, एक्सरे मेसिन, कन्भियर बेल्ट, धावनमार्गका लाइट जस्ता उपकरण विदेशबाट आउन ढिलाइ भयो । अहिले सबै उपकरण आइसके पनि जडानका लागि चिन र थाइल्याण्डबाट प्राविधिक आउनु पर्ने भएका अझै आएका छैनन्।
एयर ट्राफिक कन्ट्रोल तथा मौसम पूर्वानुमान व्यवस्थापनका लागि आवश्यक उपकरण जडानको काम बाँकी छ । एयर ट्राफिक कन्ट्रोल तथा मौसम व्यवस्थापनको उपकरण सम्बन्धि अन्तर्राष्ट्रिय बोलपत्र ०२ (आइसीवि–टु) थाइल्याण्डको एरो थाइ कम्पनीले पाएको हो।
नेपाल नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक प्रविण न्यौपानेका अनुसार आइसिवि–टु तर्फका उपकरणहरू सबै आइसकेका छन् । तर दक्ष जनशक्ति नेपालमा नहुँदा समस्या भएको हो । उपकरण जडानका लागि अमेरिका, अष्ट्रियाबाट प्राविधिकहरू आउनु पर्ने भएपनि कोरोनाका कारण अहिलेसम्म नआएको उपनिर्देशक न्यौपानेले बताए । प्राविधिक नयाँ वर्ष मनाएर आउने जानकारी पाएको उनले बताए । जनशक्ति व्यवस्थापन भए दुई महिना भित्रै आइसिवि–२ को काम सम्पन्न हुने उपनिर्देशक न्यौपानेले बताए ।
समग्र आयोजनामा उपकरण जडान गर्न चीनबाट ३५ र अमेरिका, थाइल्याण्ड, अष्ट्रियाबाट ३० जना गरी ६५ जना प्राविधिक प्रस्ताव गरिएको छ । यो जनशक्ति समयमै उपलब्ध भए ९० दिनमा आयोजनाको सम्पूर्ण काम सम्पन्न हुने दाबी विमानस्थल निर्माण आयोजना प्रमुख अधिकारीको छ । तर नर्थवेष्टले आइसिवि वानका लागि तत्काललाई ९/१० जना मात्रै कामदार चीनबाट ल्याउने तयारी छ ।
लगानी ७ अर्ब २५ करोड
सुरुमा भ्याटसहित ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा निर्माण सम्पन्न हुने भनिएको आयोजनाको लागत बढेर अहिले ७ अर्ब २५ करोड पुगेको छ । आइसिवि (वान) सिभिल वर्क तर्फको ६ अर्ब ८२ करोड लागत छ । आइसिवि –२ संचार उपकरण तर्फको लगानी करिब ५० करोड छ । धावन मार्ग र ट्याक्टी वे को सेन्टर लाइनमा समेत लाइट थप गर्ने निर्णयपछि गरिएकाले लागत केही बढेको आयोजना प्रमुख अधिकारीले बताए । यो आयोजनामा एशियाली विकास वैंकको सहुलियत ऋण सहयोग र नेपाल सरकारको लगानी छ ।
मुआब्जामा २२ अर्ब
सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि २२ अर्ब मुआब्जा वितरण गरेको छ । विमानस्थलको स्तरोन्नतीका लागि जम्मा २ हजार २ सय परिवारको करिब ५ सय बिघा जग्गा अधिग्रहण गरिएको हो । आयोजनाले ६ सय २५ घर विस्थापित भएका छन् । आयोजना प्रमुख अधिकारीका अनुसार अहिलेसम्म ९७ प्रतिशतको मुआब्जा वितरण सकिएको छ ।
छैठौं पटक म्याद थपिँदै
२०७१ माघ १ गते (सन् २०१५ जनवरी) मा पूर्व प्रधानमन्त्री स्वर्गीय शुसील कोइरालाले शिलान्यास गरेपछि विमानस्थल निर्माणको काम सुरु भएको हो । सिभिल वर्कतर्फ सन् २०१७ को डिसेम्बरमा निर्माण सक्ने गरी २०१४ को डिसेम्बर २१ मा चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभियसन कन्स्ट्रक्सन गु्रपसँग ठेक्का सम्झौता भएको हो । तर २०२० को डिसेम्बरसम्म काम सम्पन्न भएको छैन । अहिलेसम्म आयोजनाको म्याद ५ पटक थपिएको छ । छैठौं पटक थप्ने तयारी छ ।
यो आयोजना सुरु भएलगत्तै नाकाबन्दी र मधेश आन्दोलनको चपेटामा पर्यो । त्यसपछि आयोजनामा घुसेको राजनीतिले पनि केही समय काम ठप्प भयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिक खनाल, युवा संघका नेता राजु गुरुङलगायतका नेकपा सम्बद्ध युवाको समूह सव–कन्ट्रयाक्टर बनेर आयोजनामा पसेपछि विवाद भएको थियो । चिनियाँ कम्पनीको फितलो व्यवस्थापन र सव कन्ट्रयाक्टरसँगको विवादले झण्डै एक वर्ष आयोजना प्रभावित बन्यो ।
त्यहीबेला एशियाली विश्व बैंकले ठेक्का रद्द गर्नेसम्मको चेतावनी दिएको थियो । तर तत्कालिन आयोजना प्रमुख ओम शर्माले राजनीतिक जोखीम मोलेरै भए पनि कन्ट्रयाक्टर, सवकन्ट्रयाक्टरको विवादकैबीच आयोजनालाई सही ट्रयाकमा ल्याउन सफल भएका थिए । आइसिवि –०२ संचार उपकरण तर्फ सन २०१९ को मार्चमा ठेक्का सम्झौता भएको हो । जसको म्याद २०२० को डिसेम्बरसम्म मात्रै छ ।
चाँडो संचालनमा आउनेमा आशंका
विमानस्थल निर्माण आयोजनाले प्राविधिक जनशक्ति उपलब्ध भए तीन महिनामा काम सक्ने दाबी गरे पनि प्राधिकरणका कतिपय अधिकारीहरू भने विमानस्थल छिट्टै सञ्चालन हुनेमा आशंका व्यक्त गर्छन् । ‘फिल्डमा आयोजनाका थुप्रै काम बाँकी छन् । सञ्चालनका लागि गर्नुपर्ने पूर्व तयारीहरू गरिएको छैन । सरासर काम भयो भने पनि ती काम सक्न कम्तीमा एक वर्ष लाग्छ,’ प्राधिकरणका एक अधिकारीले भने ।
उनका अनुसार पहिले आइसिवि वान र टु का सबै काम सक्नुपर्छ । सुरक्षा, अध्यागमन, भन्सार जस्ता सबै सेवा सुविधा र कर्मचारी व्यवस्थापन समयमै गर्नुपर्छ । सबै कुराको व्यवस्थापन भएपछि परिक्षण उडान अघि थाइल्याण्डबाटै ल्याएको जहाज उडाएर सिष्टम चेक गरिने छ । त्यसका साथै भैरहवा विमानस्थल भारतको सीमा नजिक छ । अन्तर्राष्ट्रिय उडानका जहाजले अर्को देशको आकाश छुन सक्ने अवस्थामा सम्बन्धित देशसँग अनुमती लिनुपर्ने हुन्छ । त्यसका लागि भारतीय पक्षसँग छलफल भइरहेको र सकारात्मक प्रतिक्रिया आए पनि सम्झौताका लागि तयारी बाँकी नै रहेको छ ।
त्रिभुवन विमानस्थलको विकल्प
संघीय राजधानीदेखि २९० किलोमिटरको दूरीमा पश्चिममा रहेको यो विमानस्थल बुद्ध जन्मस्थल लुम्बिनीबाट सबैभन्दा नजिकको दूरीमा छ । सन् १९५८ देखि सञ्चालनमा आएको यो विमानस्थल ६२ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नती हुँदैछ । यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको छ । काठमाडाैं विमानस्थलमा प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्ने विमान लासा, ढाका, दिल्ली डाइर्भट गर्नुपर्ने यसअघिको बाध्यतालाई भैरहवा विमानस्थलले प्रतिस्थापन गर्ने विश्वास छ ।
पर्यटन विकास र निर्यात व्यापारमा सहयोगी
बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब २२ किलोमिटरको दूरीमा रहेको यो विमानस्थलले लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतसँग सिधा हवाइ सम्पर्क स्थापित गर्ने छ । जसले लुम्बिनीसहित पश्चिम नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ । दक्षिण पूर्वी एशियाली बौद्ध धर्मावलम्बीलाई यो विमानस्थल बनेपछि लुम्बिनी भ्रमण गर्न सहज हुनेछ ।
लुम्बिनीसँग सिधा सम्पर्क नहुँदा अहिले झण्डै ६० प्रतिशत विदेशी भारतीय बाटो हुँदै लुम्बिनी आउने गरेका छन् । उनीहरू भारतले बनाएको बुद्ध सक्रिट र टुर प्याकेजलाइ अवलोकन गर्दै भैरहवाको बेलहिया नाकाबाट लुम्बिनी पुग्छन् । मायादेवि मन्दिरमा केही घण्टा बिताएपछि सोही दिन पर्यटक पुनः भारत फर्कन्छन् । जसका कारण बाह्य पर्यटकबाट लुम्बिनीले खासै फाइदा लिन नसकीरहेको पर्यटन व्यवसायीको भनाइ छ ।
बुद्धधर्मावलम्बी देशहरूसँग सिधा हवाई सम्पर्क स्थापित हुँदा ती पर्यटकको नेपाल बसाइँ लम्ब्याउन सकिने पर्यटन व्यबसायीको अपेक्षा छ । लुम्बिनीसँगै नवलपरासी, कपिलवस्तुका बुद्ध स्थलहरू, लुम्बिनी प्रदेशका अन्य पर्यटकीय स्थलसँगै पोखरा, चितवन, सुदूरपश्चिम र कर्णालीका पर्यटकीय स्थलहरूलाई जोडेर भ्रमण प्याकेज बनाउन सकिने नाटा लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष विष्णु शर्माले बताए । ‘सरकार र निजी क्षेत्रले सहकार्यमा पर्यटन विकासका योजना र पूर्वाधारहरू बनाउनुपर्छ,’ उनले भने । यो विमानस्थल निर्माणसँगै अहिले रूपन्देही, कपिलवस्तु, नवलपरासीमा पर्यटन सम्बन्धि पूर्वाधारहरू निर्माण भइरहेका छन् । बुटवल, भैरहवा, लुम्बिनी क्षेत्रमा ठूलठूला होटल, क्यासीनो, ट्राभल टुर व्यवसायमा लगानी बढ्दो छ ।
यो विमानस्थलले अन्तर्राष्ट्रिय व्यापार पावद्र्धनमा समेत टेवा पुग्ने विश्वास यस क्षेत्रका उद्योगी व्यवसायीको छ । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले हिमाल, पहाड र तराईका कृषिजन्य, जडीबुटीजन्य र हस्तकला सम्बन्धि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने सम्भावना रहेको बताए ।
स्वदेशी सामानको प्रयोग
भौतिक निर्माण तर्फ यो आयोजनामा रनवे र एप्रोनमा प्रयोग हुने बिटुमिन अर्थात अस्पाल्ट, इन्धनलगायतका केही सामग्री बाहेक निर्माणका अन्य सामग्री स्वदेशी नै प्रयोग भएको छ । निर्माण कम्पनीका अनुसार अर्घाखाँची, सर्बोत्तम, शिवम्लगायतका स्वदेशी सिमेन्ट बढी प्रयोग भएका छन् । जगदम्बा, अम्बे, काठमाडौं स्टिल, एसआर स्टिल उद्योगका डण्डी तथा पञ्चकन्याका पाइप धेरै प्रयोग गरिएको छ । आयोजना प्रमुख अधिकारीका अनुसार तोकीएको मापदण्ड अनुसार गुणस्तर परीक्षण गरेर मात्रै निर्माण सामग्रीको प्रयोग गरिएको हो ।
प्रकाशित: १५ पुस २०७७ ०१:५८ बुधबार