अर्थ

कागजपत्र पुगेका नौ हजारले भुक्तानी पाएनन्

मंसिर १८ मा अर्थमन्त्री विष्णु पौडेलले कागजपत्र पुगेकालाई तीन दिनभित्र कोरोना बिमाबापतको रकम भुक्तानी गर्न निर्देशन दिए । तर महिनाैंअघि कागजपत्र पु-याएका नौ हजारले अझै भुक्तानी पाएका छैनन् ।  

दिनहुँजसो दाबी गर्ने क्रम बढे पनि भुक्तानीको दर न्यून छ । जसले गर्दा बिमाप्रति नै नकारात्मक असर पर्ने सम्भावना देखिएको भन्दै आलोचना भइरहेको छ । बिमा समितिका अनुसार हालसम्म करिब १७ लाख ११ हजारले कोरोना बिमा गरेका छन् । कोरोना बिमा गरेकामध्ये १७ हजार दुई सय ३५ ले भुक्तानीका लागि आवश्यक कागजात पूरा गरेको समितिले जनाएको छ । अहिलेसम्म आठ हजार एक सय ४५ ले मात्र बिमाबापतको रकम पाएका छन् । उनीहरूले करिब ८५ करोड रूपैयाँ प्राप्त गरेको हुन् ।  

‘कागजपत्र पूरा गरेकामध्ये आठ हजार एक सय ४५ ले दाबी भुक्तानी प्राप्त गरेका छन्,’ समितिका सूचना अधिकारी निर्मल अधिकारीले भने, ‘बाँकीको पनि भुक्तानी प्रक्रिया सुरु भइसकेको छ ।’  

दाबी भुक्तानी पाउन नसकेकाहरूले भने कम्पनी र समितिको मिलेमतोमा सर्वसाधारणलाई विभिन्न बहानामा अल्झाउने काम भइरहेको गुनासो गरेका छन् । ‘बिमा कम्पनीले मागेका सबै कागजात एक महिनाअघि बुझाइसकेकी हुँ,’ कोरोना बिमा गरेकी राधिका भण्डारीले भनिन्, ‘भुक्तानीका लागि कम्पनीमा पुग्दा सधैं काम भइरहेको छ भन्ने जवाफ दिन्छन् ।’ उनले चार महिनाअघि सानिमा जनरल इन्स्योरेन्समा एक लाख रूपैयाँको कोरोना बिमा गराएकी थिइन् । आउँदो चैत महिनासम्म लागू हुने गरी एक लाख रूपैयाँको बिमा गर्दा एकै परिवारका दुईभन्दा बढी भए प्रतिव्यक्ति ६ सय र एकल बिमा गर्दा बिमा कम्पनीहरूले एक हजार रूपैयाँ शुल्क लिने गर्छन् । 

कोरोना बिमा गरेकामध्ये १७ हजार दुई सय ३५ ले भुक्तानीका लागि आवश्यक कागजात पूरा गरेको समितिले जनाएको छ । 

सुरुमा थोरै माग दाबी पर्ने अनुमानका साथ धमाधम कोरोना बिमा गरेका कम्पनीहरूले दाबी बढ्न थालेपछि नयाँ बिमामा कडाइ गर्नुको साथै भुक्तानीमा समेत आलटाल गरिरहेको आरोप लाग्दै आएको छ । कोरोना बिमा भुक्तानी कार्यविधिमा कागजपत्र पेस गरेको सात दिनभित्र दाबी भुक्तानी गरिसक्नुपर्ने उल्लेख छ । सो अनुसार नभएपछि अर्थमन्त्री पौडेलले सुरुमा कागजपत्र पूरा भएको सात दिनभित्र भुक्तानी गर्न निर्देशन दिएका थिए । त्यसमा पनि कम्पनीहरूले आलटाल गरेपछि तीन दिनभित्र भुक्तानी गर्न निर्देशन दिए ।  

अर्थमन्त्रीले दोस्रोपटक निर्देशन दिएको पनि आइतबार १० दिन पूरा भएको छ । भुक्तानीमा ढिलाइ भएको गुनासो बढेपछि अर्थमन्त्रीले बिमक संघ, समितिका पदाधिकारीलाई बोलाएर निर्देशन दिएका थिए । समितिले झुक्याएर कसैले पनि भुक्तानी लिन नसकोस् भनेर प्रक्रियामा केही ढिलाइ भएको बताएको छ । ‘गलत काम गर्नेलाई रोक्न भुक्तानीमा ढिलाइ भइरहेको हो,’ अधिकारीले भने, ‘कसैको रकम रोक्नलाई होइन ।’ उनले प्रक्रिया पूरा गरेका सबैले केही दिनभित्रै भुक्तानी पाउने दाबी गरे ।  

३९ हजारको दाबी  
समितिले १७ हजार दुई सय ३५ दाबीको कागजपत्र पूरा भए पनि विभिन्न कम्पनीमा करिब ३९ हजारले भुक्तानीका लागि दाबी गरेको बिमक संघले जनाएको छ । उनीहरूलाई करिब तीन अर्ब रूपैयाँ भुक्तानी गर्नुपर्ने एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जनाए । १९ निर्जीवन बिमा कम्पनीहरूले अहिलेसम्म कोरोना बिमाबापत ९८ करोड ७५ लाख रूपैयाँ संकलन गरेका छन् ।  

कोरोना बिमाको भुक्तानीमा एक अर्ब रूपैयाँसम्म बिमा कम्पनीहरू बेहोर्ने सहमति छ । त्योभन्दा बढी दुई अर्ब रूपैयाँसम्मको रकम नेपाल पुनर्बिमा कम्पनीले बेहोर्नेछ । दुई अर्ब रूपैयाँदेखि साढे दुई अर्ब रूपैयाँसम्मको रकम बिमा कम्पनीहरूको महाविपत्ति कोषबाट बेहोर्ने योजना छ ।  

त्यस्तै, साढे दुईदेखि साढे ती अर्ब रूपैयाँसम्म भुक्तानी गर्नुपर्दा समितिले बेहोर्नेछ । साढे तीन अर्ब रूपैयाँभन्दा बढी भुक्तानी गर्नुपरेमा सरकारले बेहोर्ने भुक्तानी मापदण्डमा उल्लेख छ ।

प्रकाशित: २९ मंसिर २०७७ ०४:४७ सोमबार

कोरोना बिमा