अर्थ

संकटका बेला पनि आँटिला व्यवसायी

होटल क्षेत्रमा चर्चित सांग्रिला ग्रुपले लेखनाथस्थित बेगनास तालनजिकै सुविधासम्पन्न रिसोर्ट बनाइरहेको छ। उच्च घरानियाँ र खर्चालु पाहुना लक्षित गरेर सांग्रिला ग्रुपले अहिले धमाधम रिसोर्ट निर्माण गरिरहेको छ। आगामी जनवरीदेखि सञ्चालनको लक्ष्य भए पनि कोरोना भाइरस संक्रमणले ढिलाइ हुँदा सञ्चालनको तिथि झन्डै एक वर्ष पछाडि धकेलिएको सांग्रिलाले बताएको छ।

सांग्रिलाले निर्माण गरेको यो रिसोर्टलाई ‘लस्ट होराइजन रिसोर्ट’ नाम दिइएको छ। ४५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको रिसोर्टमा ३६ डिलक्स र दुई सुइट गरी ३८ कोठा हुनेछन्। तीबाहेक स्विमिङ पुल, स्पा, मसाज, रेस्टुरेन्टलगायत पूर्वाधार पनि बन्नेछन्। रिसोर्ट निर्माणमा १ अर्ब ५० करोड रूपैयाँभन्दा बढी लागत पर्ने अनुमान सांग्रिलाको छ।

पोखराको लेकसाइड र आसपासका क्षेत्रमा करिब ३० वटा होटल निर्माणाधीन अवस्थामा छन्।  अहिले बनिरहेका होटल ३० कोठा हाराहारीका मध्यम आकारका हुन्।

सांग्रिलाका जनसम्पर्क अधिकृत अर्जुन मैनालीका अनुसार २१ महिनाअघि नै रिसोर्टको भौतिक पूर्वाधार बनाउन थालिएको थियो। तर, बीचमा कोरोना संक्रमणले काममा अवरोध आउँदा केही समय ढिलाइ हुन गएको हो। ‘आगामी जनवरीमै रिसोर्ट सञ्चालनको लक्ष्य थियो। तर, कोरोना संक्रमणले गर्दा केही समय ढिलाइ भएको छ,’ मैनालीले भने, ‘कतिपय निर्माण सामग्री बाहिरबाट आयात गर्नुपर्दा ढिलाइ भएको हो। ती सामग्री आयात गर्न कोरोना नै बाधक बन्यो। स्वदेशीबाहेक विदेशी सामग्री पनि आवश्यक पर्दा ढिलाइ भएको हो।’ उनका अनुसार कोरोनाले गर्दा कामदार अभाव नभए पनि निर्माण सामग्री ल्याउन नपाउँदा केही समय ढिलाइ हुन गयो। ‘कोरोनाको चपेटामा परेको पर्यटन क्षेत्र उकासिन पनि समय लाग्छ। त्यो बेलासम्म सांग्रिलाका पूर्वाधार तयार हुनेछन,’ उनले भने, ‘विश्वव्यापी रूपमा पर्यटन क्षेत्र यो बेला सुस्ताएको छ। सुस्ताएको पर्यटन क्षेत्र उकासिन अझै केही समय पक्का लाग्नेछ। त्यो बेलासम्म सांग्रिलाका पूर्वाधार बनिसक्नेछन्।’ मैनालीका अनुसार खर्चालु पाहुनालाई यो रिसोर्टले लक्षित गरेको छ।

‘सबैखाले सुविधा पाहुनाले पाउनेछन्। त्यसै अनुसार खर्च गर्न पनि पाहुना तयार हुनुपर्नेछ,’ उनले भने, ‘सांग्रिलाको यो पूर्वाधारले महँगा पाहुना खोज्नेछ। महँगा पाहुना पोखरा भिœयाउन सके त्यसको लाभ अरू व्यवसायीले पनि पाउनेछन्।’ कोरोनाले पर्यटन क्षेत्र यो बेला सुस्ताएको भए पनि अबका केही समयमा पर्यटन क्षेत्र पुनः पहिलेकै अवस्थामा फर्किने भएकाले त्यही आँकलन अनुसार अहिले लगानी गरिरहेको मैनालीले बताए। ‘तत्कालका लागि पर्यटन क्षेत्र कमजोर बनेको हो। तर अबका केही समयपछि पर्यटन क्षेत्रले पुनः व्यावसायिकता पाउनेमा हामी सबै आशावादी छौं,’ उनले भने, ‘अहिले बाहिरबाट हेर्दा निराशापन देखिए पनि यो भित्र आशावादी हुने पर्याप्त ठाउँ छ।’

पोखरा लेकसाइडमा चल्तीकै अवस्थामा थियो बाराही होटल। तर कोरोना भाइरस संक्रमण सुरु भएर पर्यटन क्षेत्र शून्यमा झरेको मौका पारेर सञ्चालक विप्लव पौडेलले होटलका केही पूर्वाधार ‘रिनोभेसन’ गर्न थालेका छन्। संक्रमण कम हुँदाका दिन पाहुना आउन थाल्ने भएकाले त्यो बेलासम्म पूर्वाधार तयार गरिसक्ने बाराहीको लक्ष्य छ। किचनसहितको पूर्वाधारलाई बाराहीले रिनोभेट गरिरहेको उनले बताए। ‘अरू बेला पाहुना हुँदा त यी पूर्वाधार चलाउनै मिल्दैन। हामीलाई पूर्वाधार मर्मतसम्भार गर्नका लागि पर्याप्त समय मिलेको छ,’ पौडेलले भने।

सञ्चालक पौडेल भन्छन्, ‘झन्डै १० करोड रूपैयाँ खर्च गरेर होटललाई रिनोभेसन गरिरहेको छु। कोरोनाको यो समय सधैंका लागि रहने होइन। केही महिना ढिलाचाँडो मात्र हो,’ पौडेलले भने, ‘कोरोनाको अप्ठेरो कम हुनासाथ पाहुना आउन थाल्नेछन्। त्यो बेलाको तयारीमा अहिले नै हामी जुटेका छौँ।’ अहिले बनेका पूर्वाधार लामो समयका लागि हुने भएकाले अहिले नै पर्यटक छैनन् भनेर अत्तालिन नहुने उनले बताए।

‘पाहुना भएको बेलामा पूर्वाधार रिनोभेसन गर्न मिल्ने अवस्था थिएन। कोरोनाले बाराहीलाई रिनोभेसनको समय दिलायो,’ पौडेलले भने, ‘हामी आशावादी छौँ। पक्कै पनि पाहुना आउनेछन्, त्यो बेलाका लागि हाम्रो तयारी हो। अहिले नै तनाव लिएर आत्तिनु पर्ने अवस्था होइन। सधैंका लागि यो अप्ठेरो पक्कै पनि रहँदैन।’

कोरोना महामारीले पर्यटन क्षेत्र शून्यजस्तै छ। अघिल्लो पुस महिनादेखि पर्यटन क्षेत्रमा कोरोना कहर सुरु भएको थियो। तर, चैतपछि पर्यटन क्षेत्र शून्यमै झरेको थियो। कोरोनाको संक्रमणको त्रासले लकडाउन गरिएपछि पर्यटकको आउजाउ रोकिन थालेको थियो। त्यो आउजाउ अझै सहज भइसकेको छैन। फाट्टफुट्ट आन्तरिक पाहुनाले हिँडडुल सुरु गरेको भए पनि धेरैतिरका पर्यटकीय गन्तव्यमा अझै ताला लागेको छ। त्यो ताला कहिले खुल्ने भन्ने पनि निश्चित छैन।

कोरोनाको कहर बाँकी रहिरहे पनि पर्यटन व्यवसायी भने अझै निराश बनिसकेका छैनन्। तत्कालका लागि व्यवसाय ओरालो लागेको भए पनि अबका केही समयपछि कोरोना कहर कम हुने र त्यो बेला पाहुना आउने हुँदा अहिले निराश हुन जरुरी नरहेको व्यवसायीले बताएका छन्। ‘तत्कालका लागि व्यावसायी नोक्सानमा छन्। तर, सधैं यो अवस्था रहन्न, कोरोना कहर कम हुनासाथ पक्कै पाहुना आउन थाल्नेछन्,’ व्यवसायीले भनेका छन्।

कोरोनाले निम्त्याएको अहिलेको अप्ठेरो केही समयका लागि हो भन्ने व्यवसायीले बुझेका छन्। त्यसैले त व्यवसायी धैर्य गरेर पर्यटक आउने दिनको पर्खाइमा बसिरहेका छन्। अहिलेको अप्ठेरो छोटो समयका लागि हो भनेर नै कतिपय पर्यटन क्षेत्रमै व्यवसायी लगानी गर्न तम्तयार पनि भएका छन्। कोरोना कहर सुरु हुनअघि गर्न थालिएको लगानीलाई अहिलेका फुर्सदको समयमा पूर्णता दिन थालेका छन्। पर्यटन क्षेत्रमै भविश्य देखेर लगानी गर्न हौसिएको व्यवसायी बताउँछन्। ‘सधैं डराएर बसेर मात्र हुँदैन। पर्यटन क्षेत्रमा अहिले अप्ठेरो आइपरेको हो। यो अप्ठेरो पार लगाउने पनि हामीले नै हो,’ बाराहीका सञ्चालक पौडेल भन्छन्, ‘यो चुनौतीलाई अवसरमा बदल्न सक्नुपर्छ।’

पर्यटन क्षेत्रमा लामो अनुभव बटुलेका विश्वराज पौडेलले हालै मात्र ५० कोठा क्षमताको होटल बनाउनका लागि शिलान्यास गरेका छन्। उनले होटलको नाम पनि ‘टेम्पल बुटिक होटल’ जुराइसकेका छन्। पर्यटनमा अनुभव बटुलेका उनले अहिले नै लगानी गर्न उपयुक्त समय देखेकाले होटल क्षेत्रमा पूर्वाधार तयार पार्न लागिपरेको बताए। ‘मुलुकको आर्थिक मेरुदण्डको सूचक पर्यटन पनि हो। कोरोनाले पर्यटनमा पाहुनाको आउजाउ रोकिए पनि अबका केही वर्षपछि पक्कै नेपालमा पाहुना आउँछन्,’ पौडेल भन्छन्, ‘अहिले कोरोनाले सबैतिर डरत्रास छाएको छ। अरू व्यवसायी लगानी गर्न डराएका छन्। तर हामीले भने पर्यटनमै अवसर देखेर लगानीका लागि हौसिएका हौं। हाम्रा लागि कोरोनाले लगानीको अवसर जुटाइदिएको छ।’

कोरोनाले सबैतिर शून्यता छाए पनि यो बेला पर्यटनमा लगानी गर्ने गतिलो अवसर भएको उनको बुझाइ छ। ‘यो बेला लगानीको समय हो। बैंकसँग रकम पर्याप्त छ। अबका २ वर्षमा पक्कै पहिलेको अवस्थामा पर्यटन क्षेत्र फर्कनेछ। त्यो बेलासम्म पूर्वाधार तयार पार्न सकियो भने व्यवसाय उकासिन्छ,’ पौडेलले भने, ‘पर्यटन सहज होला र होटल बनाउन थालौंला भन्यौँ भने हामी अझ दुई वर्ष पछाडि पर्नेछौँ।’ कोरोनाले लगानी रोकिँदा बैंक तथा वित्तीय संस्थाले अहिले केही सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएका छन्। पर्यटन क्षेत्रको लगानीमा बैंकको सस्तो ब्याजको अवसर पनि अहिले नै जुरेको उनले बताए।‘ बैंकको ब्याजदर कम भएको बेला परेकाले अहिले लगानी गर्ने अवसर हो। अबका दुई वर्षमा पूर्वाधार निर्माण सक्ने लक्ष्य छ,’ उनले भने।

पोखराको पर्यटनमा पहुँच बढ्दै जान थालेकाले पनि लगानी गर्न आपूm हौसिएको उनको भनाइ छ। अबका केही समयमा पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेकाले पनि आउजाउमा पहुँच पुग्ने उनले बताए। त्यसबाहेक राजमार्ग सुधारका काम पनि थालनी हुँदा पाहुनाको पोखरासम्म पहुँच बढ्न जाने भएकाले पर्यटनमा अवसर रहेको उनको बुझाइ छ। ‘साँच्चै भन्ने हो भने अबका दुई वर्षपछि पोखरामा पाहुनाको आगमनमा व्यापक सुधार हुनेछ,’ उनले भने, ‘कोरोनाले अहिले शून्यमा झारेको व्यवसाय उकासिनेमा कुनै द्विविधा छैन। हिजो लगानी गर्न नपाएको बेलामा अहिले गर्न सकिने अवस्था छ।’

व्यवसायीहरू अहिलेको अप्ठेरोमा पर्यटन क्षेत्रमा लगानी गर्न आँट गर्ने अरू लगानीकर्तालाई आँटिला व्यवसायी भन्छन्। आँट हुने व्यक्तिले मात्र अहिलेको अप्ठेरोमा पनि लगानी गर्न सक्ने उनीहरूको भनाइ छ। पाहुना नआएर शून्यको अवस्थामा झरेको पर्यटन क्षेत्रलाई उकास्नका लागि आँट र धैर्य गर्नुपर्ने होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली बताउँछन्। ‘यो बेलामा पनि नडराई लगानी गर्न खोज्नु ठुलो आँट हो। पर्यटन क्षेत्रमा निराश हुनुपर्ने पनि छैन,’ पराजुली भन्छन्, ‘तत्कालका लागि पर्यटन क्षेत्रमा अप्ठेरो रहेको कसैले लुकाएर लुक्दैन। तर, सधैं यस्तो हुँदैन। यसअघिका अप्ठेरा पनि व्यवसायीले धैर्यपूर्वक पार लगाएकाले अहिलेको चुनौतीलाई पनि पक्कै पार लगाउनेछन्।’

उनका अनुभवमा पर्यटन क्षेत्रमा पूर्वाधार नभई पनि हुँदैन। अहिलेका लागि पूर्वाधार बढी भएको देखिएको पनि हो। पाहुनाविहीन अवस्थामा बस्नुपर्दा व्यवसायीले अहिलेको पूर्वाधारलाई ठूलो आकारमा देखेको पनि हुनसक्ने उनले बताए। तर पाहुना आउन थाल्दाको दिन अहिलेको पूर्वाधारले अपुग हुने निश्चित रहेको पराजुलीको भनाइ छ। ‘अझै धेरै लगानी र ठूला पूर्वाधार भित्रिन जरुरी छ। ठूला आकारका पूर्वाधार बनाउँदा त्यहीअनुसार पाहुनाको आगमन बढ्नेछ,’ पराजुली भन्छन्, ‘यो बेला आम्दानी छैन भनेर बस्ने अनि पाहुना आउन थालेपनि पूर्वाधार थप्न थाल्दा ढिला हुनेछ। लगानीलाई पूर्णता दिने यो नै गतिलो अवसर हो।’

पोखरामा अहिले पनि धेरै संख्यामा होटल निर्माण भइरहेका छन्। कतिपय ठुला आकारका होटलले भने आन्तरिक मर्मतसम्भार गरिरहेका छन्। कोरोना महामारी सुरु हुनुअघि निर्माण थालिएका केही होटलले बीचमा लकडाउनले गर्दा काम अघि बढाउन रोकेका पनि थिए। तर ती होटलले अहिले पूर्णताको बाटो समातेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुचालन बताउँछन्। तुलाचनका अनुसार यो बेला पनि पोखराको लेकसाइड र आसपासका क्षेत्रमा करिब ३० वटा होटल निर्माणाधीन अवस्थामा छन्। ती अधिकांश होटल लकडाउन सुरु हुनुअघि निर्माण थालिएका थिए। लकडाउनले केही समय निर्माण रोकेका व्यवसायीले अहिले फेरि संरचना निर्माणलाई सुचारु गर्न थालेका छन्।

‘लकडाउन सुरु हुनुअघि ठुलै संख्यामा होटलले निर्माण थालनी सुरु गरेका थिए। तीमध्ये केही होटलको काम अहिले पनि रोकिएको छ। तर, निर्माण थालिएका अधिकांश होटलले गति लिइसकेका छन्,’ अध्यक्ष तुलाचन भन्छन्, ‘कोरोनालाई दोष दिएर सधैं सुस्ताएर पनि भएन। अहिलेका अप्ठेरोलाई पार लगाउने भनेको यो चुनौतीसँग लडेरै हो।’ लकडाउन सुरु हुनुअघि थालिएका होटल निर्माण अहिले पूर्णताको बाटोमा रहेको उनको भनाइ छ। अध्यक्ष तुलाचनका अनुसार अहिले बनिरहेका ती होटल ३० कोठा हाराहारीका मध्यम आकारका हुन्। ती होटलमा पनि करोडौं रूपैयाँ लगानी भएको उनले बताए। ‘राम्रो समयसम्मका लागि पर्खिनुपर्ने अवस्था आएको पक्का हो,’ उनले भने, ‘नयाँ होटललाई तत्काल सञ्चालन गर्दा केही चुनौती छ। तर त्यो चुनौती चिर्न पनि तयार हुनुपर्छ र त्यसका लागि व्यवसायी तयार पनि छन्।’

अहिलेको अप्ठेरोमा पुराना होटललाई नै संघर्ष गर्नुपर्ने अवस्था छ। तर, अब सञ्चालनमा आउने होटलले झनै संघर्ष गर्नुपर्ने पक्का छ। तापनि व्यवसायमा टिकाउ हुन मेहनत भने गर्नैपर्ने उनले बताए। ‘कोरोना कहिले सकिएला र काम गरौंला भनेर कुरेर बसेर भएन। जसरी पनि पौडी खेल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘एक तहको संरचना तयार भएको अवस्थामा रोकिएका थिए। ढिला गर्दा पनि लगानीको भार थपिन्छ। जति छिटो पूर्णता पाउँछन्, उत्ति नै छिटो सञ्चालन गरेर बजारमा उपस्थिति देखाउन सकिन्छ।’ कोरोना यसै दिन सकिन्छ भन्ने छैन। धेरैले यो समयलाई अवसरको रूपमा पनि लिएका छन्। अहिलेको फुर्सदिलो समयलाई उपयोग गर्दा व्यवसायीले फाइदा लिन सक्ने तुलाचनको भनाइ छ।

प्रकाशित: १ पुस २०७७ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App