कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले चितवनको सौराहाका व्यवसायीहरु देश दौडाहामा निस्केका छन्।चितवनका पर्यटकीय गन्तव्यहरुको प्रचार तथा आन्तरिक पर्यटकहरुलाई घुम्न आउने निम्तो बाँड्दै उनीहरु प्रदेश नं १ आइपुगेका छन्।
क्षेत्रीय होटल संघ चितवनको नेतृत्वमा आएका व्यवसायीहरुले शुक्रबार धरान र विराटनगरमा कार्यक्रम गर्दै सौराहा घुम्न आह्वान गरेका छन्। कोरोना महामारी र लकडाउनले थलिएको पर्यटनलाई उठाउनको लागि आन्तरिक पर्यटकहरुलाई निमन्त्रणा गर्दै पुर्व आएको संघका अध्यक्ष दिपक भट्टराईले बताए। उनले भने, ‘लकडाउनले पर्यटन क्षेत्र थला पर्यो, अब उठाउनुपर्छ, त्यसको लागि सबै ठाउँमा पुगेर आह्वान गर्नुपर्छ भनेर यो अभियान सुरु गरेका हौं।’
संघले सौराहा घुम्न आउदा होटल र रेष्टुरेष्टहरुलाई २० देखि ४० प्रतिशतसम्म छुट दिने जनाएको छ। अन्य पर्यटकीय गतिविधिहरुमा पनि छुट दिने संघका अध्यक्ष भट्टराईले बताए। यो अफर कोभिडको अवसर अवधिभर रहने पनि उनले बताए। उनका अनुसार सौराहाका होटलहरु गएको असोजदेखि सञ्चालनमा आएको छ। स्वास्थ्य प्रोटोकोल कायम गर्दै होटलहरु चलेको र अब पुर्णरुपमा सुरक्षित छ भन्ने आत्मविश्वास भएकोले आन्तरिक पर्यटकहरुलाई निमन्त्रणा गर्दै देश दौडाहामा अभियान सुरु गरेको उनले बताए। ‘असोजदेखि होटलहरु चलायौं, अब भने सौराहा पुर्णरुपमा सुरक्षित छ भन्ने भएकोले ढुक्क भएर घुम्न आउन सक्नुहुन्छ,’धरानमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।
संघले शुक्रबार नै विराटनगरमा चितवनका पर्यटकीय गतिविधिहरु समेटिएको वृत्तचित्र प्रर्दशन गरेको छ। विगतमा भारतीय पर्यटकहरुलाई लक्षित गरेर भारतको विभिन्न सहरहरुमा मात्र संघले यस्तो कार्यक्रम गरेको थियो। आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर संघले पहिलो पटक अभियान गरेको निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए। सौराहमा विगतमा ७० प्रतिशत वाह्य पर्यटकहरु आउने गरेका थिए भने ३० प्रतिशत मात्र आन्तरिक पर्यटकहरु हुन्थे। असोजदेखि होटलहरु सञ्चालन आएयता दैनिक एक हजारको संख्यामा आन्तरिक पर्यटकहरु सौराहा घुम्न आइरहेको पनि उनले बताए।
पछिल्लो समय सौराहामा पारीवारिक घुमघाम गर्न आन्तरिक पर्यटकहरु आउन थालेको व्यवसायीहरुको भनाई छ। लामो समय लकडाउनले घरमै थुनिएकाहरु सपरिवार घुम्न आइरहेको कोषाध्यक्ष माधव दवाडीले जानकारी दिए। ‘८,९ महिना लकडाउनले घरमै बस्नु परेकोले पनि अहिले परिवारसहित घुम्न आउने क्रम बढेको छ,’उनले भने। उनका अनुसार कर्पोरेट हाउस, एनजिओ, आइएनजिओहरुको कार्यक्रम, सेमिनारहरु पनि स्वास्थ्य प्रोटोकल पालना गर्दै आयोजना हुन थालेको छ। त्यसैले पनि सौराहाका पर्यटन व्यवसायीहरुले राहत पाउन थालेको व्यवसायीहरुको भनाई छ।
कोरोना महामारीले पर्यटन गतिविधि ठप्प हुँदा सौराहाका पर्यटन व्यवसायीहरुले मात्र दैनिक ५० लाख नोक्सानी खेप्नु परेको संघले जनाएको छ। चितवन जिल्लाभरिका व्यवसायीहरुको नोक्सानी दैनिक ८० लाख हुने कोषाध्यक्ष दवाडीले बताए। अहिले विस्तारै पर्यटनमा सुधार हुने क्रममा भएपनि क्षति निरन्तर नै भइरहेको उनले बताए। ‘अहिले केही सुधार हुन थालेको छ, तर अझै पनि ४०, ४५ लाख दैनिक क्षति छ,’कोषाध्यक्ष दवाडीले भने।
प्रकाशित: १० पुस २०७७ १३:३१ शुक्रबार