अघिल्लो साता नौ वाणिज्य बैंकले दोलखाको बिगु गाउँपालिकामा निर्माण भइरहेको लाप्चे जलविद्युत् आयोजनामा १९ अर्ब ६५ करोड रूपैयाँ मिलेर लगानी गर्ने सम्झौता गरे। सरकारी स्वामित्वको नेपाल बैंकले पाँच अर्ब रूपैयाँ लगानी गर्ने सम्झौता गरेको उक्त आयोजनामा इन्भेस्टमेन्ट बैंकले तीन अर्ब ५० करोड, राष्ट्रिय वाणिज्य, हिमालयन बैंक तथा कर्मचारी सञ्चय कोषले दुई/दुई अर्ब रूपैयाँ लगानी गर्ने सहमति गरे। एक सय ६० मेगावाट विद्युत् उत्पादन क्षमताको उक्त आयोजनामा लक्ष्मी, कृषि विकास, एसबिआई, बैंक अफ काठमान्डुलगायत वित्तीय संस्थाले पनि लगानी गर्ने सम्झौता गरेका छन्।
असोजसम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा ३० खर्ब ३० अर्ब ४१ करोड रूपैयाँ लगानी गरेका छन्। यसमध्ये भौतिक निर्माण क्षेत्रमा ३ खर्ब १ अर्ब २९ करोड रूपैयाँ कर्जा प्रवाह भएको छ।
विकास निर्माणका काममा लगानी गर्न स्थापना गरिएको इन्फ्रास्टक्चर बैंकले पहिलो लगानी कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित करुवा सेती हाइड्रोपावरमा गर्यो। उक्त परियोजनामा इन्फ्रास्टक्चरसहित हिमालयन र सानिमा बैंकले पाँच अर्ब ८० करोड रूपैयाँ लगानी गर्ने सम्झौता गरेका छन्। परियोजना सकिएपछि ३२ मेगावाट विद्युत् उत्पादन हुनेछ। केही समयअघिसम्म नेपालका बैंकहरू ठूला आयोजनामा लगानी गर्न आनाकानी गर्थे। माथिका यी उदाहरणले अहिले समय फेरिएको देखाएको छ। बैंकहरू ठूल्ठूला आयोजनामा लगानी गर्न थालेका छन्। सके एक्लैले नसके मिलेर बैंकहरूले कर्जा लगानी गर्न थालेपछि एकातिर ठूला आयोजनाले गति लिने अपेक्षा गरिएको छ भने अर्कातर्फ समूहमा काम गर्ने संस्कृतिको विकास भइरहेको छ।
पछिल्लो समय बैंकहरूले ठूल्ठूला आयोजनामा लगानी गर्ने क्रम बढ्दै गएको सम्बद्ध अधिकारी बताउँछन्। ‘केही वर्षयता संघ मात्र नभई प्रदेश र स्थानीय तहमा पनि भौतिक पूर्वाधारका थुप्रै काम हुन थालेका छन्,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी भन्छन्, ‘जसले गर्दा बैंकलाई लगानी गर्न सहज मात्र भइरहेको छैन। पूर्वाधार निर्माणमा पनि टेवा पुगिरहेको छ।’
बैंकर्स एसोसिएसनका अनुसार असोजसम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा ३० खर्ब ३० अर्ब ४१ करोड रूपैयाँ लगानी गर्दा निर्माण क्षेत्रमा तीन खर्ब एक अर्ब २९ करोड रूपैयाँ कर्जा प्रवाह भएको छ। निर्माण क्षेत्रमा प्रवाह भएको कर्जामध्ये असारदेखि असोजसम्म मात्र ६ अर्ब १७ करोड ३० लाख रूपैयाँ लगानी भएको एसोसिएसनले जनाएको छ।
‘होटल, हाइड्रोमा लगानी बढ्दो छ’
अनिल शर्मा
सिइओ, नेपाल बैंकर्स एसोसिएसन
केही समययता बैंकको पूर्वाधारमा लगानी बढेको छ। खासगरी होटल, हाइड्रोमा लगानी बढ्दो छ। कोरोना भाइरस महामारी सुरु हुने बेला रोकिएका आयोजनामा पनि अहिले लगानी हुन थालेको छ। लकडाउनले गर्दा होल्ड भएका आयोजनामा यतिखेर कर्जा लगानी हुन थालेको हो।
बैंकका लागि निर्माण क्षेत्र लगानी गर्न त्यति जोखिम छैन। सरकारी नीति नियम र ढिलासुस्तीले गर्दा केही समस्या छन्। सार्वजनिक खरिद ऐन बेलाबेला संशोधन हुँदा केही अन्योल सिर्जना हुन्छ। यसका बाबजुद पनि अधिकांश बैंक निर्माण क्षेत्रमा लगानी गर्न चाहन्छन्।
निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल पूर्वाधारमा बैंकले लगानी वृद्धि गर्दै लगे पनि अनिवार्य धितो लिने क्रम कायमै रहेको बताए। ‘हामीले परियोजनाका आधारमा कर्जा पाउनुपर्छ भन्ने माग गरिरहेका छौं,’ उनले भने, ‘तर बैंकहरूले धितो नलिई कर्जा दिन मान्दैनन्।’ अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले सबभन्दा बढी जलविद्युत्, होटलको क्षेत्रमा कर्जा लगानी गरेको उनको भनाइ छ।
बैंकरहरूका अनुसार कोरोना भाइरसको महामारी सुरु नभएको भए पछिल्लो अवधिमा निर्माण क्षेत्रमा ठूलो रकम लगानी हुने अनुमान गरिएको थियो। ‘अहिले बैंकमा अधिक तरलता हुनुको कारण निर्माणलगायत क्षेत्रमा धेरै लगानी हुन नसकेरै हो,’ एक बैंकरले नागरिकसँग भने, ‘कोरोना महामारी नियन्त्रणमा आउने अपेक्षा गरिएका बेला पुनः राजनीतिक अस्थिरताले लगानीमा थप अन्योल बढाएको छ।’
२०७४ सालको निर्वाचननमा नेकपाले दुई तिहाइ बहुमत ल्याएर सरकार बनाएपछि देशभरि विकास निर्माणको लहर आउन थालेकोे थियो। काठमाडौं–तराई–मधेस दु्रतमार्गदेखि लिएर नागढुंगा–नौबिसे सुरुङ, भेरी बबई डाइभर्सनजस्ता ठूला आयोजनाका निर्माण कार्यले गति पाएका थिए। ‘हामीकहाँ केही वर्षदेखि राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेको थिएन,’ ती बैंकरले भने, ‘२०७४ देखि कोरोना महामारी सुरु हुनुअघि (२०७६ चैत) सम्म निर्माणलगायतका क्षेत्रमा उल्लेख्य रूपमा कर्जा लगानी भएको थियो।
‘पूर्वाधारका लागि बैंक सहयोगी बनेका छन्’
कृष्णबहादुर अधिकारी
सिइओ, नेपाल बैंक लिमिटेड
विकास निर्माण लगायत सम्पूर्ण पूर्वाधार देशका लागि नभई नहुने हो। पछिल्ला दिनमा स्थानीय तह, प्रदेश र संघबाट हुने विकास निर्माणका काम बढेका छन्। बैंकबाट कर्जा लिने क्रम बढेको छ। बैंकले पनि लगानीको जिम्मेवारी महसुस गरी पूर्वाधारमा लगानी बढाइरहेका छन्। अन्य क्षेत्रको तुलनामा पूर्वाधारमा गरिएको लगानी बढी सुरक्षित हुन्छ।
जोखिम नै छैन भन्ने होइन, पप्पु कन्स्ट्रक्सनजस्तो ठेकेदार कम्पनी पर्यो भने बैंकको लगानी डुब्न पनि सक्छ। तर सबै त्यस्ता कम्पनी हुँदैनन्। जेजस्ता समस्या आए पनि पूर्वाधारमा लगानी हुनु जरुरी छ। लगानी पनि बढ्दै गएको छ।
त्यसैले त्यतिबेला बैंकलाई निक्षेप संकलन गर्नै हम्मेहम्मे पथ्र्यो। कोरोना महामारीपछि पनि अन्य क्षेत्रको तुलनामा निर्माण क्षेत्रमा भएको कर्जा लगानीलाई ‘निराशाजनक’ नै मान्न नसकिने बैंकरहरूको भनाइ छ। ‘यो अवधिमा लगानी घटेको पक्कै हो,’ ती बैंकरले भने, ‘तर अन्य क्षेत्रमा जस्तो शून्य नै छैन।’ यद्यपि असोजपछि वाणिज्य बैंकहरूले निर्माणलगायत क्षेत्रमा गरेको लगानीको पूर्ण विवरण संकलन हुँदै गरेको एसोसिएसनले जनाएको छ।
‘लकडाउनका कारण होल्डमा रहेका निर्माण क्षेत्रका विभिन्न आयोजनामा कर्जा लगानी हुने क्रम बढेको छ,’ एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘पछिल्लो समयमा जलविद्युत्, होटललगायतमा बढी कर्जा प्रवाह हुन थालेको छ।’ कोरोना भाइरसको महामारी नियन्त्रणमा आउनेबित्तिकै कर्जा लगानीको माग बढ्दै जाने बैंकरहरूको अनुमान छ। ‘हरेक समस्याले अवसर सिर्जना गर्छ भन्ने गरिएझैं यतिखेर अधिकांश बैंक लगानीका लागि तम्तयार भएर बसेका छन्,’ अर्का बैंकरले भने, ‘कोरोना सामान्य हुनेबित्तिकै कर्जाको माग व्यापक रूपमा बढ्छ भनेरै अधिकांश बैंकले राम्रै ब्याज दिएर मुद्दती निक्षेप संकलन गरिरहेका छन्।’
यद्यपि एक साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका कारण पुनः लगानीको वातावरण बिग्रने हो कि भन्ने चिन्ता बढाएको बैंकरहरूको भनाइ छ। ‘सकेसम्म आउँदो वैशाखमा चुनाव नहोला,’ ती बैंकरले भने, ‘कोरोना महामारी नियन्त्रणमा आउनुका साथै मध्यावधि निर्वाचन भएन भने चालु आर्थिक वर्षभित्र थप ५० अर्ब रूपैयाँ निर्माण क्षेत्रमा लगानी हुन सक्ने अनुमान गरिएको छ।’
चैतयता वाणिज्य बैंकहरूले सहज रूपमा लगानी गर्न नसक्दा यतिखेर बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रने क्रम जारी छ। असोज–कात्तिकमा बैंकहरूसँग दुई खर्ब रूपैयाँभन्दा बढी तरलता थुप्रिएको थियो। अधिक तरलता भएपछि केन्द्रीय बैंकले पटकपटक रिपो रिभर्स गर्दै लगेपछि र वाणिज्य बैंकले लगानीका लागि आकर्षक प्याकेज अघि सार्दा मंसिरपछि तरलतामा केही कमी आएको छ। एसोसिएसनका अनुसार अझै पनि यतिखेर बैंक तथा वित्तीय संस्थासँग साढे एक खर्ब रूपैयाँ हाराहारी तरलता छ।
कर्जा प्रवाहमा जोड दिन बैंकहरूले निक्षेपकर्ता र ऋणीको ब्याजदर घटाएका छन्। घर तथा गाडी कर्जाको ब्याजदर अधिकांश बैंकले ८–९ प्रतिशमा झारेका छन्। त्यति मात्र नभई बैंकले स्थिर ब्याजदरलाई पनि कार्यान्वयनमा ल्याइसकेका छन्। मंसिरपछि साना तथा मझौला उद्योग, व्यवसायमा लगानी बढ्न थालेको छ,’ ती बैंकरले भने, ‘तर ठूला आयोजनामा अझै पनि सोचेजस्तो लगानी हुन सकेको छैन।’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट विभिन्न नीतिमार्फत पूर्वाधार लगानीमा जोड दिइएको बताए। ‘कोरोना सुरु हुनुअघिसम्म सिमेन्टलगायत उद्योगमा बैंकले राम्रै कर्जा लगानी गरेका थिए,’ उनले भने, ‘तर कोरोना महामारीपछि लगानीमा केही समस्या देखिएको छ।’
प्रकाशित: १५ पुस २०७७ ००:५० बुधबार