अर्थ

सर्तकता अपनाउँदै पोखरा घुम्न आउनु

पोखरेली व्यवसायीको आन्तरिक पाहुनालाई निम्तो

पोखरा घुमघामका आन्तरिक पाहुना । फाइल तस्बिरः उमेश पुन÷नागरिक

द्वन्द्वका कारण पर्यटन व्यवसाय थिलोथिलो भएपछि सन् २००१ मा सुरु भएको थियो, ‘जाँउ है पोखरा’ अभियान । द्वन्द्वले गर्दा प्रयाप्त विदेशी पाहुना पोखरा नआएपछि आन्तरिक पाहुना तान्ने कसरत गर्दै पोखरेली व्यवसायीले त्यो बेला यो अभियान थालेका थिए । त्यही अभियानले निरन्तरता पाउँदै जाँदा पोखरामा आन्तरिक पाहुनाको आगमन बढ्न थालेको थियो ।  

व्यवसायीका अनुसार सन् २००१ अघि पोखरेली व्यवसायीले आन्तरिक पाहुनालाई उत्तिसारो ‘भ्यालू’ दिँदैनथे । व्यवसायीले चाँसो नदिँदा कामकाजले वा घुमघामकै लागि आएका पाहुना पनि लेकसाइड बाहिरकै होटलमा बस्थे । सकेसम्म आन्तरिक पाहुनालाई कोठामा राख्नै नपरे हुन्थ्यो भन्ने सोचाई त्यो बेला व्यवसायीमा थियो । लेकसाइडले आन्तरिक पाहुनालाई कोठा दिँदैनन, दिइहाले पनि महंगो रकम असुल्छन भन्ने त्यतिखेरका पाहुना सोच्थे ।

तर, द्वन्द्वका कारण विदेशी पाहुना आउने अवस्था नदेखेपछि व्यवसायीको नजर बल्ल आन्तरिक पाहुनातर्फ मोडिएको थियो । व्यवसायीले आन्तरिक पाहुनाप्रति नजर मात्र लगाएनन् की उच्च प्राथमिकतामा पार्दै पोखरा घुमघाममा पनि बोलाउन थाले । 

विदेशी पाहुनाको मात्र भर पर्दा व्यवसाय थेग्न सक्ने अवस्था नदेखेपछि बल्ल आन्तरिक पाहुनालाई आतिथ्यता दिलाउन व्यवसायी तयार भएका थिए । त्यही आतिथ्यता बढ्दै जाँदा पोखराले आन्तरिक पाहुना भिœयाउन सकेको थियो । त्यसको फलस्वरुप पोखराको पर्यटन क्षेत्र आन्तरिक पाहुनामा भर पर्दै गईरहेको व्यवसायी बताउँछन् ।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन,‘ सन् २००१ मा द्वन्द्वकालले चरम रुप लिदा विदेशी पाहुना आउने अवस्था भएन । तर, व्यवसाय धान्न हामी बाध्य थियौ । त्यही भएर त्यो बेला आन्तरिक पाहुनाको खोजी सुरु भएको हो । अहिले त्यही आन्तरिक पाहुनाकै भरमा हामी चलायमान हुन सकेका छौ ।’ उनका अनुसार विदेशी पाहुनाको विकल्पमा व्यवसाय धान्ने माध्यमको रुपमा यो अभियानमार्फत त्यो बेला आन्तरिक पाहुनाको खोजी गर्न थालिएको थियो ।  

‘विदेशीको आगमन न्यून हुँदा बल्ल आन्तरिक पाहुनाको महत्व बुझियो, अनि बल्ल खोज्न थालिएको हो । साच्चै भन्ने हो भने त्यो बेला व्यवसायीको प्राथमिकतामा आन्तरिक पाहुना थिएनन,’ पराजुलीले भने, ‘जसोतसो पोखरा आएका पाहुना पनि लेकसाइडमा बस्न खोज्दैनथे । हामीलाई कोठा दिँदैनन भन्ने सोचाई ती पाहनामा हुन्थ्यो ।’ तर, अहिले व्यवसायी पनि फेरिए, व्यवसायीको नजर पनि फेरियो, आन्तरिक पाहुना पाउने अवस्थामा व्यवसायी ढुक्क हुने गरेको उनले बताए ।  

‘यो अभियान सुरु गर्दा पोखरामा आन्तरिक पाहुनाको अकुपेन्सी मुस्किलले ५ प्रतिशत थियो । ‘अहिले आन्तरिक पाहुनासँगै हामी ढुक्क छौ । पाएसम्म आन्तरिक पाहुना राख्छौ,’ पराजुली भन्छन, ‘कोरोना भाइरस संक्रमण फैलिनुअघि पोखरामा आन्तरिक पाहुनाको वर्षभरीको औसत अकुपेन्सी ४० प्रतिशत पुगिसकेको थियो । आन्तरिक पाहुनाको त्यो अकुपेन्सीले व्यवसायीलाई निकै नै राहत दिएको थियो ।’

पोखरेली पर्यटन व्यवसायीले आन्तरिक पाहुनाको भरमा मात्र व्यवसाय कसरी चलायमान बनाउन सकिन्छ भन्ने अनुभव पटकपटक बटुलेका छन् । पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष समेत रहेका पराजुली भन्छन, ‘द्वन्द्वकालको चरम संकटबाट पनि आन्तरिक पाहुनाले नै हामीलाई पार लगाएका हुन् । भूकम्प र नाकाबन्दीको चरम संकटमा पनि हामीलाई आन्तरिक पाहुनाले नै पार लगाएका हुन् । यो पटक कोरोना भाइरस महामारीले निम्त्याएको संकटमा पनि आन्तरिक पाहुनाले नै पार लगाउने अवस्था आएको छ ।’  

‘द्वन्द्व, भूकम्प, नाकाबन्दीबाट पार लगाउने पाहुना आन्तरिक थिए । कोरोनाको यो शुन्यताबाट पार लगाउने आधार पनि आन्तरिक पाहुनामै देखेका छौ,’ उनले भने, ‘पछिल्लो केहीदिन पोखरामा आन्तरिक पाहुनाको चहलपहल बढ्दा पनि पार पाउने संकेत देखिएको छ ।’ अप्ठेरो अवस्थामा जहिले पनि आन्तरिक पाहुनाले साथ दिएका छन । वास्तवमा भन्ने हो भने नेपाली पर्यटन बजार आन्तरिक पाहुनाबाटै जोगिएको हो,’ उनले भने । उनका अनुुसार कोरोनाको यो अप्ठेरोमा पनि आन्तरिक पाहुनाको मुभमेन्ट हुँदा व्यवसायीले सास फेर्न सकेका छन् । ‘कम्तिमा चलायमान बनाउन सकिएको छ,’ उनले भने, ‘व्यवसायी मात्र चलायमान बनेका छैनौ की, कर्मचारी पनि चलायमान बन्न पाएका छन ।’  

आन्तरिक पाहुनाको त्यही साथ खोज्दै अहिलेको अप्ठेरोमा व्यवसायीले यो अभियान पुन चलाएका छन् । अभियान प्रचार गर्दै पूर्वी सहर वीरगञ्ज, जनकपुर र बिराटनगर पुगेर आन्तरिक पाहुनालाई ‘सर्तकता अपनाउँदै पोखरा घुम्न आउन’ पोखरेली व्यवसायीले निम्ता पनि दिएका छन् । ‘सतर्कता अपनाउँदै घुमघाम गर्न सकिन्छ भन्ने सन्देश हामीले दिनका लागि पूर्वी सहरमा प्रवद्र्धनको कार्यक्रम चलाएका थियौ,’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन भन्छन्, ‘कोरोना महामारीबीच पनि आन्तरिक पाहुनाबाट हामीले आशावादी देखिएका छौ ।’

तुलाचनका अनुसार प्रवद्र्धन गर्न पुगेका ती सहरमा पनि स्थानीय गतिविधि बढेका छन् । ‘सतर्क भएर घुम्न सकिन्छ भन्ने सन्देश पुगेको छ,’ उनले भने, ‘गण्डकी प्रदेशका सबै ठाउँ खुला छन् । यो बेला पोखरा सहितका पर्यटकीय सहरमा घुमघाम, बसोबास र खानपिनमा समस्या छैन ।’ उनका अनुसार सतर्कता पूर्वक घुम्न जाँदा सहज रहेको भन्ने व्यवासायीले पनि बुझेको उनले बताए । यो मौसममा पोखरा घुम्नका लागि उपयुक्त समय भएकोले सतर्क भएर घुम्न सकिने भन्ने सन्देश फैलाउन सकिएको उनले बताए । ‘अरुबेला भन्दा केही सहुलियतमा घुमघाम गर्न सकिन्छ । व्यवासायीले सस्तो प्याकेज उपलब्ध गराएका छौ,’ उनले भने, ‘यो मौका हो । यो बेला सामुहिक भन्दा पारिवारिक घुमघाम उपयुक्त छ भन्ने सन्देश फैलाएका छौ ।’

प्रकाशित: २८ मंसिर २०७७ ११:०७ आइतबार

पोखरा