अर्थ

तमोर जलाशययुक्त परियोजनाः जग्गाको उचाइ यकिन गरिँदै

पाथीभरा याङ्वरक गाउँपालिका वडा न. १ नाङ्खोल्याङ पुगेर जग्गाको उचाइ यकिन गर्ने क्रममा प्राविधिक आधार तयार गर्दै टोली । तस्बिर: नागरिक

तमोर जलाशययुक्त परियोजना कारण ताप्लेजुङमा जग्गाको हकभोग तथा बिक्री वितरण रोकिएका क्षेत्रहरुमा जग्गाको उचाइ यकिन गर्न थालिएको छ।  

लगानी बोर्डले उचाइ यकिन गरी समुद्री सतहबाट छ सय मिटरभन्दा माथिका जग्गाको हकभोग तथा बिक्री वितरण खुल्ला गर्न सकिने पत्र पठाएपछि यसअघि रोक्का भएका वडाहरुको जग्गाको उचाइ यकिन गर्न थालिएको हो। लगानी बोर्डले उचाइ यकिन गरी समुद्री सतहभन्दा छ सय मिटर माथिका जग्गाको हकभोग तथा बिक्री वितरण खुल्ला गर्न सकिने आशयको पत्र फुङ्लिङ नगरपालिका र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाइ पठाएको थियो।  

फुङ्लिङ नगरपालिकाले निर्माण गर्ने फोहोर व्यवस्थापन केन्द्र र जग्गाको हकभोग तथा बिक्री बितरणबाट स्थानीय बासिन्दामा पर्ने समस्या केन्द्रित गरी जिल्ला प्रशासन कार्यालयले लगानी बोर्डको कार्यालयमा जग्गाको उचाइ यकिन गरी प्राप्त प्रतिबेदनका आधारमा जग्गाको हकभोग खुल्ला गर्नुपर्ने कारणसहितको पत्र पठाएको थियो। त्यहिँ पत्रको जवाफ र फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलको बिशेष अगुवाइमा लगानी बोर्डले हकभोग रोकिएका जग्गाको उचाइ यकिन गरी समुद्री सतहबाट छ सय मिटर भन्दा माथिका जग्गाको कारोवार खुल्ला गर्न सकिने परिपत्र गरेपछि जग्गाको उचाइ यकिन गर्न थालिएको हो।  

जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख (मालपोत अधिकृत)लेखा पनेरु महतका अनुुसार जग्गाको उचाइ यकिन गर्ने कार्य २७ मंसिर भित्र पूरा गर्ने लक्ष्य राखिएको छ पनेरुले जनताका गुनासा शीघ्र रुपमा सम्बोधन हुने गरी जग्गाको उचाइ यकिन गर्ने कार्य तीव्र रुपमा अघि बढाइएको जानकारी दिइन्। ‘लगानी बोर्डको पत्र, प्रमुख जिल्ला अधिकारीज्यूको बिशेष निर्देशन र फुङ्लिङ नगरपालिकाको समन्वयमा यसअघि रोकिएका वडाहरुमा जग्गाको उचाइ यकिन गर्ने कार्य सुरु भएको छ’उनले भनिन्। पनेरुले यो कार्य चाँडै पूरा गरी जनताका गुनासालाई समयमै सम्बोधन गर्ने लक्ष्य अनुसार काम भइरहेको समेत जानकारी दिइन्। उचाइ यकिन गरी कारोवार अघि बढाउन सकिने लगानी बोर्डको पत्र प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले मालपोत अधिकृत पनेरुको संयोजकत्वमा जग्गाको उचाइ यकिन गरी शीघ्र प्रतिबेदन पेश गर्नेगरी कार्यदल गठन गरेका थिए।  

कार्यदलमा नापी कार्यालय, प्रशासन कार्यालय, मालपोत कार्यालय र सम्वन्धित पालिकाका प्राविधिक रहने छन्। सम्बन्धित पालिकाका प्रमुख र वडाध्यक्षहरुलाई सहजीकरण तथा सहयोगका लागि आग्रह समेत गरिएको छ। सातसय ६२ मेगावाट क्षमताको बृहत्त तमोर जलाशययुक्त परियोजनाका कारण लगानी बोर्डले गत मंसिर महिनाबाट ताप्लेजुङका फुङ्लिङ नगरपालिका वडा नं ३ र ८, पाथीभरा याङ्वरक गाउँपालिका वडा न. १ नाङ्खोल्याङ र वडा नं २ थेचम्बु तथा आठराइ त्रिबेणी गाउँपालिका वडा नं १ फुलवारी र निघुरादिनका सबै जग्गाको हकभोग तथा बिक्री वितरण रोक्का गरेको थियो। 

यसरी एकमुष्ट र सोलोडोलो रुपमा गरिएको जग्गाको हकभोग तथा बिक्री वितरण माथिको प्रतिवन्धले जनताका आधारभूत आवश्यकता माथि नै समस्या सृजना गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले लगानी बोर्डमा यहाँको अवस्थाका बारेमा जानकारी गराएको थियो। फुङ्लिङ नगरप्रमुख प्याकुरेलले त आफैं लगानी बोर्ड गइ जग्गाको उचाइ यकिन गरी कारोवार गर्न पाउने व्यवस्थाको पत्र साथमै लिएर आएका थिए।

प्रकाशित: २१ मंसिर २०७७ ०५:१६ आइतबार

तमोर जलाशययुक्त परियोजना