अर्थ

सौराहाका पर्यटन व्यवसायी निम्तो बाँड्दै पूर्वतिर

धरानमा पत्रकार सम्मेलन गर्दै चितवन सौरहाका पर्यटन व्यवसायी। तस्बिर: रोहित/नागरिक

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले चितवन सौराहाका व्यवसायी देश दौडाहामा निस्केका छन्। चितवनका पर्यटकीय गन्तव्यको प्रचारसँगै आन्तरिक पर्यटकलाई घुम्न आउने निम्तो बाँड्दै उनीहरू प्रदेश १ आइपुगेका हुन्।  क्षेत्रीय होटल संघ चितवनको नेतृत्वमा आएका व्यवसायीले शुक्रबार धरान र विराटनगरमा कार्यक्रम गर्दै सौराहा घुम्न आह्वान गरेका छन्। 

कोरोना महामारी र लकडाउनले थलिएको पर्यटनलाई माथि उठाउन आन्तरिक पर्यटकलाई निमन्त्रणा गर्दै पूर्व आएको संघका अध्यक्ष दिपक भट्टराईले बताए। उनले भने, ‘लकडाउनले पर्यटन क्षेत्र थला पर्‍यो, अब उठाउनुपर्छ, त्यसका लागि सबै ठाउँमा पुगेर आह्वान गर्नुपर्छ भनेर यो अभियान सुरु गरेका हौं ।’

सौराहा घुम्न आउँदा होटल र रेस्टुरेन्टमा २० देखि ४० प्रतिशतसम्म छुट दिने जनाएको छ। अन्य पर्यटकीय गतिविधिमा पनि छुट दिइने संघका अध्यक्ष भट्टराईले बताए। यो अफर कोभिड–१९ को असर अवधिभर रहने पनि उनले बताए। उनका अनुसार सौराहाका होटल गएको असोजदेखि सञ्चालनमा आएको छ। स्वास्थ्य प्रोटोकोल कायम गर्दै होटल चलेको र अब पूर्णरूपमा सुरक्षित छ भन्ने आत्मविश्वास भएकाले आन्तरिक पर्यटकलाई निमन्त्रणा गर्दै देश दौडाहा अभियान सुरु गरेको उनले बताए। ‘असोजदेखि होटल चलायौं, अब भने सौराहा पूर्णरूपमा सुरक्षित छ भन्ने भएकाले ढुक्क भएर घुम्न आउन सक्नुहुन्छ,’ उनले भने ।

संघले शुक्रबार नै विराटनगरमा चितवनका पर्यटकीय गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन गरेको छ। विगतमा भारतीय पर्यटक लक्षित गरेर भारतको विभिन्न सहरमा मात्र संघले यस्तो कार्यक्रम गर्ने गरेको थियो।  

आन्तरिक पर्यटकलाई लक्षित गरेर संघले पहिलो पटक अभियान सुरु गरेको निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए। सौराहमा विगतमा ७० प्रतिशत बाह्य पर्यटक आउने गरेका थिए भने ३० प्रतिशतमात्र आन्तरिक पर्यटक हुन्थे। असोजदेखि होटल सञ्चालन आएयता दैनिक एक हजारको संख्यामा आन्तरिक पर्यटक सौराहा घुम्न आइरहेको पनि उनले बताए।  

पछिल्लो समय सौराहामा पारिवारिक घुमघाम गर्न आन्तरिक पर्यटक आउन थालेको व्यवसायीको भनाइ छ। लामो समय लकडाउनले घरमै थुनिएकाहरू सपरिवार घुम्न आइरहेको कोषाध्यक्ष माधव दवाडीले जानकारी दिए।  

‘आठ–नौ महिना लकडाउनले घरमै बस्नु परेकाले पनि अहिले परिवारसहित घुम्न आउने क्रम बढेको छ,’ उनले भने। उनका अनुसार कर्पोरेट हाउस, एनजिओ, आइएनजिओका कार्यक्रम, सेमिनार पनि स्वास्थ्य प्रोटोकल पालना गर्दै आयोजना हुन थालेका छन्। त्यसैले पनि सौराहाका पर्यटन व्यवसायीले राहत पाउन थालेको व्यवसायीको भनाइ छ ।

कोरोना महामारीले पर्यटन गतिविधि ठप्प हुँदा सौराहाका पर्यटन व्यवसायीले मात्र दैनिक ५० लाख नोक्सानी खेप्नु परेको संघले जनाएको छ। चितवन जिल्लाभरका व्यवसायीको नोक्सानी दैनिक ८० लाख हुने कोषाध्यक्ष दवाडीले बताए। अहिले बिस्तारै पर्यटनमा सुधार हुने क्रममा भएपनि क्षति निरन्तर नै भइरहेको उनले बताए। ‘अहिले केही सुधार हुन थालेको छ, तर अझै पनि ४०–४५ लाख दैनिक क्षति छ,’ कोषाध्यक्ष दवाडीले भने।

प्रकाशित: १२ पुस २०७७ ०३:०० आइतबार