अर्थ

लगानी बोर्डमा चार ठूला परियोजनाको डिपिआर

पूर्वाधार परियोजनाका विकासकर्ताले लगानी बोर्डमा मंसिर महिनाभरिमा चारवटा ठूला परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिपिआर) बुझाएका छन्। फ्ल्यास फ्रेट लस्जिटिक एन्ड इन्टरनेसनल कार्गाे टर्मिनल एन्ड इन्फ्रास्ट्रक्चर प्राइभेट लिमिटेडले वीरगन्ज र भैरहवामा निर्माण हुने प्राइभेट फ्रेट टर्मिनल एन्ड बल्क ह्यान्डलिङ फेसिलिटिज परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गरेको छ।  

सो परियोजना निर्माणको लागि लगानी बोर्ड र विकासकर्ता कम्पनीबीच २०७६ मंसिर १५ मा समझदारीपत्रमा हस्ताक्षर भएको छ। सिजी लजिस्टिङ प्रालि र सर्राफ ग्रुपले विराटनगरमा निर्माण हुने मल्टिमोडल लजिस्टिक पार्क परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको छ। त्यसैगरी, दमक क्लिन इन्डस्ट्रियल पार्कले चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क परियोजनाको विस्तृत परियोजना प्रतिवेदन लगानी बोर्डलाई मंसिर २९ गते पेस गरेको छ। लगानी बोर्डको ३९औं बैठकले सो परियोजनाको निर्माणको लागि ५८.६१ करोड अमेरिकी डलर बराबरको लगानी स्वीकृत गरेको छ।  

मुक्तिनाथ दर्शन प्रालिले बिरेठाँटी मुक्तिनाथ केबलकारको डिपिआर गत मंसिर १४ गते पेस गरेको छ। सो केबलबार ८०.१६ किलोमिटर लामो प्रस्तावित केबलकार बिरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोबाङ, टुकुचे मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्मको हुनेछ। लगानी बोर्ड कार्यालयको समन्वयमा बोर्ड कार्यालय, नेपाल विद्युत् प्राधिकरण, होङ्सी शिवम् सिमेन्ट परियोजनाका पदाधिकारीबीच उक्त परियोजनाको लागि आवश्यक विद्युतीय प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधानको लागि मंगलबार छलफल भएको थियो।  

विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी जेठभित्र उक्त परियोजनाको लागि प्रसारण लाइन निर्माण गरी विद्युत् आपूर्तिको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले ठूला परियोजनाले रोजगारी लगायत देशको समग्र आर्थिक विकासमा उलेख्य योगदान पुर्‍याउने दाबी गरे। ‘यो परियोजना कार्यान्वयनमा आवश्यक सहजीकरणका लागि सहयोग गर्दै आइरहेका छौं,’ उनले भने। लगानी बोर्डका सहसचिव धमेन्द्रकुमार मिश्रले परियोजनालाई समयमै सम्पन्न हुने गरी व्यवस्थाको सुनिश्चितताको लागि कार्यालयले सहयोग गर्नेछ।

प्रकाशित: १ पुस २०७७ ०४:०१ बुधबार