जुम्लाका दुर्गम क्षेत्रका किसान राडीपाखी बुन्न हौसिएका छन्। पछिल्लो समयमा लोप हुँदै जान थालेको भेडापालनलाई संरक्षण गर्न र भेडाको ऊनको आकर्षक वस्तु बुनेर आयआर्जन गर्न उनीहरु हौसिएका हुन्। यहाँका अधिकांस गाउँमा भेडा तथा बाख्रा पालन हुन्छ। पछिल्लो समयमा खरायो पालन पनि भइरहेका छन्। ऊन खेर गइरहेको छ। सीप नहुँदा परम्परागत राडीपाखी बाहेक अन्य बस्तु उत्पादन हुन सकेको छैन।
अनुकुलन कोषको आर्थिक सहयोगमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्वखाद्य कार्यक्रमको साझेदारीमा पेस नेपाल जुम्लाद्वारा सञ्चालित क्याप्स कर्णालीले एक महिनाको राडिपाखी बुनाई तथा सीप सुधार तालिम दिएपछि दुर्गमका किसान ऊनका विभिन्न वस्तु निर्माण गरेर बजारमा लैजाने तिर आकर्षित भएका हुन्। उनीहरुले गलवन्दी, गलैँजा, राडी, पाखी, कोटे कपडा सबै बुन्न सिकेका हुन्।
यो अवधिमा भेडा लगायतको उनबाट राडिपाखी लगायतका सामग्री बुन्न दक्ष भयौँ। तिला ६ का बीरबहादुर रावतले भने,‘हामीले पहिले नै सीप सिकेका थियौँ। तर अहिले आधुनिक प्रविधिको प्रयोग गरेर राडीपाखी बुन्न सक्ने भयौ। गाउँमा जाने बित्तिकै व्यवसायीक रुपमा लागेर गाउँका किसानलाई पनि सीप सिकाउनेछौँ। यो दुर्गमका किसानका लागि निकै लाभदायक विषय हो।’
ऊनको कम्मल बुन्छन्। राडिपाखी बुनेर भेडाको उनको सदुपयोग गर्छन्। खसीबाख्राको बर्खल (उन) बाट लिउँ, फेरे(ऊनबाट बनेको कार्पेट) बनाउँछन्। ओड्ने ओछ्याउने कपडाको लागि यहाँका किसानलाई अहिले पनि समस्या पर्दैन्। स्थानीय साधनस्रोतबाट ओढ्ने ओछ्याउने जुटाउँछन्। तर अहिले राडीपाखीका अलवा अन्य बजारसम्म पनि सहजै रुपमा किनबेच भइराख्ने वस्तु उत्पादन गर्न सिकेकोमा उनीहरु खुसी छन्।
यो पटक राडिपाखीका अलवा गलैँचा, टोपी, गलबन्दी बुन्न सिक्ने अवसर मिल्यो। उनले भने,‘पहिले गाउँमा झन्झटिलो रुपमा राडिपाखी बुन्ने गथ्र्यौँ। अहिले आधुनिक हिसावले छिटो छरितो रुपमा ऊनबाट बनाउन सकिने सबै सामग्री बुन्न सिक्यौँ। गाउँमा विभिन्न प्रकारका वस्तु बुनेर आयस्रोत बढाउन सक्ने गरि सक्षम भइसकेका छौँ। अब ऊनबाट उत्पादित सामग्री बेचेर भएपनि आयआर्जनका क्रियाकलापमा सहभागी बन्न सक्ने हैसियत बनाइसकेका छौं।’
स्थानीय भेडाको ऊनबाट आकर्षक वस्तु बनाएर बेच्न सकिने उनी बताउँछन्। जुम्लाको सबैभन्दा दुर्गम तिला गाउँपालिका र तातोपानी गाउँपालिकाका किसानलाई राडिपाखी बुनाई सीप सिकाइएको हो।
विश्व खाद्य कार्यक्रमका कृष्णबहादुर शाही एक महिनामा किसानले राम्रो तरिकाले बुनाइको काम सिकेको बताए। उनले भने,‘स्थानीय भेडाको ऊनबाट विभिन्न सामग्री बन्न थाल्यो भने यहाँका किसान भेडापालनमा आकर्षित हुनेछ। भेडापालनले यहाँका जलवायुमा अनुकुलन ल्याउनेछ।’ ऊनले किसानको आयस्रोत पनि बन्ने र भेडापालन पनि फस्टाउने हिसावले सीप सिकाउन थालेको प्रतिक्रिया दिए। अब सिकेको सीप गाउँमा गएर कार्यन्वयन गर्नुहोला। तपाईले उत्पादन गरेको वस्तु बजारसम्म पुगेको सुन्न चाहान्छौँ। उनले भने,‘सीप अरुलाई पनि हस्तान्तरण गर्नुहोला। आफू पनि व्यवहारमा कार्यन्वयन गरेर उदाहरणीय बन्नुहोला।’
अहिले राडिपाखीको बजार मूल्य न्युनतम ४ हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँसम्म छ। जुम्ला आउने अधिकांस आन्तरिक पर्यटकले राडिपाखी लैजान्छन्। अब गलैँचा, गलबन्दी, टोपी बुन्न थालेपछि झनै ऊनबाट उत्पादित वस्तुको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ।
एक महिने व्यवसायिक रुपमा राडिपाखी बुन्न सिक्यौँ। सीप सिकेर आत्मनिर्भर बन्ने बाटोमा अग्रसर हुनेछौँ। पहिले गाउँघरमा पुरानै अनुसार राडिपाखी बुन्यौँ। आधुनिक तरिकाबाट छिटो र छरितो हिसावमा उत्पादन गर्न सक्छौँ। सहजै रुपमा बजारसम्म लैजान सक्ने भएका छौँ।
उद्योग तथा उपभोक्ता हीत संरक्षण कार्यालय जुम्लाका प्रमुख पदमप्रसाद उपाध्यायले दुर्गम क्षेत्रका किसानलाई दिइएको यो सीपले निकै फाइदा पुर्याउने बताए। उनले भने,‘हरेक ब्यक्तिको आफ्नो जीविकोपार्जनको लागि कुनै न कुनै सीप अनिवार्य छ। यो सीप दुर्गमका किसानमैत्री छ। दुर्गमका किसानले भेडापालन गर्छन्। प्रशस्त ऊन उत्पादन हुन्छ। भेडाको ऊनको मात्र किसानले सदुपयोग गरेको खण्डमा आयस्रोतका लागि किसानले चिन्ता गर्नुपर्दैन। अब किसान व्यवसायीक बन्नुपर्छ।’
ऊनले उद्योग तथा उपभोक्ता हीत संरक्षण कार्यालय पनि किसानसंग हातेमालो गर्न तयार भएको बताए। तपाईहरु इमान्दार पूर्वक सिकेको सीप प्रयोगमा ल्याउनुस्। हामी सीप सिकाउनको लागि तयार छौँ। उनले भने,‘हरेक किसान व्यवसायिक बन्न जरुरी छ। व्यवसायिकताले मात्र यहाँको स्थानीय उत्पादनको संरक्षण तथा प्रवद्र्धन गर्छ।’ ऊनले उत्पादनशिल कार्यमा लगानी गर्ने संस्थासंग समेत साझेदारीमा काम गर्न तयार रहेको बताए।
व्यवसायिक रुपमा अघि बढ्नको लागि उद्योग दर्ताको काम समेत सजिलै रुपमा गर्न सकिने भन्दै उद्योग नै स्थापना गरेर काम गर्न अझ प्रभावकारी हुने सुझाव दिए।
आयस्तर बढाउन सीपको अधिकतम प्रयोग गर्ने, गाउँमा उपलब्ध हुने सामान सबै आफै जुटाउने किसानले प्रतिबद्धता जाहेर गरेका छन्। अहिले क्याप्स कर्णाली परियोजनाले पनि तिला, तातोपानी र हिमा गाउँपालिकामा काम गरिरहेको छ।
पेस नेपालका अध्यक्ष किशोर न्यौपानले सिकेको सिपको भरपुर प्रयोग गर्न आग्रह गरे। अहिले बुनाइमा पनि गुणस्तरता आएको छ। गाउँमा गुणस्तरीय सामाग्रीको उत्पादन भएको खण्डमा उत्पादित सामाग्रीको बजार खासै अभाव नहुने उनी बताउँछन्।
लोप हुन लागेको राडीपाखले प्राथमिकता पाउनेछ। उनले भने,‘जेसुकै पेशा व्यवसाय गरेपनि घुमिफिरी जलवायु अनुकुलन गर्ने हो। यो कार्यमा सबैको साथ पाउने विश्वास राखेका छौँ। एक महिने तालिममा किसानलाई दैनिक बस्न खानदेखि हरेक दिनको ज्याला समेत व्यवस्था गरिएको थियो। सबै सहभागीलाई प्रमाण पत्र समेत प्रदान गरिएको पेस नेपालका कार्यक्रम संयोजक संखुप्रसाद जैसीले जानकारी दिए।
प्रकाशित: ८ पुस २०७७ १२:१४ बुधबार