अर्थ

सिनेमा, नाटकघर र पार्टी प्यालेस व्यवसाय धरापमा

भीडभाड हुने कफीसप, रेस्टुरेन्ट, बार खुला

सरकारले कोरोना महामारीलाई ध्यानमा राख्दै सिनेमा हल र पार्टी प्यालेस खोल्न बन्देज लगाइरहेका बेला अन्य रेस्टुरेन्ट तथा बार र कफीसपमा भने अत्यासलाग्दो भीड बढेको छ। कोरोना महामारीको बेला उपत्यकाका अधिकांश रेस्टुरेन्ट र कफीसप खुलेसँगै भीडभाड बढेको हो।

स्वास्थ्य सुरक्षा मापदण्डसहित सञ्चालन गर्न पाउने भनिए पनि ती रेस्टुरेन्ट र कफीसपमा त्यसको पालना गरिएको छैन। सावधानी नहुँदा त्यहीँबाट कोरोना संक्रमण फैलिने डर देखिएको छ। ती ठाउँमा भीडभाड रोक्न सरकारले कुनै तयारीसमेत गरेको छैन। साँझपख उपत्यकाभरका कफीसप तथा रेस्टुरेन्टहरू भरिभराउन देखिन्छन्। कोरोना बिर्सिएर भौतिक दुरीबिना युवाहरूको जमात एकठाउँ हुँदा कोरोना फैसन सक्ने व्यवसायीहरू नै बताउँछन्।

‘खाद्यान्न पसलसमेत खोल्न डर छ तर छेवैमा रहेको रेस्टुरेन्ट र कफीसपमा भने अत्यासलाग्दो भीड छ, यस्तो बेलामा बिनासावधानी भीड हुनु राम्रो होइन,’ शंखमुलका खाद्य व्यापारी सुनील मगरले भने।

पछिल्लो समय नयाँ बानेश्वर, पुतलीसडक, सुन्धारा, दरबारमार्ग, नयाँ बसपार्क, कोटेश्वर, शंखमुललगायत क्षेत्रका कफीसप तथा रेस्टुरेन्टमा बढी भीड देखिन्छ। ती ठाउँमा अधिकांश युवायुवतीको उपस्थिति हुन्छ। भित्री गल्लीमा सञ्चालित खाजा तथा मदिरा पसलमा पनि बेलुकीपख उस्तै भीडभाड हुने गरेको छ।

पछिल्लो समय नयाँ बानेश्वर, पुतलीसडक, सुन्धारा, दरबारमार्ग, नयाँ बसपार्क, कोटेश्वर, शंखमुललगायत क्षेत्रका कफीसप तथा रेस्टुरेन्टमा बढी भीड हुने गरेको छ। ती ठाउँमा अधिकतर युवायुवतीको उपस्थिति हुन्छ। भित्री गल्लीमा सञ्चालित खाजा तथा मदिरा पसलमा पनि बेलुकीपख उस्तै भीडभाड हुने गरेको छ।

सरकारले अत्यावश्यक कामबाहेक ठाउँमा भीडभाड नगर्न भने पनि ती ठाउँमा भएको भीडभाड नियन्त्रण गर्न प्रहरी प्रशासनले चासो दिएको छैन। सरकारले सानातिना व्यवसाय तथा रेस्टुरेन्ट खोल्न अनुमति दिएको भन्दै प्रहरीले ती ठाउँको अनुगमन गरेको छैन। प्रहरीको उपस्थिति नहुँदा अचाक्ली भीड बढेको कोटेश्वरका विमल शेर्पाले बताए। उनले भने, ‘कोरोनाको बेला व्यापारलाई मात्रै ध्यान दिएर होटल तथा चिया पसलमा अत्यधिक भीडभाड गराइएको छ, त्यसले कोरोना सार्न सक्ने देखिन्छ, प्रहरीले पनि अनुगमन गरेको छैन।’ सरकारले स्वास्थ्य मापदण्डसहित सानातिना व्यवसाय खुला गराएकाले प्रहरीले सामान्यतया अनुगमन नगरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए। उनले भने, ‘अनावश्यक भीड तथा होहल्ला भयो भने प्रहरी पुगिहाल्छ तर कोरोनाबाट बच्न प्रहरीले मात्रै डर देखाउने होइन, आफू पनि सचेत हन आवश्यक छ।’

व्यवसाय नै चौपट
कोरोना महामारीका कारण पार्टी प्यालेस, सिनेमा हल र नाटकघर पूर्ण बन्द भएपछि ती क्षेत्रका लगानीकर्ताहरू निरास छन्। सरकारले अन्य व्यवसायलाई खुकुलो बनाए पनि सिनेमा र पार्टी प्यालेस कसरी चलाउने भन्नेबारे व्यवसायीलाई सहजीकरण गरिदिन सकेको छैन। जसकारण आफूहरूको व्यवसाय धराशयी मात्रै नभएर ऋणमा डुबेको त्यस क्षेत्रका व्यापारी बताउँछन्। ललितपुरको महालक्ष्मीमा डिलाइट पार्टी प्यालेस सञ्चालन गर्दै आएका चेतनाथ बजगाईले पार्टी प्यालेस सञ्चालन सुरु गरेको एक वर्ष नपुग्दै बन्द हुँदा लगानी डुबेको बताए। उनी भन्छन्, ‘बरु पार्टी प्यालेसलाई खोल्न सके भीड कम हुन सक्थ्यो, हाम्रो व्यवसाय चौपट भयो, भाडा तिर्न नसक्ने अवस्थामा भयौं, भएका सामानसमेत काम नलाग्ने भए।’

उनले बुक गर्नेहरू आए पनि स्थानीय सरकारले बन्द गर्न भनेको सुनाए। व्यवसाय डुब्नै लाग्दा पनि सरकारी निकायले सहजीकरण नगर्दा आफूहरू दोहोरो मारमा परेको बजगाईको भनाइ छ। ‘अब पनि सरकारले पार्टी प्यालेसलाई सहज गर्न सकेन भने यो व्यवसाय पूर्ण धराप हुन्छ, बरु स्वास्थ्य मापदण्ड अपनाउँछौं सरकारले सहजै खोल्न देओस्,’ उनले भने।

त्यस्तै सयौं दर्शकसमक्ष भौतिक रुपमा मञ्चन हुने नाटघघर यतिखेर भूतबगला झै बनेका छन्। नाट्यकला क्षेत्रमा लगानी गर्नेहरू पनि निरास छन्। उनीहरू ८ महिनादेखि ऋण खोजेरै भए पनि भाडा तिरेर मात्रै बस्नुपरेको बताउँछन्। कालोपुलमा सञ्चालित शैली थिएटरका लगानीकर्ता आर्यन न्यौपानले कला क्षेत्रमा कोरोनाले ठूलो असर पारेको बताए। उनी भन्छन्, ‘अरू क्षेत्रमा जस्तै नाट्य क्षेत्रमा पनि कोरोनाले ठूलो धक्का दियो, नाघकघर बिग्रन थाले, मञ्चन गर्न सकिने अवस्था छैन।’ उनले प्रविधिका कारण भौतिक रुपमा उपस्थित नभए पनि नाटक हेर्न सकिने समय आए पनि परम्परागत र आधुनिक नाटकघर व्यवसाय भने धरापमा परेको बताए।

प्रकाशित: १५ मंसिर २०७७ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App