अर्थ

एभरेष्टका पौने सात सय ग्यास सिलिन्डर नष्ट

एभरेष्ट ग्यास उद्योगले हाइट्रोलिक टेष्ट फेल भएका पुराना सिलिन्डर नष्ट गर्दै। तस्बिरः नागरिक

ग्यास उद्योगीहरुले पूराना सिलिन्डर प्रयोग गरेको आरोप खेपिरहेका बेला एभरेष्ट ग्यासले पौन सात सय पूराना सिलिन्डर नष्ट गरेको छ। धेरै पुराना र हाइड्रोलिक टेष्ट फेल भएका मापदण्ड विपरितका  ६ सय ७५ थान ग्यास सिलिन्डर नष्ट गरेको एभरेष्ट ग्यासले जनाएको छ।

एभरेष्टले किर्तीपुर चाल्नाखेलमा रहेको ग्यास उद्योग परिसरमा नेपाल आयल निगम, उपभोक्ता अधिकारकर्मी, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागका अधिकारीको  रोबहरमा नष्ट गरेको हो।

म्याद पुगेका ग्यास सिलिन्डर नष्ट नगरे दुर्घटनाको जोखिम भएकाले हाइड्रोलिक टेष्टमा फेल भएका सिलिन्डर नष्ट गरेको एभरेष्ट ग्यास उद्योग ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए। ‘धेरै पुराना सिलिन्डर छनोट गरेर राखेका थियौं,’ घिमिरले भने, ‘उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर नष्ट ग¥यौं।’

घिमिरेले आफ्ना अन्य ग्यासमा पनि मापदण्ड विपरितका सिलिन्डर नष्ट गर्दै आएको बताए। एभरेष्ट ग्रुप अन्तर्गत सात वटा ग्यास उद्योग छन्। अन्य उद्योगमा पनि करिब साढे २१ सय सिलिन्डर नष्ट  गर्ने तयारीमा रहेको घिमिरेले बताए। ‘हाम्रा सबै ग्यास उद्योगमा उच्च सुरक्षा मापदण्ड अपनाएका छौं,’ घिमिरेले भने, ‘हाइड्रोलिक टेष्ट फेल भएका सबै सिलिन्डर नष्ट गर्छौं।’ घिमिरेले सञ्चालन गरेका त्रिशूल ग्यासको ३ सय ६०, सुगमको ४ सय ५, प्रिमा ग्यासको ६ सय ९० थान सिलिन्डर नष्ट गर्ने तयारीमा रहेको जानकारी दिए।

ग्यास सिलिन्डर बनेको १० वर्षपछि पहिलो पटक, त्यसपछि प्रत्येक पाँच–पाँच वर्ष र त्यसपछि ३–३ वर्षमा हाईड्रोलिक टेष्ट गर्नुपर्ने प्रावधान छ। नयाँ सिलिन्डर पनि बजारमा पठाउँदा  कुच्चिए, रिङ फुटे, ग्यास लिक भए नष्ट गर्नुपर्छ।

मुलुकमा ५८ ग्यास उद्योग रहेका छन्। अधिकांश ग्यास उद्योगले धेरै पूराना सिलिन्डर प्रयोग गर्दै आएका छन्। यसले उपभोक्तामा जोखिम बढेको छ। विभिन्न समयमा सिलिन्डरकै कारण दुर्घटना भएर मानवीय क्षती भएको छ। ग्यासको गुणस्तरको मापदण्ड तोकिएको छ।  

प्रकाशित: ४ पुस २०७७ १२:४२ शनिबार