अर्थ

बिजयगरमा लुम्बिनी प्रदेश कै पहिलो भैँसी विकास श्रोत केन्द्र

कपिलवस्तुको बिजयनगर गाउँपालिकामा ल्म्बिनी प्रदेश कै पहिलो भैँसी विकास श्रोत केन्द्र स्थापना गरिएको छ। गाउँपाललिकाको वडा नंम्बर ५ का २ वटा गाउँहरु नौरगिंया र डालपुरमा केन्द्र संचालनमा ल्याइएको हो। भैसी पालनका लागि नमुना बनेको बिजयनगरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पौडेलले केन्द्रको उद्घाटन गरेकी छन्। श्रोत केन्द्र करिब ३ करोड लागतको रहेको छ। ब्यवसायिक रुपमै भैँसी पालन लागि बढावा दिन प्रदेशले बिजयनगरमा श्रोत केन्द्र स्थापना गरेको मन्त्री पौडेलले बताइन्।

उनले लुम्बिनी प्रदेशले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन्। उनले नागरिकहरुले व्यावसायिक रुपमा कृषि पेशा गरेमा आत्मनिर्भर बन्न धेरै समय नलाग्ने दाबी गरिनर। मन्त्री पौडेलले बिजयनगरवासीले भैँसी पालनबाट राम्रो आम्दानी गर्न सक्ने बताइृन्। किसानले उत्पादन गरेका सामग्रीको मूल्य अहिलेसम्म व्यापारीले तोक्ने गरेकोले अब प्रत्येक तहमा सहकारी स्थापना गरी सहकारी मार्फत किनबेच गर्ने व्यवस्था मिलाउने तयारी प्रदेश सरकारले गरेको उनले बताइन्।

प्रदेश सभा सदस्य बिरेन्द्र कनौडियाले बिजयनगर गाउँपालिकाका नागरिकहरुको लागि अवसर प्राप्त भएको बताए। प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बिजयनगरको डालपुर र नौरङ्गियाका नागरिकहरुले भैँसी पालन गरेर उत्पादन गरेको दूध देशको सबै ठाउँमा पुर्‍याउनुपर्ने बताए। प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले भैँसी विकास स्रोत कार्यक्रमले स्थानीय नागरिकहरुलाई स्वरोजगार बनाउनु पर्ने बताए। सुरुको चरणमा ६० घरपरिवारमा ५ वटा समूह निर्माण गरी ५ सय भैँसी पालनको योजना रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव रेवतीवरण पौडेलले बताए।  

सुरुमा नश्ल सुधार, गोठ सुधार, पशु आहारा लगाएतका काम हुनेछन्। ३ करोड ८ लाख रुपैयाँको लागतको उक्त कार्यक्रममा २० प्रतिशत विजयनगर गाउँपालिका, ३० प्रतिशत स्थानीय नागरिक र ५० प्रतिशत तथा १ करोड ५४ लाख प्रदेश सरकारको लगानी रहने छ। गाउँपालिकाका अध्यक्ष गोपाल थापाले प्रदेशकै उत्कृष्ट कार्यक्रममा बिजयनगर पर्नु खुसीको कुरा रहेको बताए।

प्रकाशित: २५ मंसिर २०७७ ०७:२५ बिहीबार