म्याग्दीको रघुगंगा गाउँपालिका–८, मा ३५.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको आइतबार शिलान्यास गरिएको छ । टुन्डी पावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बन्दीघाँटीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलन्यास गरे । रगुगंगा नदीको किनारामा गाउँपालिका अध्यक्ष भण्डारीले भूमि पूजा र शिलन्यास लगत्तै बाँधस्थलको काम सुरू गरिएको हो । जलविद्युतको सिलन्यास गदैं गाउँपालिका अध्यक्ष भण्डारीले समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्ने बताए । ‘जलविद्युतले समृद्ध रघुगंगा बनाउने अभियानमा कोसेढुंगा सावित हुनेछ,‘ समुदायको आधारभुत आवश्यकता पुरा गर्ने तर्फ आयोजनाले ध्यान दिनुपर्छ’ अध्यक्ष भण्डारीले भने । उनले आयोजना प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य सहित समुदायको हितमा हुने विभिन्न क्षेत्रमा समेत आयोजनाबाट सहयोगको प्रतिबद्धता ब्यक्त भएको बताए।
गाउँपालिका भित्र जलविद्युतसँगै पर्यटन, कृषि र पशुपालनको क्षेत्रमा समेत प्रचुर सम्भावना भएकाले लगानीको वातावरण बनाउने अध्यक्ष भण्डारीले बताए । तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको कुल लागत साढे ३ अर्व रहेको टुन्डी पावर कम्पनीका ईन्जिनियर प्रकाश तिमिल्सिनाले बताए । आयोजनास्थलमा हेभी इक्यूमेन्ट सहित जनशक्ती कार्यक्षेत्रमा परिचालन भइसकेको र पहुँचमार्गको कामले तिब्रता पाएको उनले बताए । वडा नं ४ दग्नाम ७ चिमखोला र ८ कुईनेमंगलेसम्म करिब २१ किलोमिटर सडक स्तरोन्नतीमा करिब ८ किलोमिटर कडा चट्टानमा नयाँ ट्याक खोल्ने कार्य भइरहेको छ । आयोजनाको बाँध र पावर हाउस रामेछाप शेर्पा कन्स्ट्रक्सन र टेलन निर्माणको साउथ एसियन इन्फ्रास्ट्रक्चरले जिम्मा पाएको छ । टुन्डी पावर कम्पनीले विद्युत लगायत ठूला आयोजनामा अनुभवी कन्टाक्टरलाई जिम्मा दिएकाले समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ । वडा नं ८ कुईनेमंगलेको बन्दीघाँटी बाँधस्थल हुदै करिब ५ किलोमिटर लामो टनेलबाट पानीलाई १५० मिटरको उचाइबाट चिमखोलाको मालाङमा बन्ने पावरहाउसमा खसालेर विद्युत उत्पादन गरिन्छ ।
आयोजनास्थलको ४ स्थानबाट टनेल खन्ने काम सुरु गरिने र खरीबोटम भन्ने स्थानमा ३ सय मिटर लामो अडिट टनेल रहने छ । जलविद्युत आयोजनको सिलन्यास कार्यक्रममा वडा नं ७ चिमखोलाका अध्यक्ष दुर्गा पुन र वडा नं ८ का गमान छन्त्याल लगायत स्थानीय सरोकारवालाको समेत उपस्थिती रहेको थियो । आयोजनाको विद्युत् अन्नपूर्ण गाउँपालिका–४ दानामा निर्माणाधीन २२० केभी विद्युत् सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । यसैबीच टुन्डी पावरले चिमखोलाको बगरखोला र छिमेकी दग्नामको फेदीमा अर्को ४८.५ मेगावाट क्षमताको जलविद्युतको काम समेत सुरु गर्ने तयारी गरेको छ । विश्वकै सातौं अग्लो धौलागिरी हिमालको फेदीबाट बग्ने रगुगंगा नदी सहित सहायक ठाडा खोलाको पानीबाट विभिन्न कम्पनीले समेत जलविद्युत निर्माणको तयारी गरेका छन् ।
प्रकाशित: २९ मंसिर २०७७ ०४:१० सोमबार